• ११ असोज २०८१, शुक्रबार

स्वचालित मार्गबाट लगानी प्रतिबद्धता बढ्दै

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । पर्यटन र सूचना प्रविधिमूलक क्षेत्रमा अटोमेटिक रुट (स्वचालित) मार्गबाट विदेशी लगानी प्रतिबद्धता धेरै भित्रिएको छ । 

उद्योग विभागका अनुसार गएको भदौमा स्वचालित मार्गबाट ५२ वटा परियोजनामा कुल ८६ करोड २५ लाख ५० हजार रुपियाँ प्रतिबद्धता आएकोमा सबैभन्दा धेरै पर्यटन र सूचना प्रविधिमूलक परियोजना रहेका छन् । विभागका अनुसार भदौमा आठ वटा पर्यटनमूलक परियोजनामा २८ करोड रुपियाँ प्रतिबद्धता आएको छ । यस्तै ३८ वटा सूचना प्रविधिमूलक परियोजनामा २४ करोड ७५ लाख ५० हजार रुपियाँ र सेवामूलक तीन वटा परियोजनामा २४ करोड रुपियाँ स्वचालित मार्गबाट प्रतिबद्धता आएको विभागले जनाएको छ । उत्पादनमूलक दुई वटा परियोजनामा सात करोड ५० लाख र एउटा पूर्वाधारमूलक परियोजनामा २० करोड रुपियाँ प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।  

गत साउनमा स्वचालित मार्र्गबाट ३१ परियोजनाका लागि ५९ करोड ७५ लाख ६० हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो । लगानीकर्तालाई ५० करोडसम्म  विदेशी लगानी स्वचालित मार्गबाट गर्न सक्ने व्यवस्था छ । 

आर्थिक वर्ष २०८०/८१ मा स्वचालित मार्गबाट आठ अर्ब ७१ करोड ३७ लाख रुपियाँ बराबरको प्रतिबद्धता आएको छ । 

विभागका अनुसार नेपालमा वैदेशिक लगानी स्वीकृत गर्ने व्यवस्था भएदेखि हालसम्म छ हजार २६७ परियोजनामार्फत पाँच खर्ब २० अर्ब ४४ करोड ८४ लाख ७७ हजार रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

यसैबिच आव २०८०/८१ मा ६१ अर्ब ९० करोड रुपियाँ वैदेशिक लगानी प्रतिबद्धता आएकोमा आठ अर्ब ४० करोड रुपियाँ भित्रिएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । आव २०७९/८० मा ३८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएकोमा छ अर्ब १७ करोड रुपियाँ भित्रिएको थियो ।