• २१ पुस २०८१, आइतबार

भेरी अस्पतालमा सिकलसेलका बिरामीको हिपको जटिल प्रत्यारोपण

blog

भेरी अस्पतालमा सिकलसेलका बिरामीको हिप प्रत्यारोपण गर्दै चिकित्सकहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, भदौ ३१ गते । भेरी अस्पतालमा सिकलसेलका बिरामीको जटिल खाले हिप प्रत्यारोपण गरिएको छ । तीन जना सिकलसेलका बिरामीको जटिल प्रकारको हिपको प्रत्यारोपण गरिएको भेरी अस्पतालका हाड जोर्नी तथा नशा एवं मेरुदण्ड रोग विशेषज्ञ डा. तीर्थेन्द्र खड्काको टिमले गरेका हुन् ।

हाड जोर्नी तथा नशा एवम् मेरुदण्ड रोग विशेषज्ञ डा. खड्काका अनुसार दुई जना बर्दिया र एक जना सुर्खेतका बिरामीको हिपको जटिल खालको प्रत्यारोपण गरिएको बताउनुभयो। 

उहाँले हिप प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएपछि बिरामीहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले आफूलाई काम गर्न झन् प्रेरित गरेको बताउनुभयो । नेपालमा अझै पनि हिप, जोर्नी प्रत्यारोपणको बारेमा मानिसहरूलाई ज्ञान नभएका कारण पीडामा बस्नुपरेको प्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । 

नेपालगन्जमै अति नै जटिल खालका हाड जोर्नी सम्बन्धी शल्यक्रियाहरू हुन थालेपछि यस क्षेत्रका बिरामीलाई धेरै सहज र सरल भएको डा. खड्काले बताउनुभयो । यस्तै भेरी अस्पतालका सिकलसेल रोग विज्ञ वरिष्ठ फिजिसियन डा. राजन पाण्डेले सिकलसेल एनिमियाका बिरामीहरूको आवश्यकता अनुसार हिप प्रत्यारोपण मोफसलमा नै सुरु भए पछि बिरामीहरूलाई राहत भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘एक हजार १०० सिकलसेलका बिरामीहरू प्रत्यक्ष सम्पर्कमा रहेर उपचार गराइरहेका छन् भने हालसम्म चार हजार भन्दा बढीको उपचार गरिसकिएको छ ।’  

उहाँले सिकलसेल एनिमिया रगतको रातो रक्तकोषमा हुने एक जैविक वंशाणुगत रोग भएको जनाउँदै यो रोगले शरीरमा रगत बनाउने रातो रक्तकोषिकाको सङ्ख्या घटाउँदै जोर्नी, हिप लगायत शरीरको विभिन्न भागमा असर गर्ने गरेको बताउनुभयो । बाँकेमा हाल १५० जना सिकलसेलका बिरामी रहेको पनि डा. पाण्डेको भनाइ छ ।

नेपाल सरकारले सिकलसेल एनिमियाका बिरामीको हिप, जोर्नी प्रत्यारोपणमा पनि एक लाख बराबरको सहुलियत दिँदै आएको सिकलसेल रोग विज्ञ डा. पाण्डेले बताउनुभयो ।