• १३ साउन २०८१, आइतबार

रहस्यको भुमरी चलचित्र षट्कोण

blog

सुकृत नेपाल

काठमाडौँ, वैशाख २८ गते । भीमफेदीको अर्यालको घर जहाँ सपरिवारको हत्या भएको छ । त्यो हत्या कसरी भयो र कसले ग-यो भन्ने कुरा आजसम्म पनि रहस्यमै छ । भीमफेदी घुम्न आएका प्रायः पाहुना त्यही घरमा बास बस्न जान्छन् र त्यहाँबाट बचेर आउँदैनन् । त्यही एउटा हन्टेड घरभित्र भएका घटनाहरूको निचोड हो, चलचित्र ‘षट्कोण’ । रूपक (कर्मा) एक पत्रकार हुन् । उनी अपराध बिटमा कलम चलाउँछन् । उनलाई भीमफेदीमा भएको अर्याल हत्याकाण्डका बारेमा धेरै कुरा बुझ्न र जान्न मन छ तर कहाँबाट यसको सुरुआत गर्ने भनेर उनले ठम्याउन सकेका हुँदैनन् । 

हत्या प्रकरणको खोजमूलक सामग्री बनाउन उनी भीमफेदी पुग्छन् । त्यहाँ उनले कसैलाई चिनेका हुँदैनन् तैपनि संयमपूर्वक स्थानीयवासीसँग घटनाको सत्यतथ्यबारे बुझ्छन् । तीन वर्षको अवधिमा गाउँमा उक्त घरभित्र दुईवटा हत्या भइसकेको हुन्छ । हत्या कसले र किन ग-यो भन्ने कसैलाई थाहा छैन । यही घटनाभित्र रुमलिएको कथा हो, चलचित्र ‘षट्कोण’ । 

घरभित्र धेरै रहस्य लुकेका छन् । ती रहस्यलाई रूपक बाहिर ल्याउन कति सफल हुन्छन् भन्ने कुरा चलचित्रले उजागर गर्न खोजेको छ । रूपक अपराधको घटनालाई पत्ता लगाउन सूक्ष्म र संयमित ढङ्गबाट रहस्य खोतल्न थाल्छन् । हत्याको छेउछाउ त पुग्छन् तर उनी नै त्यो हन्टेड घरभित्र अल्झिन पुग्छन् । रूपकले पहिलो दुई रात घरभित्र खासै केही प्रमाण पाउँदैनन् । केही रातपछि भने उनको मनमा चिसो पस्न थाल्छ ।  

चलचित्रभित्र छिनछिनमा देखा पर्ने घरको रेखदेख गरेर बस्दै आएका कलाकार भोलाराज सापकोटाले उनलाई त्यो रहस्यमय घरबाट टाढै रहन चेतावनीसमेत दिन्छन् तर रूपकलाई जे जसरी भए पनि त्यो घरभित्रको रहस्य पत्ता लगाउनु नै छ । यता प्रहरी निरीक्षकको भूमिकामा देखिएका कलाकार लोकेन्द्र लेखकले  चलचित्रको अन्त्यमा जब अर्यालको घरभित्र भएका हत्याहरूको रहस्य थाहा पाउँछन् तब उनीभित्र ठूलै तरङ्ग पैदा हुन्छ ।

चलचित्रमा तीन कलाकारलाई प्रमुख भूमिकामा देखाइएको छ । कर्मा, भोलाराज सापकोटा र लोकेन्द्र लेखक । पत्रकारको भूमिकामा देखिएका कर्माको अभिनय राम्रो छ । उनले आफ्नो अभिनय क्षमतालाई चलचित्रमा राम्ररी पस्कन खेजेका छन् ।

दर्शकले चलचित्र हेरेपछि पक्कै पनि उनको अभिनयमा केही फरक पाउनेछन् । कलाकार भोलाराज सापकोटाको भूमिका छोटो छ तर महत्त्वपूर्ण छ । उनले नै पूरा चलचित्रलाई घुमाएका छन् । अर्यालको भूमिकामा देखिएका उनी मानसिक रूपमा विक्षिप्त छन् । प्रहरी निरीक्षकको भूमिकामा लोकेन्द्र लेखकलाई सुहाएको छ । अन्य कलाकार दीपमाला परियार, सुयशा अधिकारी, विराज कडरिया, बालकलाकार असीम लामाको अभिनय औसत छ । 

मानसिक रूपमा विक्षिप्त मानिसहरूले गर्ने व्यवहारमाथि चलचित्र ‘षट्कोण’ केन्द्रित छ । घरको एउटा सदस्य मानसिक रूपमा अस्वस्थ छन् र उनले आफ्नो परिवारका सदस्यहरूलाई एकपछि अर्को गर्दै हत्या गर्छन् र अन्त्यमा आफैँ आत्महत्या गर्छन् । चलचित्रलाई साइकोलोजिकल थ्रिलर भन्दा पनि हुन्छ ।

चलचित्रमा हरर कम साइकोलोजिकल थ्रेट धेरै छ । यसका बीच पनि शिशिर लिम्बू वानेमको कथा र मिलन डी काप्रीको निर्देशनलाई दर्शकले अवश्य मन पराउनेछन् । फरक स्वादको चलचित्र मन पराउने दर्शकलाई चलचित्रले पक्कै पनि निरास बनाउनेछैन ।