• ९ वैशाख २०८३, बुधबार

कर्णाली नदी कटानले बढायो चिन्ता

blog

कर्णाली नदीको कटान अवलोकनमा प्रतिनिधि सभा सदस्यलगायतका जनप्रतिनिधिहरू । तस्बिर : एकिन्द्र तिमिल्सेना

एकिन्द्र तिमिल्सेना

टीकापुर, वैशाख ९ गते । वैशाखको खडेरीमा पनि कर्णाली नदीको कटान जारी छ । टीकापुर नगरपालिका–५, पार्कनजिक र वडा नम्बर ७ को सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा जमिन कटान भइरहेको छ । नदी कटानबाट त्रसित नागरिकहरूले बारम्बार गुनासो गर्न थालेपछि कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य कोमल ज्ञवालीले मङ्गलबार तेस्रो पटक अवलोकन गर्नुभएको छ । ज्ञवालीका साथमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरी र टीकापुर नगरपालिकाका कार्यवाहक प्रमुख रामबहादुर नगार्जी पनि कटान स्थलमा पुग्नुभएको छ । 

अवलोकनमा पुग्नुभएका जनप्रतिनिधिलाई टीकापुर नगरपालिका–७ स्थित सती कर्णाली सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जितराम चौधरीले सरकारसँग बर्सेनि गुहार मागे पनि समस्या समाधान नभएको गुनासो गर्नुभयो । कार्यवाहक नगरप्रमुख रामबहादुर नगार्जीले स्थानीय सरकारको क्षमताले नभ्याउने भएकाले माथिल्लो तहका सरकारलाई गुहार्नु परेको र यस पटक पनि जिल्ला विपत् व्यवस्थापन समितिलाई लिखित रूपमा समयमै पत्राचार गरेको बताउनुभयो । प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीले आफ्नो कार्यकालको तीन वर्षको अवधिमा तीन वटै तहका जनप्रतिनिधि साझा समस्या सम्बोधन गर्न एकै स्थानमा आएको पहिलो पटक भएको बताउँदै कटानको स्थायी समाधानका लागि सङ्घीय सरकारको भरोसा गरेको बताउनुभयो । समयमै रोकथाम नभए टीकापुर पार्कसहित नगरका वडा नम्बर ५, ६, ७, ८ मा यो वर्षा ठुलै जोखिम हुने चौधरीको अनुमान छ । 

प्रतिनिधि सभाका सदस्य कोमल ज्ञवालीले वैशाखको खडेरीमा पनि नदी कटान यहाँको मुख्य समस्या भएकाले समाधानका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजनाका प्राविधिकसहित स्थलगत पुगेको र तत्काल रोकथामका उपाय गर्न पहल थाल्ने बताउनुभयो । निर्माण व्यवसायीले ठेक्का लिएर काम अलपत्र पार्दा सत्ती कर्णाली सामुदायिक वनको करिब ५० हेक्टर बेतबाँसको जङ्गल बगिसकेको छ ।

रानी जमरा कुलरिया सिँचाइ आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर रामकृष्ण घोरासैनीले वडा नम्बर ५ को पार्क नजिक दुई करोडको ठेक्कामा ठुला ढुङ्गा (बिग बोल्डर) खसालेर नदी कटान रोक्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तर सत्ती कर्णाली सामुदायिक वन क्षेत्रमा भने तत्काल कुनै कार्यक्रम नरहेको र आउँदो वर्षका लागि चिसापानी पुलदेखि सत्ती कर्णाली वनसम्म ४० किलोमिटरको डिपिआर गरी सरकारसँग २५ करोड रुपियाँ बजेट माग गरिएको छ ।” 

टीकापुर नगरपालिकाको वडा नं ५, ६, ७, र ८ का बस्तीलाई कर्णाली नदीले बेला बेलामा दुःख दिने गरेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजना अन्तर्गत यस क्षेत्रमा तटबन्धका काम भइरहे पनि ठेकेदारले काम अलपत्र पारेका, तटबन्ध सुरु नभएका र तारजालीमा ढुङ्गा भरेर बनाएका कमजोर तटबन्ध भत्किरहँदा जोखिम यथावत् नै छ । 

तराई पुगेपछि अनियन्त्रित रूपमा बग्ने कर्णाली नदी नियन्त्रणका लागि किनारमा बलियो तटबन्ध र नदीका बिचमा टापु बन्न नदिने कानुनी व्यवस्थाका लागि यहाँका नागरिकले माग गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठकले टापु हटाउने र कर्णालीको केही पानी कोठियाघाटमा फर्काउने निर्णय लिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज भएर कोठियाघाटमा पानी पठाउन र नदीबिचमा बनेका टापुमा हटाउन वन ऐन र निकुञ्ज ऐन संशोधन गर्न आवश्यक रहेको दुवै प्रदेशका मुख्यमन्त्रीस्तरीय बैठकको सहमति छ । ऐनहरू संशोधन गर्ने प्रक्रिया सम्बन्धित विभागमा पुगे पनि समाधान हुने गरी ऐन संशोधन भने हुन सकेका छैनन् ।