सिराज खान
नेपालगन्ज, भदौ ३१ गते । इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्ललाहो अलैहीवसल्लमको १४९९ औं शुभ जन्मोत्सव नेपालगन्ज लगायत बाँके जिल्लामा धुमधामका साथ मनाइँदै छ । सो अवसरमा सोमबार बिहान ठुलो संख्यामा मुस्लिम धर्मावलम्बीको सहभागिता रहेको एक शुभजन्मोत्सव जुलुसले नगर परिक्रमा गरेको छ ।
नेपालगन्ज र सो वरिपरिबाट विभिन्न नाराहरु लिखित प्लेकार्ड तथा ब्यानर लिएर आएका समुदायका सर्वसाधारणको ठुलो सङ्ख्यामा जुलुसमा सहभागिता थियो । जुलुसमा सयौं गाडी, ब्याट्री रिक्सा, ट्याक्टर र मोटरसाइकललाई पनि सहभागी गराइएको छ । नगरका विभिन्न स्थानमा मिठाई, फलफूल, पानी, जुस, चिया र अन्य खानेकुरा वितरण गरिंदैछ ।
जुलुसमा पूर्व मन्त्रीहरु मोहम्मद इश्तियाक राई, अब्दुल खान, संविधानसभाका सदस्य अब्दुल हमीद सिद्दिकी, प्रतिनिधिसभा र प्रदेशसभाका पूर्व तथा वर्तमान सदस्यहरु, नेपालगन्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुद्दीन राई, मुस्लिम धर्मगुरुहरु तथा अगुवाहरुलगायत बालबालिका र युवाहरुको सहभागिता छ । शुभजन्मोत्सव जुलुशले नेपालगन्जका सबै मूख्य भागको परिक्रमा गरि करिब ६ घण्टाको हिँडाइपछि स्थानीय गौसिया मदरसामा पुगेर समापन हुनेछ ।
समापनमा मुस्लिम अगुवा तथा धर्मगुरुहरुले हजरत मोहम्मदको सन्देश र जीवनी बारे आ आफ्नो धारणा राख्ने कार्यक्रम रहेको मुस्लिम अगुवा मोहम्मद हारुनले बताउनुभयो ।
मुस्लिम समुदायले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरेपनि नेपाल सरकराले समुदायलाई मात्रै विदा दिइएकोमा मुस्लिम अगुवाहरुले दुख व्यक्त गर्नुभएको छ ।
मुस्लिम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले मोहम्मद डे मा सार्वजनिक बिदा माग गरिए पनि समुदायलाई मात्रै बिदा दिइएकोमा असन्तुष्टि व्यक्त गर्दै यसले मुस्लिम समुदायको भावनामा चोट लागेको बताउनुभयो । उहाँले तर, पहिलो पटक आधा जति जनसङ्ख्या भएको नेपालगन्ज उपमहानगरले भने नेपालगन्जमा सार्वजनिक बिदा दिएकोमा उपमहानगरलाई धन्यवाद दिनुभयो ।
यसैगरि बाँकेको नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाले पनि मोहम्मद डे को अवसरमा सोमवार सार्वजनिक बिदा दिएको छ । स्थानीय सरकारले विदा घोषणा गरेकोमा बाँकेका तीनवटै पालिकाका मुस्लिमहरुले आभार व्यक्त गरेका छन् ।
मोहम्मद डे का लागि नेपालगन्ज नगरलाई दुई दिन पहिलेदेखिनै दुलही झैं सिंगारिएको छ । जताततै ध्वजा पताका, लाइट र झण्डाले सजाइएको छ । सहरलाई नै रङ्गिचङ्गी बनााइएको छ । जन्मोत्सवका अवसरमा आइतवार रातभरि विभिन्न मस्जिद र मदरसामा जाग्राम बसेर धार्मिक प्रार्थना गरिएकाे थियाे भने राती पनि विभिन्न स्थानमा छुट्टा छुट्टै जुलुसहरु निकालिएको मुस्लिम अगुवा जुबेर राईले बताउनुभयो ।