• ११ असोज २०८१, शुक्रबार

भाषा, संस्कृतिको संरक्षणमा जुटौँ : मुख्यमन्त्री पाण्डे

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कार्यक्रममा सम्बोधन गर्नुहुँदै । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी

नवलपुर, असोज २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो भाषा, संस्कृति, रहनसहन र भेषभुषा संरक्षण गर्न आफैँ एकजुट भएर लाग्नुपर्ने बताउनु भएको छ । 

जितिया पर्वको पूर्व सन्ध्यामा नवलपुरको डण्डामा थारु महिला सभाले आयोजना गरेको १२ औँ जिल्लास्तरीय झमटा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

‘नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो, हाम्रा विभिन्न समुदायमा आ–आफ्नै भाषा, संस्कृति छन्, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘ती सबैको हामी आफैले जगेर्ना, संरक्षण र रक्षा गर्नुपर्छ ।’


सरकारले मात्र सबै कुरा गरिदिन्छ भनेर सोच्यो भने हाम्रा परम्परागत भेषभुषा र संस्कृति लोप हुन सक्ने उहाँको भनाइ छ । प्रदेश सरकारले गण्डकीको नवलपुरमा बाहुल्यता रहेको थारु भाषालाई सरकारी कामकाजको भाषाका रूपमा परिणत गर्ने भनेर ऐन बनाउने काम भइरहेको मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले प्रदेश सभामा आदिवासी जनजातिको रूपमा थारु समुदायको प्रतिनिधित्व हुन नसकेको भन्दै त्यसलाई सरलीकरण गरेर संवैधानिक रूपमै समावेश गर्न पहल गर्ने आश्वासन दिनुभयो । 


असोज २ गते परेको जितिया पर्वलाई थारु महिलाले विशेष पर्वका रूपमा मनाउने गर्छन् । यो पर्वमा सन्तानको सुख, शान्ति र चिरायुको कामना गर्दै थारु महिला व्रत बस्ने गर्छन् । यसै पर्वको पूर्व सन्ध्यामा थारु, कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा जोड दिँदै नवलपुरमा विभिन्न कार्यक्रम भइरहेका छन् । नवलपुर थारु समुदायको बाहुल्यता रहेको प्रदेशकै एक मात्र जिल्ला हो ।