• १३ साउन २०८१, आइतबार

कैलालीमा निर्वाचन तयारी पूरा

blog

मतदान केन्द्रतर्फ खटिँदै कर्मचारी र सुरक्षाकर्मी । तस्बिर : अविनाश चौधरी

धनगढी, वैशाख २९ गते । कैलालीमा स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ । “निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी मङ्गलबार सबै निर्वाचन केन्द्रमा खटिसकेका छन् । निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भइसकेको छ,” निर्वाचन अधिकृत प्रेमराज भट्टले भन्नुभयो ।

कैलालीमा पाँचवटा मतदान केन्द्र थपिएर ६१९ पुगेको छ । सबै मतदान केन्द्रमा मतपत्र र निर्वाचनका लागि आवश्यक सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक, सहयोगी खटिसकेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयअनुसार मतदान अधिकृत ६१९ जना, सहायक मतदान अधिकृत ६१९ जना, सहायक कर्मचारी एक हजार ८५७ जना र कार्यालय सहयोगी ६१९ जना निर्वाचन केन्द्रमा खटेका छन् । एक हजार २३८ जना स्वयंसेवक गरेर जिल्लाभरि जम्मा चार हजार ९५२ कर्मचारी खटिएको जनाइएको छ । 

मतदान केन्द्रमा खटेका कर्मचारीले बुधबार र बिहीबार दुई दिनसम्म मतदाता परिचयपत्र वितरण र मतदान स्थलमा आवश्यक तयारीको काम गर्ने निर्वाचन कार्यालयका प्रमुख भट्टले बताउनुभयो । कैलालीको मतदाता पाँच लाख २५ हजार १२५ पुगेको छ, २०७४ को निर्वाचनमा चार लाख ६० हजार मतदाता रहेका थिए । जिल्लाभरि महिला मतदाता सङ्ख्या दुई लाख ७९ हजार १०, पुरुष मतदाता सङ्ख्या दुई लाख ५६ हजार १०४ र अन्य मतदाता सङ्ख्या ११ रहेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी ९३ हजार १५१ मतदाता रहेका छन् । यस्तै गोदावरी नगरपालिकामा ५५ हजार ४९२, लम्कीचुहा नगरपालिकामा ५३ हजार ९४६, टीकापुर नगरपालिकामा ५२ हजार ८६२, घोडाघोडीमा ५२ हजार ४०, गौरीगङ्गा नगरपालिकामा ४० हजार १८ मतदाता रहेका छन् । 

कैलारी गाउँपालिकामा ३६ हजार ७३५, जानकी गाउँपालिकामा ३५ हजार ४०६, भजनी नगरपालिकामा ३३ हजार ९३१, जोशीपुर गाउँपालिकामा २५ हजार ४४६ मतदाता रहेका छन् । यस्तै बर्दगोरिया गाउँपालिकामा २२ हजार १८१, मोहन्यालमा ११ हजार ९८४ र चुरे गाउँपालिकामा सबैभन्दा कम ११ हजार ९२३ जना मतदाता रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।