• १९ असोज २०८१, शनिबार

म्याद सकिएको दुई वर्ष बित्दा पनि बनेन केराबारी गाउँपालिकाको भवन

blog

केराबारी गाउँपालिकाको नयाँ प्रशासनिक भवन । तस्बिर: गोरखापत्र

हरि कोइराला

उर्लाबारी,भदौ ३० गते । उत्तरी मोरङको केराबारी गाउँपालिका अझैसम्म साबिक केराबारी गाविसको साँघुरो भवनबाट सञ्चालन भइरहेको छ । 

काठमाडौँको श्रीड्रयागन-विके-कामाख्य जेभीले २०७७ साल फागुन ११ गते प्रशासनिक भवन निर्माण गर्ने  सम्झौता गरी सोही वर्षको चैत ६ गते निर्माणको काम थालेको  थियो । सङ्घीय सरकारको ४ करोड ४७ लाख १६ हजार ९७५ रुपियाँ २६ पैसामा ठेक्का सम्झौता भई काम सुरु गरेको निर्माण कम्पनीले २०७९ सालको फागुन १३ गते काम सम्पन्न गरी भवन हस्तान्तरण गर्नुपर्ने थियो । यो अवधि निर्माणका लागि तीन पटक म्याद थप भइसकेको छ । सबैभन्दा पछिल्लो म्याद यही भदौ मसान्तमा सकिँदै छ । तर निर्माण कम्पनीले अझै भवन जिम्मा लगाउने अत्तोपत्तो छैन । 

 कम्पनीका सञ्चालक विमलकुमार जोशीले भन्नुभयो – दसैँ अघि हस्तान्तरण गर्ने तयारीमा छौँ । काम थाल्ने बित्तिकै कोभिडका कारण ९ महिना रोकिनु पर्‍याे । त्यसैले समयमा काम नसकिएको हो । उहाँले नयाँ भवन निर्माण भएको ठाउँसम्म थ्री फेसको विद्युत् पुर्‍याउन ढिलो भएकोले थप केही समय ढिलो भएको बताउनुभयो । जोशीका अनुसार भवन निर्माणको ९७ प्रतिशत काम सकिएको छ । त्यस्तै ९२ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । ६ हजार स्क्वावर फुटमा बनेको साढे तीनतले भवनमा लिफ्टसहितको सुविधा छ । तर, लिफ्ट जडान हुन बाँकी छ । 

मुख्य बजारबाट केही उत्तरमा निर्माण भएको प्रशासनिक भवन पालिकाको वडा नं. १० मा पर्छ । वडा नम्बर १० का वडाध्यक्ष पूर्णबहादुर मगरले भन्नुभयो – दसैँ अघि नै नयाँ प्रशासनिक भवनबाट सेवा प्रदान गर्ने तयारी छ । मगरले निर्माण कम्पनीले भवन हस्तान्तरण नगरेसम्म पालिकाले कार्यालय सार्न नमिल्ने बताउनुभयो ।