• २१ पुस २०८१, आइतबार

सेयर बजारप्रतिको आकर्षण

blog

अहिले सेयरप्रति धेरैको चासो बढिरहेको छ । यसको कारण अर्थतन्त्रमा सुधार हुँदै जानु हो । उद्योगधन्दा कलकारखाना क्रमिक रूपमा सञ्चालन हुन थालेका छन् । आन्तरिक उत्पादन सकारात्मक हुँदै गएको छ । औद्योगिक वातावरण बन्दै गएकाले लगानीकर्ता अहिले सेयर बजारतिर आकर्षित भएका देखिन्छन् । 

अहिले अर्थतन्त्र पूर्ण रूपमा लयमा फर्किन भने सकेको छैन । निराशाजनक सरकारी खर्च, लक्ष्य प्राप्त गर्न नसक्ने राजस्वको स्थिति, झन्झटिलो प्रशासनिक प्रक्रिया, बढ्दै गएको आर्थिक अनियमितता, अस्थिर सरकार, पटके आर्थिक नीति जस्ता अवयव पनि सेयर बजारलाई पछाडि धकेल्ने कारण देखिन्छन् । यद्यपि अर्थतन्त्र कमजोर हुँदाहुँदै पनि सेयर बजारले त्यति ठुलो दुर्घटना निम्त्याएको भने देखिँदैन ।

नेपालका लागि सेयर बजार नौलो क्षेत्र भने पनि हुन्छ किनभने यसको इतिहास करिब तीन दशकभन्दा बढी भएको छैन । यति सानो अवधिमा ६३ लाखको हाराहारीमा डिम्याट खाता खोलिएका छन् र सक्रिय सहभागिताको सङ्ख्या पनि बढ्दै गएको छ । खुल्दै गएका बैङ्क तथा वित्तीय संस्था तथा अन्य क्षेत्रले पनि सेयर जारी गरेका हुनाले अहिले सर्वसाधारणको सहभागिता बढ्दै गएको छ ।

एकातिर लगानीकर्ता बढ्दै जानु र अर्को तर्फ व्यावसायिक कम्पनी पनि बढ्दै गएकाले नेपालमा पुँजी बजारको भविष्य राम्रो हुने अपेक्षा गर्न सकिन्छ । बुझ्नु पर्ने कुरा के छ भने सबै क्षेत्र एक रूपले बढ्न नगएर बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्यामा वृद्धि हुँदा अन्य क्षेत्र ओझेलमा पर्न गएका छन् । सबै क्षेत्र एकै किसिमबाट बढ्न सकेको भए सेयर बजारले अझ ठुलो आकार लिन सक्ने थियो ।

सेयर बजार बढ्दै जानुमा मूलतः प्रविधिको विकास पनि हो । केही वर्षअघिसम्म प्राथमिक सेयरमा दरखास्त राख्नको लागि ठुलै भिड र मानिसको खचिखचाउ लाइन हुन्थ्यो । अहिले विभिन्न किसिमका सफ्टवेरको विकासले गर्दा लगानीकर्ताले घरमै बसेर सेयरका लागि आवेदन, खरिद बिक्री र अन्य कारोबार गर्न सक्छन् । लगानीकर्ता भौतिक रूपमा उपस्थित हुनु नपर्ने भएकाले गर्दा मानिसको समय र खर्च पूर्ण रूपले बचत भएको छ । अहिले अनलाइन प्रणालीमार्फत कारोबार गर्न सकिने भएकाले धेरै मानिसको चासो र संलग्नता बढ्दै गएको छ । सुधार गर्न सक्ने हो भने सानो सुधारले पनि ठुलो उपलब्धि दिन सक्ने हुन्छ ।

सेयर बजार यस्तो बजार हो, जहाँ सानादेखि ठुला लगानीकर्ता समान रूपमा सहभागी हुन सक्छन् र कारोबार पनि प्रतिस्पर्धाको माध्यमबाट हुने भएकाले छलकपटको सम्भावना न्यून हुने गर्छ । यस कारणले गर्दा यसप्रति आकर्षण बढ्दै गएको छ । पहिले प्राथमिक सेयरमा दरखास्त राख्दा सीमा निर्धारण गरिएको हुन्थ्यो भने अहिले १० कित्ताका लागि पनि निवेदन गर्न सकिन्छ । संक्षेपमा भन्नु पर्दा न्यूनतम १० कित्तामा दरखास्त हालेर कम्पनीको हकदार हुन पाइने, सानो रकम पनि लगानी गर्न सकिने, अनलाइनमार्फत कारोबार गर्न सकिने, बैङ्क तथा वित्तीय संस्थामा जान नपर्ने, देशको प्रत्येक ठाउँबाट खरिद गर्न, बिक्री गर्न, कारोबार गर्न र अन्य कार्यसमेत विद्युतीय प्रणालीको सहयोगबाट गर्न सकिने भएकाले सेयर बजार फस्टाउँदै गएको अहिलेको अवस्था हो ।

अहिले सेयर बजारको आकार व्यापक हुँदै गएको छ । गाउँघरका साधारण व्यक्ति पनि सेयर बजार भनेको कमाउने क्षेत्र हो भन्ने कुरा बुझेका छन् । हुन पनि सानो लगानी गरेर होल्ड गरेर राख्न सकेको अवस्थामा सानो सेयर सङ्ख्याले पनि राम्रो प्रतिफल दिन सक्छ । तासको खाल जस्तो सेयर बजार हुनै सक्दैन । यसमा जोखिम कम हुन्छ । बिउ नै मासिने सम्भावना ज्यादै न्यून हुन्छ । सेयरमा खेल्न जान्नेहरूले राम्रै आम्दानी गरेका पनि देखिन्छन् । विवेक नपु¥याउनेहरूको सम्बन्धमा भने जोखिम आउनु स्वाभाविकै हो । यस कारणले गर्दा बढ्नु पर्ने सेयर घटेको हुन्छ भने घट्नु पर्ने सेयर बढेको देखिन्छ । यससम्बन्धी साक्षरताको अभाव एकातिर छँदै छ भने अर्कोतर्फ चलखेल गर्न सक्ने र जाने बुझेकाले पनि आफू अनुकूलको गतिविधि गरेका पनि पाइएका छन् । कतिपय कम्पनीले वास्तविक वित्तीय विवरण नदेखाई अवास्तविक वित्तीय विवरण सार्वजनिक गरेका कारणले पनि लगानीकर्ता उनीहरूले गरेका अपेक्षा र यथार्थमा ठुलो फरक पर्न गएको छ ।

नेपाल जस्तो अल्पविकसित देशमा सेयर बजार राम्रोसँग फस्टाउनु कठिनकै विषय हो । यस्ता देशमा पुँजीबजारले धेरै चुनौती खेपेकै हुन्छन् । जहाँ बजार माग र आपूर्तिले निर्धारण गरेको हुँदैन त्यहाँ सेयर बजारले विवेकशीलता गुमाएकै हुन्छ । माग र आपूर्तिले गर्नुपर्ने काम अन्य तत्वले गर्ने भएपछि सेयर बजार स्वच्छ हुन नसक्नु र खस्कँदै जानु स्वाभाविकै हो । 

सेयर बजार मूलतः देशको अर्थतन्त्र र औद्योगिक वातावरणमा निर्भर रहेको हुन्छ । २०७२ सालको भूकम्प, आर्थिक नाकाबन्दी, कोभिडको सन्त्रास आदिको कारणले पनि सेयर बजार उस्कन सकेन । बजार कमजोर भएको अवस्थामा झनै कमजोर बनाउने अनेक कारक तत्व पनि सलबलाएका हुन्छन् । हाम्रो परम्परागत रोग के छ भने कुनै पनि कार्य गर्नुभन्दा पहिले त्यसबारे अध्ययन अनुसन्धान नगरी एकैचोटि ह्वात्त हाम्फाल्ने प्रवृत्तिको विकासले पनि प्रश्रय पाइरहेको छ । सेयर खरिद बिक्री गर्दा जान्नु पर्ने अन्तर्निहित आवश्यक आधारभूत विषयमा ध्यान नै गएको हुँदैन । जता भिड दौडिन्छ उतैतिर दौडिँदा जोखिम आउन सक्छ । अतः यस्ता कुराको पछि नलागेर कम्पनीको यथार्थ अवस्था बुझेर कारोबार गर्नु उत्तम उपाय हुन सक्छ ।

पुँजीबजार धेरै कुरामा निर्भर भएको हुन्छ । सरकारको स्थिरता भएन भने पुँजीबजारले बाटो निर्धारण गर्न सक्दैन । अहिले हामीकहाँ त्यस्तै भइरहेको छ । १९ महिनाभित्र चार पटक सरकार परिवर्तन भएको छ । यसको असर केन्द्रदेखि स्थानीय तहसम्म पर्ने गरेको छ । जारी गरिएका आर्थिक नीति कार्यान्वयन हुन नसक्दा पुँजीबजारमा प्रतिकूल प्रभाव पर्दो रहेछ । सरकारको नीति सर्वोच्च र दिगो हुनु पर्छ । तर यही नीति पटक पटक परिवर्तन हुँदा सेयर बजारले गति लिन सक्दैन । अहिलेको अवस्था भने अलि फरक रहेको छ । राष्ट्रिय ठुला दुई दल मिलेर सरकार बनाएकाले स्थिर सरकार हुन सक्ने अपेक्षाले गर्दा सेयर बजारले बाटो समात्न खोजेको देखिन्छ । 

सेयर बजार यस्तो सेन्सेटिभ हुन्छ कि सानोतिनो परिवर्तन वा सम्भावनाले पनि बजारलाई प्रभाव पारेकै हुन्छ । पहिलेको सरकारमा भएका अर्थमन्त्री विष्णु पौडेलले केही सुधारात्मक काम गरेको अवस्था र अहिले पुनः उहाँ नै अर्थमन्त्री भएकाले गर्दा पनि सेयर बजार सकारात्मक दिशातर्फ गएको देखिन्छ । 

सेयर बजार सामान्यतया तलमाथि भई नै रहन्छ । यो सामान्य प्रक्रिया हो किनभने सेयर बजार जहाँ बढेको बढ्यै र घटेको घट्यै हुन्छ त्यहाँ जोखिम भार बढी हुने गर्छ । सामान्य घटबढ हुनु नै लगानीकर्ताका लागि राम्रो हुने गर्छ । थोरै नाफा र थोरै नोक्सानीले बजारलाई दिगो बनाउने गर्छ । यसरी घटबढ हुने प्रक्रियालाई करेक्सन भनिन्छ । करेक्सन भनेको स्लो एन्ड स्टिडी विन्स द रेस भनेको जस्तै हो ।

सेयर बजारलाई प्रभावकारी बनाउने हो भने सरकारले औद्योगिक वातावरण बनाउनै पर्छ । उद्योग व्यवसायले राम्रो उत्पादन गरेको अवस्थामा प्रतिफलको अपेक्षाले गर्दा पनि त्यस्ता सेयरप्रति सबैको ध्यान गएको हुन्छ । सेयर बजारलाई स्थिरता दिन कुनै एक क्षेत्रको सुधारले मात्र सम्भव हुँदैन । यसका लागि त राष्ट्रिय अर्थतन्त्रका सबै अवयव सकारात्मक हुनु पर्छ । अहिलेको अवस्थामा भने सेयर बजारले गति लिन सक्ने अवस्था बन्दै गएको छ । भर्खर सुरु भएको नयाँ आर्थिक वर्ष, नयाँ बजेट, सेयर बजारप्रति सकारात्मक धारणा राख्ने अर्थमन्त्री, सरकार अनुकूलका राष्ट्र बैङ्कका गभर्नर, सेयर बजारप्रतिको लचिलो मौद्रिक नीति, सकारात्मक बन्दै गएका आर्थिक सूचकाङ्क जस्ता कारणले गर्दा सेयर बजार फस्टाउने सम्भावना बढ्दै गएको अवस्था देखिन्छ ।

अहिलेको अवस्थामा सेयर बजार सकारात्मक दिशातिर गएको देखिए पनि अझै यसमा सुधार गर्नुपर्ने धेरै कुरा रहेका छन् । खास गरेर लगानीकर्ताको रकमलाई कसरी सुरक्षित र लाभमूलक बनाउन सकिन्छ त्यसतर्फ सम्बन्धित निकायले पहल गर्नु पर्छ । लगानीकर्ताले पनि हचुवाको भर र जता गयो भिड उतै जानेतर्फ विचार गर्नु पर्छ । थोरै लगानी गरेर अधिकतम फाइदा हुने गरी साना लगानीकर्तालाई आकर्षित गर्न सकियो भने सेयर लगानीको क्षेत्र विस्तार हुन सक्छ ।

वर्तमान अवस्थामा सेयर बजारको अवस्था सुध्रँदै गएकाले यसमा देखिएका चुनौतीको क्रमिक रूपमा समाधान गर्दै जानु पर्छ । सेयर बजार आफैँमा केही होइन । यसलाई सही दिशातिर लाने काम कुनै एक क्षेत्रको मात्र नभई सम्बन्धित सरोकारवालाको पनि हो । सेयर बजार अर्थतन्त्रको ऐना हो । ऐना बनिनसकेकाले समग्र आर्थिक गतिविधिमा सुधार गरी सेयर बजारलाई अर्थतन्त्रको ऐना बनाउनु हाम्रै अर्थतन्त्रले सङ्केत गरेको अहिलेको अवस्था हो ।

Author

कृष्णमणि पराजुली