• ११ असोज २०८१, शुक्रबार

‘उद्यमशीलता प्रवर्द्धन गर्न कर्जा सुरक्षण अत्यावश्यक’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था (एसिक) को ३६ औँ सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महìवपूर्ण हुने धारणा राखेका हुन् । 

दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कम १८ प्रतिशतले मात्र बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिने गरेको जानकारी दिनुभयो । 

बैङ्क तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने उनको धारणा थियो । महिलाहरूमा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उहाँको भनाइ छ । समृद्ध राष्ट्र बन्नका लागि महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको पहुँच सहज बनाउनुपर्ने उहाँको सुझाव छ ।

सम्मेलनमा नवप्रवर्तनमा लगानी : कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सत्रका सहभागीले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए । कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुङ्गिन योनले कोडिटले नयाँ सोच र योजना भएका तर वित्तीय रूपमा अप्ठ्यारोमा परेका उद्यमीमा लगानी गरेको बताउनुभयो । मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सिजिसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले मलेसियाका साना तथा मझौला उद्योग (एसएमई) मध्ये एक तिहाइलाई सिजिसीले सहयोग गरिरहेको जानकारी दिनुभयो । खास गरी सुरक्षा, वित्तीय व्यवस्था र आवश्यक अन्य काममा सहयोग गरिरहेको उहाँको भनाइ थियो ।

फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पिजिसी) का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तनसम्बन्धी कानुन र कार्यक्रमहरूले साना उद्योगीको विकासलाई निरन्तरता दिन सहयोग गर्दै आएको जानकारी दिनुभयो । “हामी ग्रामीण विकासको माध्यमबाट देश विकासको प्रयास गरिरहेका छौँ,” उहाँले भन्नुभयो, “कर्जा सुरक्षणका लागि हामीले सहरी क्षेत्रबाहिरका मानिसलाई आवेदन दिन प्रोत्साहित गर्छौं ।”

ताइबानको एसएमई क्रेडिट ग्यारेन्टी फन्ड (टिएसएमइजी) का युसिन कुओले आफूहरूले एसएमईलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्दै आइरहेको बताउनुभयो । सरकार र बैङ्कसँगको सहकार्यमा उद्यमीलाई सहयोग गरिरहेको उहाँको भनाइ थियो । सम्मेलनको दोस्रो सत्रमा नवप्रवर्तन फाइनान्सिङमा एसियाली देशका उत्कृष्ट अभ्यासहरूका विषयमा छलफल भएको थियो । सो सत्रमा क्रेडिट ग्यारेन्टी कर्पोरेसन अफ कम्बोडिया (सिजिसिसी) उपप्रमुख कार्यकारी अधिकृत लिडा नोले साना तथा मझौला उद्योग र अन्य व्यवसायहरूलाई सहयोग गर्ने उद्देश्यले कर्जा र बन्ड ग्यारेन्टीहरू आफ्नो संस्थाले प्रदान गर्दै आएको जानकारी गराउनुभयो । 

जापान फाइनान्स कर्पोरेसन (जेएफसी) का वरिष्ठ अर्थशास्त्री योहेइ यामागुचीले सन् २०२७ सम्ममा नवप्रवर्तनको क्षेत्रमा लगानी बढाएर सात अर्ब अमेरिकी डलरभन्दा बढी पुर्‍याउने उद्देश्यले जापानी सरकारले पाँचबर्से विकास योजना ल्याएको जानकारी गराउनुभयो ।  कार्यक्रममा स्ट्यान्डर्ड चार्टर्ड बैङ्क नेपालका सिइओ अनिर्वाण घोष दस्तीदारले  स्टार्टअपहरू र एमएसएमईहरू बढिरहेको क्षेत्र/स्थानमा क्रेडिट ग्यारेन्टीको काम अझ महìवपूर्ण हुने धारणा राख्नुभयो । नेपालमा २७ प्रतिशत जनसङ्ख्यामा बैङ्कको पहुँच पुग्न बाँकी रहेको उल्लेख गर्दै उहाँले वित्तीय पहुँचलाई समावेशी बनाउन पर्याप्त अवसर रहेको पनि उल्लेख गर्नुभयो । 

भारत हैदरावादस्थितको फिनटेक कम्पनी टी हबका सल्लाहकार सञ्जय ठाकुरले एसियाली क्षेत्रमा कर्जा सुरक्षाले साना तथा मझौला उद्योगलाई विस्तार गर्न सहयोग पुग्ने बताउनुभयो । कर्जा सुरक्षाका योजना वास्तविक समस्यामा केन्द्रित हुनुपर्ने उहाँको सुझाव थियो । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायको उपस्थिति छ । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।