• २५ पुस २०८१, बिहिबार

अमेरिकी विदेशमन्त्री ब्लिन्केन पोल्याण्डमा

blog

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन

शेमिशल (पोल्याण्ड), भदौ २७ गते । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आगामी अमेरिकी निर्वाचन र रुसी आक्रमणले युक्रेनमा नयाँ उथलपुथल मच्चाइरहेका बेला युक्रेनबारे साझा धारणा बनाउन बिहीबार पोल्यान्डका नेताहरूसँग भेटवार्ता गर्नुभएको छ ।

युक्रेनी युद्धमा थप ऐक्यबद्धता जनाउन बेलायती विदेशमन्त्री डेभिड लामीसँग किएभको संयुक्त यात्रापछि शीर्ष अमेरिकी कूटनीतिज्ञ रेलबाट पोल्याण्ड जानुभएको हो ।

युक्रेनले रुसको भित्री भागसम्म आक्रमण गर्न हतियारको प्रयोगमा अनुमतिका लागि गरेको अनुरोधलाई तत्काल पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएका थिए । ब्लिन्केनले प्रधानमन्त्री डोनाल्ड टस्क र राष्ट्रपति आन्द्रेज डुडासँग वार्सामा छुट्टाछुट्टै भेटवार्ता गर्नुहुनेछ ।

घरेलु नीतिमा विभाजित भए पनि मस्कोको अँध्यारो ऐतिहासिक स्मृतिका साथ पोल्याण्डले सन् २०२२ मा रुसले आक्रमण गरेयता युक्रेनलाई समर्थन गर्न एकता देखिएको छ ।

ब्लिन्केनले राष्ट्रपति जो बाइडेनको प्रशासनको अन्तिम महिनाहरू युक्रेनका लागि व्यापक र दिगो समर्थन सुनिश्चित गर्न सहयोगीहरूसँग काम गर्न प्रयोग गर्ने आशा गर्नुभएको छ । युक्रेनले पश्चिमी सैन्य र आर्थिक सहयोग गरी अर्बौँ डलर प्राप्त गरेको छ ।

नोभेम्बर ५ मा हुने अमेरिकी चुनावले युक्रेनको सबैभन्दा ठुलो समर्थकको अडानलाई नाटकीय रूपमा परिवर्तन गर्न सक्छ । निर्वाचनपूर्वको एक बहसमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनलाई जिताउन चाहेको वा नचाहेको भनी बताउन अस्वीकार गर्नुभएको थियो ।

बाइडेनकी राजनीतिक उत्तराधिकारी कमला ह्यारिसले राजनीतिक रूपमा महत्त्वपूर्ण मानिएको पेन्सिलभेनिया राज्यमा पोल्याण्डको भूमिकाको ख्याल गर्दै पोलिश–अमेरिकी मतलाई प्रभावित पार्ने उद्देश्यले ब्लिन्केनलाई पोल्याण्ड पठाएको चर्चा पनि चलेको छ । पेन्सिल्भेनियामा गरेको सम्बोधनमा ह्यारिसले युक्रेनका लागि लडाई जारी राख्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“यदि अमेरिकाले युक्रेनलाई समर्थन नगरेको भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘किएभमा बसेर बाँकी युरोपमाथि आँखा लगाउने थिए,” ह्यारिसले भन्नुभयो ।

शीतयुद्धको अन्त्यपछि अमेरिकाको उत्साही सहयोगी पोल्याण्डले सन् २०१७ देखि २०२१ सम्म ट्रम्पको कार्यकालमा ट्रम्पसँग मिलेर काम गर्न चाहेको थियो । डुडाले गत अप्रिलमा न्यूयोर्कमा ट्रम्पसँग भेट गरी दुवैले एकअर्काको प्रशंसा गरेका थिए ।

गत वर्षको चुनावमा विजयी भएका युरोपकेन्द्रित टस्कले ध्रुवीकरणपछि लोकतन्त्र पुनः स्थापना गर्ने कुरा गरेका छन्, जुन बाइडेनको प्रमुख प्राथमिकता हो ।

बाइडेनले यस वर्ष टस्क र डुडालाई ह्वाइट हाउसमा संयुक्त रूपमा स्वागत गर्नुभयो र युक्रेनमा द्विदलीयता व्यवस्थाको स्थापनाको सङ्केत दिनुभएको थियो ।

ब्लिन्केनले युक्रेनमा पश्चिमी सैन्य सहयोगका लागि प्रमुख ‘लजिस्टिक गेटवे’ पोल्याण्डसँग थप समन्वयबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

रुसले युक्रेनमाथि आक्रमण गरेदेखि नै अमेरिकी हतियारको खरिदमा पनि पोल्याण्डले वृद्धि गरेको छ । पोल्याण्डले गत महिना बोइङसँग १० अर्ब अमेरिकी डलरमा ९६ वटा अपाचे अट्याक हेलिकप्टर खरिद गर्ने सम्झौता गरेको थियो । रासस/एएफपी