बाल अधिकार सुनिश्चित हुन नसक्नुको प्रमुख कारण असमानता छ । नेपालमा मात्र होइन, विश्वमै बालबालिकाबिच लैङ्गिक विभेद कायम छ । छोरालाई सुविधा र छोरीलाई कष्टको व्यवहार सामाजिक अपराधकै रूपमा स्थापित भएको छ । छोरालाई जति पनि अवसर दिने छोरी बालिग नहुँदै विवाह गरेर पठाइदिने प्रचलन सामाजिक अपराधसँगै बाल अधिकार हननको अपराध पनि हो । त्यसैले बाल अधिकार महासन्धिमा सबै बालबालिकाले भेदभावबिना समान अवसर र अधिकार पाउनुपर्ने व्यवस्था गरिएको छ ।
बालबालिकाको विकासको अर्को महत्वपूर्ण आधार अभिव्यक्ति र सहभागिता हो । यो अधिकार भनेको बालबालिकाले आफ्नो विचार व्यक्त गर्न र निर्णय प्रक्रियामा सहभागी हुनुको अधिकार पाउनु हो । उनीहरूको जिज्ञासा र चासोलाई अभिभावक, परिवारका सदस्य, विद्यालय र समाजले उनीहरूलाई केटाकेटी भएर जान्ने हुन खोज्ने भन्दै हप्काउने नभई उनीहरूका जिज्ञासा मेटाउने प्रयास गर्नु पर्छ । उनीहरूलाई आफ्नो चाहना, क्षमता र इच्छा अनुसार काम गर्न दिनु पर्छ ।
महासन्धिलाई अनुमोदन गरेको नेपालमा बाल अधिकार स्थापित गर्न औपचारिक रूपमा विभिन्न कानुनी, नीति र कार्यक्रम तय गरिएको छ । सरकार, गैरसरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय निकाय नेपालमा बालबालिकाका अधिकार लागु गर्ने अनेक कार्यक्रम चलाइरहेका छन् तर बाल अधिकारका न्यूनतम पक्षसमेत नेपाली बालबालिकाले पूर्ण रूपमा उपभोग गर्न पाइरहेका छैनन् । सहज शिक्षा, स्वास्थ्य जस्ता पक्ष अहिले पनि दुर्लभ जस्तै छ । शिक्षा हुने खाने र हुँदा खानेहरूबिच चरम विभेद छ । दोहोरो शैक्षिक पद्धतिले आधारभूत शिक्षा ध्वस्तःप्रायको अवस्थामा छ । त्यस्तै बालश्रम शोषण, बालविवाह जस्ता समस्या कायम रहेका छन् ।
बाल अधिकारसम्बन्धी विश्वव्यापी महासन्धिको प्रावधानलाई टेकेर नेपालको संविधान २०७२ ले बाल अधिकारलाई मौलिक हकको अङ्ग बनाएको छ । संविधानको भाग–३ मा ‘मौलिक हक र कर्तव्य’ को व्यवस्था छ । यही भागको धारा ३९ मा बालबालिकाको हक अधिकारबारे लेखिएको छ । मौलिक हकमा भएका अधिकार कसैले पनि खोस्न पाउँदैन । मौलिक हकमा भएका अधिकार नपाएमा सर्वोच्च अदालतमा न्याय माग्न जान पाइन्छ । यसका लागि बालबालिकामा त्यो चेतना हुनु आवश्यक छ । जुन चेतना शिक्षा र स्वस्थ मनस्थितिबाट प्राप्त हुन्छ । सहभागितामूलक सक्रियताबाट सम्भव हुन्छ ।
बालबालिकालाई व्यावहारिक रूपमै भविष्यका कर्णधार मानेर उनीहरूबाट भविष्यको समृद्धि, सुन्दर, शान्त, भेदभावरहित उन्नत राष्ट्रको कल्पना गर्ने हो भने संविधानप्रदत्त अधिकार र विश्वव्यापी घोषणापत्रले लिपिबद्ध गरेका बाल अधिकारका बुँदा पूर्णतः कार्यान्वयन गर्नु पर्छ । कागजी रूपमा जनाइएका प्रतिबद्धता व्यवहारमै ल्याउनु पर्छ । बाल अधिकार स्थापित गर्न सरकारदेखि परिवारसम्मको समान दायित्व हुन्छ । हरेक घरमा बाल अधिकार सुनिश्चितताको महत्व र यसले भविष्यमा पार्ने सकारात्मक प्रभावका बारेमा चेतनशील बनाउनु पर्छ ।
बाल अधिकारको सबभन्दा प्रमुख पक्ष शिक्षा, स्वास्थ्य र मनोरञ्जन हो । यी तीन पक्षमा बालबालिकाले निर्बाध रूपमा अघि बढ्न पाए भने देशको सुन्दर भविष्यको आधार तयार हुनेछ । शिक्षित, स्वस्थ र आत्मविश्वासले भरिएका बालबालिका नै भविष्यका कर्णधार हुने छन् र उनीहरूलाई अहिलेदेखि नै देशभक्ति, आफ्नो संस्कृति, परम्परा, अभ्यास र इतिहासका गौरवगाथाप्रति गर्व गर्न सक्ने बनाउनु आवश्यक छ । आज जसरी विदेश जाने एकसूत्रीय एजेन्डा युवापुस्तामा विकसित भएको छ । यसको कारण उचित शिक्षा, अवसरको अभावले नै हो । अभिभावकले छोराछोरीलाई देशमै केही गर्नु पर्छ भन्नुको साटो ‘विदेश जानु पर्छ, राम्रोसँग अङ्ग्रेजी पढ्नु’ भन्ने गलत अभ्यास जुन चलिरहेको छ त्यसको अन्त्यका लागि बाल अधिकारका आधारभूत पक्षको अक्षरशः पालना गर्दै कार्यान्वयन गर्नु हो । असल, सान्दर्भिक र गरिखान सक्ने शिक्षामा सबैको ध्यान जानु पर्छ ।
बालबालिकाको शिक्षा प्राप्तिको अधिकार केवल बालबालिकाका लागि मात्र नभएर देश हुँदै महादेश र विश्वव्यापी रूपमा प्रभाव पार्ने प्रतिभा तयार पार्नु पनि हुन्छ । यसको सुरुवात विद्यालय तहबाटै गर्नु पर्छ । किनभने विद्यालयको शिक्षाबाटै भविष्यको निर्धारण गर्छ । हामीले हाम्रा बालबालिकालाई विद्यालय तहबाटै घोक्ने होइन कि सिक्ने अभ्यास गराउन सक्यौँ भने त्यो नै उसको शिक्षा हुन्छ । किताब पढेर त्यसको अभ्यास हुन पाएन भने त्यो शिक्षाको कुनै मूल्य हुँदैन ।
बालबालिकाका लागि चरित्र विकास सबभन्दा महत्वपूर्ण पक्ष हो र यसका लागि विद्यालय सर्वाधिक जिम्मेवारी विद्यालयको हुन्छ । विद्यालयमा नैतिक, सामाजिक पाठ पढाइन्छ । तर यसको अभ्यास गराइँदैन । पढाइसँगै अभ्यास पनि गराउने काम विद्यालयले गरे भने बालबालिकामा असल चरित्र विकास हुन्छ । किनभने बालबालिकाको असल चरित्र निर्माणमा सघाउ पुग्ने गतिविधि सञ्चालन गर्नु पनि बाल अधिकार महासन्धि कार्यान्वयनको प्रमुख कडी हो ।
बाल अधिकार स्थापित गरी बालबालिकाको समग्र पक्षको विकासमा सरकारदेखि समाजसम्मको समान दायित्व हुने भएकाले कानुन बनाएर सार्वजनिक गर्दैमा अधिकार स्थापित हुँदैन । यसका लागि सोही अनुसारको सामाजिक परिवेश निर्माण गर्नु पर्छ । किनभने समुन्नत, सहिष्णु समाज निर्माणमा समाजकै भूमिका महत्वपूर्ण हुन्छ ।
गाउँ, घरमा झैझगडा नहुने, मेलमिलाप, सहिष्णुता र सद्भाव प्रदर्शन भइरहेको छ भने बालबालिकामा स्वाभाविक रूपमा शान्त, सहयोगी, सहिष्णु व्यवहार प्रकट हुन्छ । बालबालिकाका लागि असर चरित्र निर्माणमा सामाजिक परिवेशको ठुलो महत्व रहेकाले समाजका असल मानिसहरूको सङ्गतमा उनीहरूलाई अभ्यस्त तुल्याउन, अग्रजले सोही अनुसारको भूमिका निर्वाह गर्नु पर्छ । चरित्रवान् बालबालिका नै भविष्यमा देशका असल चालक बन्न सक्छन्, जुन हामी सबैको अपेक्षा हो । यसका लागि बाल अधिकारका आधारभूत सिद्धान्तको पूर्ण कार्यान्वयन आवश्यक छ ।
जबसम्म मानिस सदाचारी र कर्तव्यबोध गर्ने बन्दैन हाम्रो समाज पनि माथि उठ्न सक्दैन । त्यसका लागि शिक्षा नै पहिलो खुड्किलो हो । हाम्रा भविष्यका कर्णधारलाई सदाचारी, सुसंस्कारी र कर्तव्यबोध गराउने शिक्षा दिन थाल्ने हो भने बालबालिकालाई किताबीसँगै व्यावहारिक शिक्षा अनि नैतिक, सामाजिक र इतिहास तथा पौराणिककालका सन्दर्भ जोडेर मानवीय संवेदनशील भावनाको विकास गराउन अग्रसर हुनु पर्छ । यसको व्यापकतासँगै देशले सदाचारी, संस्कारी पात्र पाउने छ । हाम्रो देशका लागि आज आवश्यक यस्तै युवाको हो, जसमा व्यक्तिगत लालचभन्दा सामाजिक उत्तरदायित्व लिने चाहना बढी हुने छ ।
विज्ञान र प्रविधको कुरा मात्रै गरेर किताब घोकाएर र सूत्र कण्ठ पार्न लगाएर मात्र देश विकास हुँदैन भन्ने चेतनाको विकास कम्तीमा शिक्षण पेसामा लागेकामा हुनु पर्छ । किताब पढाएर मात्रै बालबालिकाको शिक्षा प्राप्त गर्ने मौलिक हक कार्यान्वयन वा पालना भइरहेको छ भन्ने ठान्नु हुँदैन । पढाएको किताबबाट उनीहरूले के सिके ? के जाने ? भन्ने महत्वपूर्ण पक्षलाई सबैले आत्मसात् गर्नु पर्छ ।
समाजका हरेक अङ्ग, पात्रले आजका बालबालिकाको शिक्षा, स्वास्थ्य, मनोरञ्जन र व्यक्तित्व विकासमा सघानु आफ्नो पनि भविष्य सुधार्न हो अर्थात् अप्रत्यक्ष लगानी हो भन्ने बुझेर कदम चाल्न सके नेपालबाट बाल अधिकार कार्यान्वयनका समस्या हटेर मुलुक समुन्नतिको दिशामा अघि बढ्ने छ । आजका बालबालिकालाई शिक्षित, प्रशिक्षित र सिपवान् बनाउनु नै उनीहरूको मौलिक हक कार्यान्वयन हुनु हो र देशको भविष्य निर्धारण हुनु हो । यसका लागि आजका बालबालिका शिक्षित, स्वस्थ, तन्दरुस्त रहँदै समाजका हरेक पक्षमा आफूलाई उपस्थित गराउन सक्ने क्षमताको विकास हुनु पर्छ ।