विसं २०१२ मा वीरगन्जमा भएको नेपाली कांग्रेसको छैटौँ महाधिवेशनमा बिपीले प्रस्तुत गरेको समाजवादी घोषणापत्रका विभिन्न १८ प्रस्ताव पढेपछि तत्कालीन सभापति सुवर्णशमशेरले भन्नुभएको थियो, “हामीले समाजवादी व्यवस्था मात्र नेपालको बाटो हुन सक्छ भनी आफ्नो लक्ष्य बनाएका छौँ । समाजवादी व्यवस्था प्रजातन्त्रात्मक साधन र उपायबाट प्राप्त गर्न सङ्कल्प गरेका छौँ ।” यही नै कांग्रेसको सैद्धान्तिक प्रतिष्ठान भयो । विश्व राजनीतिले समाजवादको गोरेटाहरू खोजिरहेको त्यो बखत बिपीले बनाएको पार्टीको त्यो गर्भ सिद्धान्त आज नेपाली राजनीतिको पनि मूलबाटो बनेको छ ।
बिपी कोइराला को हुनुहुन्थ्यो ? नेपालमा अनि विश्व राजनीतिमा उहाँको योगदान र भूमिका कस्तो र कति थियो ? यी यावत् विषय एउटा सानो आलेखमा सायद नअटाउन सक्छ तर उहाँले नेपालको प्रजातान्त्रिक समाजवादको आन्दोलनलाई जसरी नेतृत्व दिनुभयो र एउटा राजनीतिक आदर्शको उज्यालो मार्गदर्शन गर्नुभयो त्यसले राष्ट्रका लागि विशाल राजनीतिक राजमार्ग खडा गरिदिएको थियो । समाजवादको लक्ष्य चुम्न आज जुन प्रकारको राजनीतिक ‘रेस’ चलिरहेको यो त्यही बिपी आदर्शले अड्याइराखेको एउटा बेमिसाल नासो हो । देशको हरेक ऐतिहासिक राजनीतिक मोडमा आफ्नो नेतृत्वदायी भूमिका निभाएको अनि राष्ट्रमा प्रजातन्त्रको बाटो पहिल्याएको कांग्रेस बिपी आदर्शको त्यही प्रतीक हो । अर्थात् बिपीले भन्नुभए जस्तै कांग्रेस क्रान्तिको प्रतीक हो अनि क्रान्तिपछि उदाएको प्रजातान्त्रिक शक्तिको एउटा प्रतीक हो । त्यसैले आज पनि नेपाली कांग्रेसले आफ्नो राजनीतिक इतिहासमा बिपी कोइरालालाई आफ्नो राजनीतिको प्रतीक नै मान्छ । कांग्रेस मात्रै होइन नेपाली राजनीतिमा उहाँले पहिल्याएको समाजवादी आदर्शलाई अहिले हरेक राजनीतिक दलहरूले पछ्याउँदै आएका छन् ।
त्यो एउटा अँध्यारो युग थियो नेपालमा । विश्वमा प्रजातन्त्रको बतास चलिरहेको थियो । नेपालमा भने राष्ट्र अनि नागरिकको ‘प्रतीक’ मानिने राजसंस्था राणाको मुट्ठीमा थिए । अर्थात् राजा अनि दरबार राणाको आदेशमा कैद थिए । संसारभरि चलिरहेको प्रजातान्त्रिक आन्दोलनको त्यो बतासका बाछिटा पनि नेपालमा आउँदै थियो । त्यो बेलादेखि नै सामाजिक राजनीतिक कर्मतिर झुकाव राखिरहेको नेपालको एउटा कोइराला परिवार पनि बिस्तारै राणा शासकका आलोचक हुन थाले । विद्रोहको त्यही चेत थियो, जहाँ कोइराला परिवार नेपाली राजनीतिको अविछन्न बिरासत बन्न सफल भयो । त्यही बेला प्रजातन्त्रका लागि फुट्दै गरेका आवाज थुन्नका लागि तत्कालीन राणा शासकले ‘देशद्रोह’ को बिल्ला भिराएर त्यो बेला धेरै योद्धालाई देश निकाला गरेका थिए । तीमध्ये एक थियो कृष्णप्रसाद कोइरालाको परिवार । त्यही बेला माता दिव्या कोइरालाको कोखमा विसं १९७१ भदौ २४ गते जन्मिएको एउटा जीवन थियो– नेपालको समाजवादी आन्दोलनलाई राजनीतिको मूलबाटोसँग गाँस्ने महामानव विश्वेश्वरप्रसाद (बिपी) कोइराला ।
समाजवादलाई बिपीले गरेको एउटा व्याख्यांश छ– ‘हलो जोत्ने किसान र गरिब गाउँलेको जीवनस्तर उकास्ने योजना जसले ल्याउँछ ऊ समाजवादी हो र त्यस्तो योजना नै समाजवाद हो ।’ अर्थात् बिपीले आफूले जीवन समर्पण गरेको जुन राजनीतिक बाटो त्यो त्यसलाई सधैँ जनता अर्थात् ‘कुलीन’ हरूका भाषामा भन्दा ‘भुइँफुट्टा’ वर्गलाई गाँस्ने प्रयत्न गर्नुभयो । उहाँले आफ्नो राजनीतिक लक्ष्यको केन्द्रमा सधैँ जनतालाई नै राख्नुभयो । त्यसैले उहाँले सधैँ भन्ने गर्नुहुन्थ्यो, “राष्ट्र भनेको मात्रै भूगोल वा माटो मात्रै होइन बरु राष्ट्रियता भनेको जनताको सामूहिक भावना हो ।” राष्ट्र, राष्ट्रियता अनि प्रजातन्त्रलाई राजनीतिमा यसरी जोडेर गरिएको राजनीति नै उहाँको व्याख्यामा वास्तविक समाजवादको आदर्श अँगालो राजनीति थियो । राष्ट्र अनि राष्ट्रिय भावना अर्थात् जनताको सर्वोच्चतालाई नै केन्द्रमा राखेर उहाँले जुन प्रकारको राजनीतिक संस्कारको निर्माण गर्नुभएको थियो, त्यसलाई कांग्रेस मात्रै होइन नेपालका कतिपय कम्युनिस्ट पार्टीहरूले पनि स्वीकार गरेको पाइन्छ ।
त्यो बेला बिपीको निधन भएपछि एउटा प्रतिक्रियामा कम्युनिस्ट नेता मनमोहन अधिकारीले भन्नुभएको थियो, “बिपीको निधनबाट सिङ्गो राष्ट्रले एउटा अभाव त सधैँ महसुस गर्ने छ, सँगसँगै नेपाली जनताले आफ्नो घाँटीमा अड्किएको भाषा बोलिदिने नेता गुमाएका छन् ।” जनतामा गुम्सिएर पनि उम्लिरहेको विद्रोहको भाषा बोलिदिने नेताका रूपमा मनमोहनले बिपीलाई अथ्र्याउनुभएको थियो । अहिले नेपालका धेरै कम्युनिस्ट पार्टीले अपनाएको समाजवादी क्रान्ति वा समाजवादको राजनीतिक बाटो पनि बिपी आदर्शको त्यही स्वीकारोक्ति हो ।
समाजवाद र लोकतन्त्रको आदर्श विम्बमा बनेको कांग्रेस आज देशको सबैभन्दा ठुलो पार्टी बनेको छ । यद्यपि सांसदहरूको अङ्क गणित मात्रैले राजनीतिमा महत्व राख्दैन । इतिहासमा हरेक पार्टीका आआफ्ना योगदान र भूमिका छन् । राष्ट्रिय राजनीतिमा सबैका आआफ्ना स्थान छन् । तथापि कांग्रेस नेपाली राजनीतिक ऐतिहासका धेरै घुम्ती पार गरेर यहाँसम्म आइपुगेको पार्टी हो । कांग्रेस र यसलाई नेतृत्व गर्नेहरूको एउटा विडम्बना के रह्यो भने हामीले कहिल्यै आफूले इतिहास लेख्ने अनि लेखाउने काम गर्नै सकेनौँ मात्रै त्यही इतिहास पानाहरूको रटान मात्रै लगायौँ अनि लगाइरह्यौँ र त्यसैलाई भजाइ खाने भाँडो मात्रै बनाइरह्यौँ ।
१९ औँ शताब्दीको अन्त्यतिर विश्वमा चलेको समाजवादी आन्दोलनले जन्माएको सामाजिक लोकतन्त्रको सिद्धान्तलाई बिपीले ९० को दशकतिर नेपाली राजनीतिको आधारभूत सिद्धान्तका रूपमा स्थापित गर्न थाल्नुभएको देखिन्छ । त्यसलाई उहाँले जनताको जीवनसँग जोड्दै राजनीतिक र आर्थिक अवधारणाका रूपमा विकास गर्नुभयो ।
विसं २०१२ मङ्सिरमा भएको छैटौँ महाधिवेशनमा बिपी कोइरालाले प्रस्तुत गर्नुभएको ‘समाजवादी’ घोषणापत्रमा यो सामाजिक लोकतन्त्रको यो सिद्धान्तलाई उहाँले यसरी व्याख्या गर्नुभएको छ–
पहिलो, समाजवाद भविष्यको लहर हो भन्ने भन्ने भनाइबाट हामी र हामीले अपनाएको राजनीतिक बाटो कत्ति पनि विचलित छैन । समाजवाद तेस्रो विश्व भनौँ या असंलग्न विश्वको स्वाभाविक मित्र हो । समाजवादको मियोमा बाँधिएनन् भने यो तेस्रो विश्वका देश या त फासिष्ट सैनिक तानाशाहीतिर जान्छन् या कम्युनिस्ट तानाशाही या कुनै सुधारविरोधी प्रतिक्रियावादी धार्मिक मौलिकतावादी तानाशाहीतिर । त्यस कारण हाम्रो तेस्रो विश्वका समाजवादीका अघिल्तिर एउटा ठुलो चुनौती छ । आज समाजवादको आकर्षणको केन्द्रविन्दु युरोपबाट हटेर तेस्रो विश्वमा पुगेको छ, जहाँ समाजवाद जीवनको एउटा प्रेरणादायी आदर्श र विकासको नमुनाका रूपमा सान्दर्भिक बनेको छ । नेपालको कुनै भविष्य छ भने, बाँच्ने एउटै मात्र उपाय त्यही हो ।
उहाँले त्यो घोषणापत्रमा मुख्यतया समाजवादका मुख्य दुई पाटालाई पनि उल्लेख गर्नुभएको छ । ती भनेको प्रथमतः राजनीतिक स्तरमा प्रजातन्त्र हो र अर्को भनेको आर्थिक क्षेत्रमा गरिब जनतालाई न्याय दिने विकास । यी दुई पक्षबिना गरिबी उन्मूलन गर्छु भन्नु र राजनीतिक स्वतन्त्रता ल्याउँछु भन्नु असम्भव कथा हाल्नु बराबर हो । यो केवल आदर्शको प्रश्न अथवा जीवनको उत्कृष्ट मूल्यमा विश्वास राख्ने प्रश्न मात्र होइन; यो जीवनमरणको प्रश्न पनि हो । भनेर उहाँले आफ्नो घोषणापत्रमा लेख्नुभएको छ ।
दोस्रो, समाजवादका लक्ष्यका सन्दर्भमा उहाँले भन्नुभएको छ– समाजवादको एउटा मुख्य लक्ष्य छ, जसले यस महान् आन्दोलनलाई प्रेरणा दिन्छ । त्यो हो–समानता । समानता भनेको–राजनीतिक तथा आर्थिक समानता । समानतालाई पनि उहाँले यसरी दुई व्यावहारिक परिभाषा दिनुभएको छ । पहिलो भनेको, समाज दैवीय संरचना होइन । त्यो विशुद्ध भौतिक व्यवस्था हो । जसको उद्देश्य हो, समाजका सदस्यहरूको सर्वाधिक कल्याण र सुरक्षा । कल्याण र सुरक्षाको अर्थ भौतिक हुन्छ आध्यात्मिक होइन । अनि अर्को हो समाजका सदस्यहरूको आकाङ्क्षा र आवश्यकता प्रायः समान हुन्छन् । अर्थात् सदस्यहरूको खाने, लाउने, बस्ने आवश्यकता प्रायः सबैको समान हुन्छ । उनीहरूको कला या विज्ञानको वृत्ति पनि प्रायः समान हुन्छ । जसका लागि आफ्नो वृत्तिको विकास गर्न सबैले समान अवसर पाउनु पर्छ । उहाँको यही समाजवादको व्याख्या र अर्थलाई आत्मसात् गर्दै त्यही अधिवेशनबाट नेपाली कांग्रेसले समाजवादलाई आफ्नो राजनीतिक सिद्धान्त र आदर्शका रूपमा अपनाइरहेको छ ।
आफ्नो निर्वासित जीवनको अन्त्य गर्दै २०३३ सालमा बिपी कोइराला नेपाल फर्किने निर्णय गर्नुभएको थियो । त्यो बेला उहाँलाई पत्रकारले सोधेका थिए, “नेपाल फर्किएपछि तपाईंलाई राजाले थुन्छन् वा मृत्यु दण्ड दिन्छन् किन नेपाल फर्किंदै हुनुहुन्छ ?” प्रश्नको जवाफमा बिपीले साधारण तरिकाले भन्नुभएको थियो, “राजासँग मेरो घाँटी जोडिएको छ ।” खासमा यो उहाँको प्रश्न छल्ने जवाफ मात्रै थिएन बरु त्यो एउटा तत्कालीन राजनीतिक अवस्थामा कसरी प्रजातन्त्रका लागि राजा अनि राजनीतिक दल र नागरिक मिलेर राष्ट्र बचाउन सक्छन् भन्ने एउटा विद्वत् दृष्टि थियो । बिपीले राजासँग आफ्नो घाँटी जोडिएको छ भन्नुको अर्थ आफू नहरे राजा पनि रहँदैनन् भन्ने थियो । अहिले फर्की हेर्दा राष्ट्रका हरेक सङ्कटकालीन मोडमा बिपीका तिनै राष्ट्रिय मेलमिलापका नीतिहरूले सबलाई एउटा राष्ट्रिय धागोमा गाँसिदिएको हुन्छ ।
नेपाली समकालीन साहित्यलाई उहाँले विश्वस्तरीय मञ्चमा परिचित गर्नुभयो र विश्व साहित्यिक विन्दुमा नेपाली साहित्यको विम्ब स्थापित गर्नुभयो । राजनीतिमा उहाँले हिँडेका गोरेटाहरू आज नेपाली राजनीतिको मूलबाटाहरू बनेका छन् । समाजवादको आदर्शलाई हरेक राजनीतिक दलहरूले आफ्नो सैद्धान्तिक गर्भमा राखेका छन् । कार्यकर्ता अनि परिवारका माझ उहाँ सान्दाजु बनेर प्रेमील हुनुभयो । राजनीतिक जीवनका करिब १६ वर्ष उहाँले नेपाल र भारतका जेलमा बिताउनुभयो तथापि राष्ट्र र प्रजातन्त्रका नाममा उहाँले कहिल्यै कसैसँग सम्झौता गर्न चाहनुभएन । बिपीलाई हामी एक महान साहित्यकार वा एक महामानव अनि एक राजनेताका रूपमा मात्रै होइन उहाँका अनेक व्यक्तित्वलाई हामीले एउटा नाममा वा घेरा र परिचयमा मात्रै सीमित पार्नै सक्दैनौँ । उहाँप्रतिको सच्चा श्रद्धाञ्जली त्यति बेला मात्रै हुने छ वा वास्तविक श्रद्धाले त्यो बेला मात्रै उहाँको आत्मा पुलकित हुने छ, जब नेपाली राजनीति उहाँले देखाएको लक्ष्य समाउन समाजवादको बाटोमा जनताको समृद्धि बोकेर अगाडि लम्किने छ ।