• १९ असार २०८१, बुधबार

मतदान केन्द्रको तयारी : प्रशासनद्वारा सेवा प्रवाह बन्द

blog

हेटौँडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविमा रहेको मतदान केन्द्रमा मतदाता परिचयपत्र वितरण गरिँदै । तस्बिर : राममणि दाहाल

मकवानपुर समाचारदाता

हेटौँडा, वैशाख २९ गते । शुक्रबार हुने स्थानीय तह सदस्य निर्वाचनका लागि मकवानपुरका दसवटै पालिकामा मतदान केन्द्रको व्यवस्थापनमा कर्मचारी जुटेका छन् । जिल्लाका १६५ मतदान स्थलमा रहेका ३५६ मतदान केन्द्रमा कर्मचारी पुगेसँगै सर्वदलीय बैठक बसेर मतदानका लागि मतदान केन्द्रको व्यवस्थापन कार्य सुरु गरिएको हो ।

मतदान केन्द्रमा खटिएका कर्मचारीले बुधबार आ–आफ्नो मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरणसँगै मतदान केन्द्रमा डोरी टाँग्नेलगायतका व्यवस्थापन सुरु गरेको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिनुभयो । उहाँले विगतमा मतदाता परिचयपत्र लिन छुटेका र नयाँ मतदाताको परिचयपत्र बिहीबारसमेत मतदान केन्द्रबाट वितरण गर्ने व्यवस्था भएको बताउँदै मतदान केन्द्रमा निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिकालगायतका सामग्री पुगिसकेको बताउनुभयो । 

यसैबीच, हेटौँडा उपमहानगरपालिका–२ को पल्पसा मतदान स्थलको मतदान केन्द्र (क)मा महिला कर्मचारी मात्र रहने भएका छन् । पल्पसा मतदान स्थलको मतदान केन्द्र (क)का मतदान अधिकृत मतिना वैद्यले मतदान केन्द्रको तयारी सुरुसँगै मतदाता परिचयपत्र वितरण भइरहेको जानकारी दिनुभयो । उक्त मतदान केन्द्रमा पाँच जना महिला कर्मचारी खटिएका छन् । पल्पसा मतदान स्थलमा एक हजार ५२२ मतदाता रहेका छन् ।

मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचन आचारसंहिता उल्लङ्घनका ३१ वटा उजुरी परेको बताउँदै तीमध्ये सामाजिक सञ्जालमा शिक्षक, कर्मचारीले मत मागेको, शिक्षक कर्मचारी राजनीतिक दलको प्रचारमा हिँडेको, सार्वजनिक स्थलमा दलको झन्डा राखेको लगायतका उजुरी परेको बताउनुभयो । 

मतदात केन्द्र र वरपरको क्षेत्रमा म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी एक हजार चार सय, नेपाल प्रहरी ९०५, सशस्त्र प्रहरी ३५५ जना र सेना करिब पाँच सयको सङ्ख्यामा निर्वाचन अवधिभर खटाइने भएको छ । मतदान स्थल र मतगणना स्थलको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेना रहने मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो ।मकवानपुरमा यो पटकको स्थानीय तह निर्वाचनमा मतदाता सङ्ख्या तीन लाख ८६ हजार ५८९ जना पुगेको छ ।

मदिराजन्य पदार्थमा रोक 

जिल्ला प्रशासन कार्यालय मकवानपुरले चार दिनका लागि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा प्रवाह बन्द गरेको छ ।यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कार्यालयका कर्मचारी मतदान केन्द्रमा खटिएका कारण मङ्गलबारबाट शुक्रबारसम्म सेवा प्रवाह बन्द गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले सूचना जारी गर्दै शान्ति सुरक्षा, विपत् व्यवस्थापनलगायतका अत्यावश्यकबाहेकका सेवा प्रवाह नहुने जनाउनुभएको छ ।

यस्तै मकवानपुर प्रशासनले मङ्गलबार राति १२ बजेबाट शुक्रबार राति १२ बजेसम्म जिल्लाभर मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रूपमा रोक लगाएको छ । साथै मतगणना हुने स्थलको पाँच मिटर आसपासको क्षेत्रमा मतगणना कार्य सम्पन्न नभएसम्म मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा पूर्ण रूपमा बन्द गरिने भएको छ । यसैगरी मतदानको दिन शुक्रबार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म तोकिएका अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारीसवारीबाहेक सम्पूर्ण निजी तथा सार्वजनिक  सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।