• ११ असोज २०८१, शुक्रबार

नलिञ्चोकबाट २४८ उडान अवतरण

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ६ गते । भक्तपुरको नलिञ्चोक हेलिपोर्टबाट तीन महिनामा २४८ उडान तथा अवतरण भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चाप घटाउने योजनासहित गत असार ८ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको उक्त हेलिपोर्टमा १२४ उडान र त्यति नै दरमा हेलिकोप्टर अवतरण भएका छन् ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भन्नुभयो, “१२ वटा कम्पनीका ३४ हेलिकोप्टरमध्ये नलिञ्चोकबाट हाल १० वटा हेलिकोप्टरले उडान तथा अवरतण गर्दै आएका छन् । हेलिपोर्टबाट उडान अवतरणलाई थप सहज, व्यवस्थित र सुविधायुक्त बनाउनेबारे काम जारी रहेको छ ।”

हेलिपोर्ट सञ्चालनमा आएपछि हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० वटा र बाँकी हेलिकोप्टरले पोखरा, लुक्ला, नेपालगन्जलगायतका स्थानमा रात्रिकालीन बिसान गर्दै आएको उहाँले बताउनुभयो । हेलिपोर्ट सञ्चालनमा आएपछि त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलको हवाई चापमा समेत सहजता थपिएको जानकारी दिँदै उहाँले यसअघि नलिञ्चोकमा १३ वटा पार्किङ स्ट्यान्ड र चार टेक अफ/ल्यान्डिङ प्याडहरू रहेकामा हाल उडान अवतरणलाई थप सहजता पुर्‍याउन दुई वटा टेक अफ/ल्यान्डिङ प्याडमार्फत उडान अवतरण भइरहेको बताउनुभयो ।