• ६ जेठ २०८१, आइतबार

दुई प्रतिशतले बुझाएनन् सम्पत्ति

सम्पत्ति विवरण बुझाउनेको संख्या बढ्यो

blog

काठमाडौं, वैशाख २८ गते। पछिल्लो आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या बढेको छ। राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०७७/०७८ को सम्पत्ति विवरण बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ। प्रतिवेदन अनुसार सम्पत्ति विवरण बुझाउने संख्या बढेको हो। 

अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा सम्पत्ति विवरण बुझाउनेको संख्या शून्य दशमलव ५१ प्रतिशतले बढेको केन्द्रका प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिनुभयो। अघिल्लो आर्थिक वर्षमा ९७.२८  प्रतिशतले सम्पत्ति विवरण बुझाएका थिए भने यो आर्थिक वर्षमा ९७.७९ प्रतिशतले सम्पत्ति विवरण बुझाएका छन्। 
सतर्कता केन्द्रका सचिव सुशीलचन्द्र तिवारीका अनुसार केन्द्रमा सम्पत्ति विवरण बुझाउनेको संख्या ६ लाख ९६ हजार ६२४ रहेको तथ्यांक छ। जसमध्ये कानुन बमोजिम सम्पत्ति विवरण बुझाउनेको संख्या ६ लाख ८१ हजार २१५ रहेकाे छ। यो संख्या ९७ दशमलव ७९ प्रतिशत हो। केन्द्रलाई १५ हजार ४०९ जनाले सम्पत्ति विवरण बुझाएका छैनन्। यो २ दशमलव २१ प्रतिशत हो। 

बुधबार सम्पत्ति विवरण अनुगमन प्रतिवेदन ग्रहण गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आगामी दिनमा आयोग र केन्द्रबीच समन्वय एवम् सहकार्य बढाउन निर्देशन दिनुभयो। सम्पत्ति विवरण भर्ने भराउने प्रमुख दायित्व कार्यालय प्रमुखले लिनुपर्ने, सम्बन्धित कार्यालयले कर्मचारी र पदाधिकारीको अभिलेख दुरुस्त राख्नुपर्ने निर्देशन दिनुभएको छ।