• १५ असार २०८१, शनिबार

मोदीको लुम्बिनी भ्रमण

blog

प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको शुभ–साइतमा नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँको यस भ्रमणले दुई देशबीचको परम्परागत बहुआयामिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै हाम्रो सांस्कृतिक सम्बन्ध र साझा सांस्कृतिक विरासतलाई समेत बलियो बनाउने निश्चित छ । 

भारतका प्रधानमन्त्री मोदी आफ्नो पहिलो कार्यकालमा चार पटक नेपालको भ्रमण गर्नुभएको थियो । सनातन धर्म संस्कृतिमाथि गहिरो आस्था राख्ने मोदीले आफ्नो पहिलो कार्यकालमा पशुपतिनाथ, जनकपुरधाम तथा मुक्तिनाथजस्ता पवित्र धार्मिक मन्दिर एवं देवस्थलको भ्रमण गर्नुले नेपालमा भारतीयसहित अन्य विदेशीलाई समेत नेपाल भ्रमणमा आउन प्रेरित गरेको छ । भगवान् गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति तथा उनले निर्वाण प्राप्ति गरेको तिथि वैशाख पूर्णिमाकै दिन यस वर्ष मोदीले नेपाल भ्रमणमा आउनु संयोग मात्रै होइन यो नेपाल तथा सनातन धर्म संस्कृति एवं भगवान् गौतम बुद्धप्रतिको उनको विशेष निष्ठाभावलाई दर्शाउँछ ।

सन् २०१९ मा भारतका प्रधानमन्त्रीका रूपमा दोस्रो पटक निर्वाचित भएपछि हुन लागेको उहाँको यो पहिलो नेपाल भ्रमण हो । बुद्ध पूर्णिमाको अवसरमा विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने मोदीको योजनाले आगामी दिनमा यसलाई झन् बढी पर्यटकीय एवं आकर्षक स्थल बनाउनमा सहयोगी सावित हुनेछ । मोदीको लुम्बिनी भ्रमणको अवसरमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री मोदी दुवै जना लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुनुहुनेछ ।

लुम्बिनीमा मायादेवी मन्दिरमा दुवै प्रधानमन्त्रीले दीप प्रज्ज्वलन गर्ने कार्यक्रम छ । कोभिड–१९ महामारी मत्थर भएसँगै प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय भ्रमण सुरु गर्नुभएको छ । युरोपको सफल भ्रमण सकिएलगत्तै मोदी नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । अहिले विश्व नेताका रूपमा चर्चित मोदीले सन् २०१४ र सन् २०१८ मा दुई–दुई पटक नेपाल भ्रमणमा आउनुभएको थियो । सन् २०१४ को नेपाल भ्रमणमा नै उहाँले लुम्बिनी भ्रमण गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । 

२५६६औँ बुद्ध जयन्ती पनि यस वर्ष तीन दिनसम्म मनाइने भएको छ । भारतले अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेरेडेसन (आईबीसी) मार्फत जर्मन स्तूप उत्तर बिहार बनाउन लागेको छ । यसलाई एक अर्ब भारतीय रुपियाँमा तीन वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ । बिहारको मोदी र देउवाले संयुक्त रूपमा शिलान्यास गर्ने कार्यक्रम छ । मायादेवी मन्दिर र अखण्ड ज्योति दर्शनपश्चात् मोदी एउटा कार्यक्रमलाई सम्बोधन गर्नेे कार्यक्रम छ । 

भारतका प्रधानमन्त्री मोदीले जगत्जननी जानकीको राजधानी जनकपुर (नेपाल) हुँदै भगवान् रामसमेतको जीवनगाथासँग जोडिएका पवित्र स्थललाई समेट्ने गरी रामायण सर्किटको प्रस्ताव गर्नुभएको छ भने भगवान् बुद्धको जन्मस्थल लुम्बिनी र उनले ज्ञान प्राप्त गरेका बिहारको गया तथा निर्वाण प्राप्त गरेको कुशीनगरलाई समेत समेटेर बुद्धिस्ट सर्किट निर्माण गर्ने प्रस्ताव छ । उहाँको यस भ्रमणले बुद्ध सर्किटको निर्माणकार्यलाई सक्रिय बनाउनेछ । रामायण र बुद्धिस्ट सर्किटको निर्माणले नेपाल र भारतका मात्रै होइन अपितु विश्वभरिकै पर्यटकलाई आकर्षित बनाउनेछ किनभने सनातन धर्म संस्कृतिभित्र रहेको ज्ञान, विज्ञानले व्यापकता लिएको छ । 

मोदीको लुम्बिनी भ्रमण विशुद्ध रूपमा धार्मिक भ्रमण नै हो तर भारतका प्रधानमन्त्रीको नेपाल भ्रमणको कूटनीतिक महत्त्वसमेत रहेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारको पालामा चिसिएको नेपाल–भारत सम्बन्धलाई सामान्य अवस्थामा अथवा पूर्ववत् अवस्थामा फर्काउनु कम चुनौतीपूर्ण कार्य थिएन तर प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार आएसँगै भारतसँगको सम्बन्ध सकारात्मक एवं सौहार्दपूर्ण बन्दै गएको छ । प्रधानमन्त्री देउवाको गत महिना सम्पन्न भारत भ्रमण यसको प्रमाण हो । 

नेपाल र भारतबीच परम्परागत एवं बहुआयामिक सम्बन्ध रहिआएको छ । दुई देशबीचको परस्पर सम्बन्धलाई सुदृढ एवं प्रगाढ बनाउन सामाजिक एवं सांस्कृतिक सम्बन्धको ठूलो योगदान छ । यस अद्वितीय र अकाट्य सम्बन्धलाई प्रगाढ बनाउन दुवै देशका सरकार, बुद्धिजीवी, धर्माचार्य, साहित्यकार, कवि एवं कलाकारले पनि आ–आफ्नोतर्पmबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । संविधानतः दुवै देश धर्मनिरपेक्ष भए पनि यहाँको जीवन पद्धतिमा हिन्दु एवं बुद्ध धर्म, संस्कृतिको गहिरो तथा व्यापक प्रभाव छ । दुई देशबीचको सम्बन्धलाई राजनीति र कूटनीतिको सीमामा मात्रै राख्न सकिँदैन ।

केही वर्षयतादेखि नेपाल र भारतका सांस्कृतिक महत्त्वका तीर्थस्थललाई आकर्षक बनाउन हिन्दु एवं बौद्ध धर्म संस्कृतिसँग जोडिएका महत्त्वपूर्ण तीर्थस्थललाई उच्च महत्त्व दिई आकर्षणको केन्द्र बनाउने प्रयास थालिएका छन् । नेपाल र भारतले संयुक्त रूपमा रामायण तथा बुद्धिस्ट सर्किट निर्माण गरी यसको पर्यटन प्रवद्र्धनमा सहयोग पु-याउने र आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ धार्मिक पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ । 

भारतका प्रधानमन्त्री मोदीले केही वर्षअघि पशुपति–काँशी र जनकपुर–अयोध्या जोड्ने राजमार्ग निर्माणमा भारत सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । गत वर्ष नेपाल र भारतका अधिकारीबीच सम्पन्न एक बैठकले रामायण र बुद्धिस्ट सर्किट निर्माणको विषयमा समेत सहमति जनाउनुलाई ठूलो सांस्कृतिक उपलब्धिका रूपमा लिन सकिन्छ । माता जानकी तथा मर्यादा पुरुषोत्तम श्रीरामको शुभ–विवाहको पावन दिवस विवाह पञ्चमीको अवसरमा अयोध्याबाट जन्तीका रूपमा सहभागी हुन केही वर्षअघि जनकपुरधाम आएका भारतका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुर–अयोध्या तथा काठमाडौँ–बनारसबीच भगिनी सहर निर्माणसम्बन्धी सम्झौताले दुवै देशको पर्यटकीय विकासमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास व्यक्त गर्नुभएको थियो । रामायण तथा बुद्धिस्ट सर्किटको निर्माणमा भारतको केन्द्र सरकार तथा उत्तरप्रदेश सरकारले जोड दिएको छ । जनकपुर र अयोध्याबीचको दूरी घटाउन राम–जानकी राजमार्ग निर्माण हुन लागेको छ । भारत सरकारको सहयोगमा उत्तरप्रदेश सरकारले चार लेनको यो राम–जानकी राजमार्ग निर्माण सुरु गरेको छ । 

प्रस्तावित रामायण सर्किटमा त्रेतायुगमा राम र सीता पुगेका नेपाल, भारत र श्रीलङ्काका धार्मिक स्थललाई एउटै मार्गले जोड्नेछ । त्यसमा नेपालको जनकपुर, भारतको सीतामढी, दरभङ्गा, बक्सर, चित्रकुट, नन्दीग्राम, महेन्द्रगिरि, जगदलपुर, भद्राचलम, टम्पी, नासिक, नागपुर र रामेश्वरम् रहेका छन् । हाल श्रीलङ्काको पर्यटकीय स्थल यसमा नजोडिएको भए पनि निकट भविष्यमै यसलाई पनि रामायण सर्किटमा जोडिनेछ । त्यसैगरी बुद्धिस्ट सर्किटमा नेपालको लुम्बिनी, कपिलवस्तु, देवदह, बोधगया, सारनाथ, कुशीनगर, वैशाली पर्दछ । भगवान् गौतम बुद्धको जन्मस्थल नेपाल तथा ज्ञान प्राप्ति एवं निर्वाण प्राप्ति स्थल भारत रहेकाले बुद्धिस्ट सर्किटको निर्माण भएमा नेपाल र भारत दुवै देशमा पर्यटक आकर्षित हुनेछन् ।

गौतम बुद्धका सम्पूर्ण अवशेष, उनका पदचिह्न, उनका भिक्षुद्वारा निर्मित स्तूप, एलोराजस्ता अवर्णनीय शिल्प यहाँ छन् तर पनि नेपाल र भारतमा बौद्ध धर्म संस्कृतिको जति विस्तार एवं प्रचारप्रसार हुनुपर्ने हो त्यति हुन सकेको छैन । बुद्धको जन्मभूमि, कर्मभूमि एवं निर्वाण प्राप्ति भूमिसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक वस्तु पूरै विश्वको निम्ति पर्यटकीय आकर्षणका निम्ति उपयोगी सावित हुन सक्दछ । पर्यटन क्षेत्रको सूचना, भौतिक पूर्वाधारको विकास तथा विस्तारमा सहकार्य गर्दै दुवै देशका धेरै नागरिकको आस्थासँग जोडिएको क्षेत्रमा पर्यटनसँग सम्बन्धित कार्यक्रम र गतिविधि बढाउन दुवै देशबीच हुने गरेका सहमतिलाई उपलब्धिका रूपमा लिनुपर्ने हुन्छ । 

नेपाल र भारतबीच सांस्कृतिक सम्बन्धलाई हामी कुनै निश्चित समयको परिधिभित्र बाँध्न सक्दैनौँ किनभने वैदिक ज्ञानको अस्तित्त्वलाई हामी आफुसँगै सुन्दै र बुझ्दै आएका छौँ । धर्म, अध्यात्म र सांस्कृतिक समानताले दुवै देशलाई एक–अर्कासित आन्तरिक रूपमा यसरी बाँधिदिएको छ कि दुवै देश पृथक् भएर पनि अभिन्न हुन् । नेपालसित भारतको सम्बन्ध त्यति नै प्राचीन छ, जति प्राचीन यसको सांस्कृतिक चेतना छ । नेपाल र भारत दुवै देश एउटै सांस्कृतिक चेतनाका संवाहक हुन् । हिमालय हामी दुवैको निम्ति आत्मसाधनको स्थल रहिआएको छ । अनन्तकालदेखि नै हिमालयका महान् शिखरले हामीलाई आध्यात्मिक शान्ति प्रदान गर्दै आएको छ । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई बलियो त बनाउनेछ नै लुम्बिनीलाई विश्वकै धार्मिक एवं पर्यटकीय स्थल बनाउनमा थप सहयोग  प्रदान गर्नेछ । 



Author

श्रीमन्नारायण