• ९ वैशाख २०८३, बुधबार

सीमा नदीको बहाब प्राकृतिक क्षेत्रमै फर्काउन माग

blog

तपोवन तातोपानी संरक्षणका लागि महाकाली नदीकिनारमा निर्माण गरिएको तटबन्ध । तस्बिर : कृष्णबहादुर धामी

खलङ्गा समाचारदाता 

खलङ्गा (दार्चुला), वैशाख ९ गते । दार्चुलाको ऐतिहासिक र प्राकृतिक पहिचानसँग जोडिएको सीमा नदी महाकाली नदीकिनारमा भारतले निर्माण गरिरहेको तटबन्ध निर्माणका कारण नदीको बहाव नेपालतर्फ मोडिएको भन्दै यहाँ चिन्ता व्यक्त गरिएको छ । 

यस क्रममा कूटनीतिक पहलमार्फत समस्याको समाधान गर्न दार्चुलास्थित नागरिक समाजले प्रमुख जिल्ला अधिकारी अनिल पौडेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । दार्चुलाको महाकाली नगरपालिका–१ र दुहुँ गाउँपालिका–३ को सिमानामा रहेको श्रीबगड क्षेत्रको पारिपट्टि भारतले नदीको भित्री भागमा लन्चिङ ब्लक राखेका कारण नदीको बहाव नेपालतर्फ मोडिएको नागरिक समाजले बुझाएको ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

सीमावर्ती क्षेत्रमा भारतले बिनाजानकारी संरचना निर्माण गर्दा पनि नेपालका तर्फबाट प्राविधिक र कूटनीतिक समन्वयको अभाव हुनु र नेपाली भूमि गम्भीर जोखिममा पर्नु रहेको नागरिक समाजको ठहर रहेको अध्यक्ष महेशराज भट्टले बताउनुभयो ।

उहाँले सीमा नदीको बहाव नेपालतर्फ मोडिएर भएको परिवर्तनका कारण उत्पन्न जटिल समस्याप्रति नागरिक समाजको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । 

नदीको बहाव नेपालतर्फ मोडिँदा भविष्यमा नेपाली भूभाग कटान भई ठुलो क्षेत्रफल गुम्ने र अतिक्रमण हुने उच्च जोखिम देखिएको प्रति नागरिक समाजले चिन्ता व्यक्त गरेको छ । 

सोही ठाउँमा रहेको प्राकृतिक तातोपानीको मुहान नदीको बहाव परिवर्तनका कारण नदीमै मिसिएर लोप हुने अवस्थामा पुगेको तथा स्थानीयको सांस्कृतिक तथा धार्मिक आस्थामा गम्भीर चोट पु¥याएको ध्यानाकर्षणपत्रमा भनिएको छ । 

नागरिक समाजले महाकाली नदीको प्राकृतिक बहाव क्षेत्र पुरानै अवस्थामा फर्काउन आवश्यक प्राविधिक र कूटनीतिक पहल गर्न, भारततर्फ जस्तै नेपालतर्फ पनि तत्काल आवश्यक लन्चिङ ब्लकहरू राख्न, संवेदनशील विषयमा समयमै ध्यान दिई हुन सक्ने क्षतिप्रति जिम्मेवार निकाय जवाफदेही हुनुपर्ने माग राखेको अध्यक्ष भट्टले बताउनुभयो । नागरिक समाजले ध्यानाकषर्णपत्रको बोधार्थ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय काठमाडौँलाई समेत पठाएको बताइएको छ । 

तपोवन श्रीबगड तातोपानीको संरक्षण गर्न सङ्घीय सरकारले महाकाली किनारमा पक्की तटबन्ध निर्माण गरेको सिँचाइ तथा नदी व्यवस्थापन आयोजना पाटन, बैतडीका आयोजना प्रमुख कालीबहादुर शाहीले जानकारी दिनुभयो । 

तातोपानी संरक्षण र नजिकैको श्रीबगर बस्ती जोगाउन पक्की तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । २०७० सालमा महाकाली नदीमा आएको बाढीले तातोपानीको मुहान बगाएपछि पक्की तटबन्ध निर्माण गरिएको उहाँले बताउनुभयो । महाकाली नदीको कटान रोक्न नदी किनारको तीन सय मिटर लम्बाइ क्षेत्रमा तटबन्ध निर्माण गरिएको आयोजना प्रमुख शाहीले बताउनुभयो ।