• २१ पुस २०८१, आइतबार

‘दसौंमा दश इभेन्ट’, चाहना आउटरिच म्यानेजर नियुक्त

blog

नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त हुनुभएकी चाहना शाह । तस्बिर सौजन्य : टिएस ठकुरी

गजेन्द्र गुरुङ
खजुरा, भदौ ३१ गते ।
धारा नेपालगन्ज म्याराथनको १०औं संस्करणलाई उत्सवमय बनाउन ‘दसौंमा दश इभेन्ट’ आयोजना गरिने भएको छ । प्रि–इभेन्टका रुपमा नेपालमै पहिलोपटक ‘नेपालगन्ज १० किमी रात्रीदौड’ असोज ३ गते राती आयोजना गरेर ‘दसौंमा दश इभेन्ट’ सुरु हुने धारा नेपालगन्ज म्याराथानका संस्थापक एवम् अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो ।

अध्यक्ष ठकुरीका अनुसार रनिङ संस्कृति बढावा दिनका लागि असोज ५ गते शनिबारदेखि हरेक शनिबार वर्षभरी सञ्चालन हुनेगरी ‘साप्ताहिक रन’ कार्यक्रम हुँदैछ । यसका लागि रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङलाई प्रमुख जिम्मेवारी दिइएको छ । बाँके जिल्ला एथ्लेटिक्स सङ्घले यसमा साझेदारी गर्नेछ ।

दशौं धारा नेपालगन्ज म्याराथनलाई लक्षित गरी स्कुल कलेजमा लेक्चर सिरिज सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो । ओलम्पिकको विश्वव्यापी मूल्यमान्यता, शान्ति र एकताका लागि खेलकुदको भूमिकाका बारेमा विद्यार्थीहरुसँग अन्तरक्रिया गरी यो कार्यक्रम गरिनेछ । यसका लागि युथ ओलम्पिक एम्बेस्डर चाहना शाहलाई संयोजनको जिम्मेवारी दिइएको छ ।

चाहनालाई नेपालगन्ज म्याराथनको आउटरिच म्यानेजरमा नियुक्त गरिएको ठकुरीले बताउनुभयो । चाहनाले समग्र म्याराथनको अपरेसन टिममा रहेर जिम्मेवारी निर्वाह गर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार ट्रायथोलनकी अन्तर्राष्ट्रिय निर्णायक चाहनाले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग्रीसको ओलम्पियाडमा हरेक वर्ष सञ्चालन गर्ने युथ एम्बेस्डर कोर्ष २०२२ गरिसक्नुभएको छ । साथै हाङझाव एशियाडमा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

त्यसैगरी, गौघाट ग्रीन रन, मङ्सिर ५ गते दीप प्रज्वलन, म्याराथन एक्स्पो, फोटो प्रदर्शनी, नेपालगन्ज कनक्लेव, दशक रत्न सम्मान हुँदै मङ्सिर २२ गते धारा नेपालगन्ज म्याराथनको दशौं संस्करण गरिने संस्थापक ठकुरीले जानकारी दिनुभयो ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मङ्सिर २०६३ को स्मरणमा हरेक वर्ष मङ्सिरको पहिलो शनिबार हुँदै आएकोमा यसवर्ष कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद् परेकाले मङ्सिर २२ गते शनिबार हुन लागेको हो ।

दशक लामो सशस्त्र द्वन्द्व विधिवत् अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मङ्सिरमा नेपालगन्जको विपीचोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदै आएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवम् क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौँ पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।