मानव शास्त्रीय दृष्टिकोणबाट हेर्दा स्वास्थ्य मानिस वा समुदायको एउटा भौतिक, मानसिक र सामाजिक अवस्था हो । यो जटिल जैविक, वातावरणीय र सामाजिक, सांस्कृतिक पक्षसँग अन्तरसम्बन्धित हुन्छ । स्वास्थ्य केवल रोगको अनुपस्थिति वा अभाव मात्र होइन, यो पूर्ण भौतिक, मानसिक र सामाजिक. अवस्था हो । त्यसैले मानव शास्त्रीले स्वास्थ्यलाई दैनिक काम गर्ने, सामाजिक भूमिका निर्वाह गर्ने र सांस्कृतिक अपेक्षा पूरा गर्ने अवस्था र क्षमतासँग सम्बन्धित हुने कुरामा बढी जोड दिन्छन् ।
स्वास्थ्यको परिणामलाई बुझ्ने तरिका पनि विभिन्न संस्कृति र अवस्थामा फरक फरक हुन्छन् । उदाहरणका लागि, पपुवा न्युगिनीका मानिस राम्रो स्वास्थ्य भन्नाले सामान्यतया सामुदायिक काम समूहमा गर्न सक्ने बल वा शक्ति र क्षमता बुझाउँछ तर धेरै पश्चिमा समाजमा भने स्वास्थ्यले धेरै जसो व्यक्तिगत आरोग्यता, कुशलता र रोकथाम गर्न सक्ने स्याहार वा सहयोगलाई बुझाउँछ ।
मानव शास्त्रीय दृष्टिकोणले स्वास्थ्य र रोगका बारेमा सामाजिक समूहले सांस्कृतिक रूपले व्याख्या गरिएको विषयगत अनुभवलाई गहिरोसँग विश्लेषण गर्छ । यसले मूलतः व्यक्ति र समुदायले कसरी रोगलाई बुझ्छन् अनुभव वा सामना गर्छन् भन्ने विषयमा अन्वेषण केन्द्रित गर्छ । कतिपय समाज वा संस्कृतिहरूमा रोग र स्वास्थ्यको अवस्थालाई प्राय जसो नैतिकता, भाग्य, अलौकिक विषय र सांस्कृतिक विश्वाससँग जोडिएको हुन्छ । कहीँ रोग हुनु भनेको नैतिक अपराधको रूपमा लिइन्छ भने, अन्यमा दुष्ट आत्माहरूको उपज हुने कुरामा पनि विश्वास गरिन्छ । हाम्रै समाजमा पनि रोगलाई पूर्वजन्मको कर्मर फल, भाग्य, गरिबी र नाजुक अवस्थालाई बुझ्ने गरिन्छ ।
स्वास्थ्यको मानव शास्त्रले स्थानीय तहमा उपचार गर्ने परम्परा र प्रचलनको महìवलाई पनि जोड दिन्छ । किनकि यिनीहरूले कसरी रोगलाई सामना गर्छन् भन्ने कुरामा उल्लेख्य प्रभाव पार्छन् । स्वास्थ्य र रोगको प्रतिच्छेदन नै मानव शास्त्रको नयाँ अन्वेषण गर्ने महìवपूर्ण आधार हो । इथ्नोग्राफिक विधिबाट विभिन्न समाजले कसरी स्वास्थ्य र रोगलाई फरक तरिकाले बुझ्न सक्छन् भन्ने विषयमा अध्ययन गर्न सकिन्छ । साथै, मानव शास्त्रीले स्थानीय उपचारदेखि विश्वव्यापी स्वास्थ्य नीति वा उपचार प्रणालीमा पनि गहिरो विश्लेषण गर्छन् । यो पद्धतिले स्वास्थ्य र रोगको समग्र बुझाइलाई जैविक आयामबाट माथि राखेर हेर्छ । मानव जीवनको जटिल प्रव्रिmयालाई व्यक्ति वा समुदायको दैनिकीसँग जोडेर व्यावहारिक रूपमा सम्बोधन गर्ने प्रयास गर्छ ।
स्वास्थ्यको मानव शास्त्रले मूलतः स्वास्थ्य र रोगको बुझाइमा फरक तर समग्र बृहत् दृष्टिकोण राख्छ । यसले मानव शास्त्र, सामाजिक विज्ञान र स्वास्थ्य उपचारसम्बन्धी एउटा यस्तो ढाँचा (फ्रेमवर्क) दिन्छ, जसबाट कसरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र भौगोलिक संरचनाले स्वास्थ्यका परिणामलाई प्रभाव पार्न सक्छन् भन्ने विषयमा थप अन्वेषण गर्न सहयोग पु¥याउँछ । अर्को अर्थमा यसले विभिन्न सामाजिक संरचनाले स्वास्थ्य र रोगलाई प्रभाव पार्ने तरिकाका साथै परम्परागत बायो मेडिकल मोडेललाई पनि चुनौती दिन्छ । यसरी स्वास्थ्य र रोगसँग अनुभव गरिएका खास गरी जैविक प्रक्रिया र व्यक्तिगत जीवनशैलीसँग सम्बन्धित बृहत् सामाजिक, सांस्कृतिक र राजनीतिक सन्दर्भलाई मसिनो गरी विश्लेषण गरिन्छ ।
संस्कृति, समाज र स्वास्थ्यको अन्तरसम्बन्ध
संस्कृति, समाज र स्वास्थ्यको अन्तरसम्बन्ध जटिल हुन्छ । यसले सांस्कृतिक मान्यता, मूल्य र सामाजिक संरचना र सम्बन्धहरूले कसरी स्वास्थ्य र रोगलाई प्रभाव पार्छ भन्ने मात्र होइन कि हामीले यसलाई कसरी अनुभव गर्छौं र व्यवस्थापन गर्छौं भन्ने विषयमा पनि जोड दिन्छ । जस्तै, मानसिक रोगको बारेमा आमजनताको बुझाइ र विश्वासलाई प्रभाव पार्ने सामाजिक–सांस्कृतिक मूल्य र मान्यता, उपचार लिन खोज्ने मानवीय व्यवहार वा सामाजिक असमानता जसले स्वास्थ्यको परिणाम वा सूचकमा प्रत्यक्ष प्रभाव पार्छन् ।
शक्ति र असमानता
स्वास्थ्यको मानव शास्त्रले कसरी सामाजिक–राजनीतिक संरचना र आर्थिक प्रणालीले समुदायको स्रोतहरूमा, स्वास्थ्य उपचारमा र समग्र स्वास्थ्य परिणाममा प्रभाव पार्छन् भन्ने मूल विषयमा केन्द्रित हुन सहयोग गर्छ । यसको गहिरो विश्लेषणबाट नै तथ्यमा आधारित स्वास्थ्य नीति र कार्यक्रमको आवश्यकता निर्धारण गर्न सजिलो हुन्छ । साथै यसले स्वास्थ्यका बृहत् सामाजिक निर्धारकलाई सम्बोधन गर्न उल्लेख्य मद्दत गर्छ । यसरी स्वास्थ्यमा देखिएका संरचनागत असमानतालाई न्यूनीकरण गर्न सकिन्छ ।
विश्वव्यापी प्रभाव
अहिलेको विश्वव्यापीकरण, आप्रवासन, जलवायु परिवर्तन, पुँजीवाद र नवउदारवादी बजार प्रणालीलाई नियाल्दा स्वास्थ्य क्षेत्र सुधारका लागि भइरहेका प्रयासमा मानव शास्त्रीय दृष्टिकोण समावेश गर्न अझ बढी सान्दर्भिक हुन्छ । यसले विश्वव्यापी रूपमा फैलिएका सामाजिक, आर्थिक नीतिहरूले कसरी स्थानीय स्वास्थ्य परिणामलाई प्रभाव पार्छन् भन्ने विषयमा बृहत् दृष्टिकोण दिन्छ, जसले आजका जटिल स्वास्थ्य चुनौती सम्बोधन गर्न थप सहयोग गर्छ ।
स्वास्थ्यमा संस्कृतिको प्रभाव
सामाजिक, सांस्कृतिक विश्वास र प्रचलनहरूको स्वास्थ्यमा महत्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्यको मानव शास्त्रले व्यक्ति वा समुदाय बस्ने ठाउँको अवस्था, खाना खाने बानी, दैनिक जीवनशैलीदेखि लिएर रोग र यसलाई उपचार गर्ने बुझाई र धारणालाई समावेश गर्छ । कतिपय समाज र संस्कृतिमा स्वास्थ्यसम्बन्धी समस्यालाई चिकित्सा अवस्था भन्दा पनि आध्यात्मिक सङ्कटका रूपमा लिइन्छ । व्यक्तिको रोगको अनुभव र उपचारका विभिन्न तरिका पनि स्थानीय सामाजिक–सांस्कृतिक अवस्थाबाट प्रभावित हुन्छ ।
रोग र उपचार पद्धति
कतिपय समाजमा रोगहरूलाई बायोमेडिकल लेन्सबाट मात्र हेरिन्छ, जसले जैविक कारण र औषधी उपचारको बाटो मात्र खोज्छ । यसको ठिक विपरीत कतिपय अवस्थामा रोगलाई मानिसको असन्तुलन वा आध्यात्मिक सङ्कटको रूपमा जोडिन्छ, जसको कारण समुदायले चिकित्सा व्यवसायीलाई भन्दा पनि आध्यात्मिक गुरु वा नेताहरू र परम्परागत रूपमा उपचार गर्ने स्थानीय व्यक्तिहरूलाई बढी विश्वास गर्छन् ।
सञ्चार र स्वास्थ्य सेवा हेरचाह
स्वास्थ्य सेवा हेरचाहमा सञ्चार महत्वपूर्ण मानिन्छ । यो कुनै ठाउँ विशेषको सामाजिक–सांस्कृतिक र राजनीतिक अवस्थाबाट प्रभावित हुन्छ । साथै भाषा, संस्कृति र रैथाने प्रचलन पनि उत्तिकै प्रभावी हुन्छन् । नबोलीकन गरिने सञ्चार जस्तैः आँखाको प्रत्यक्ष सम्पर्क, सङ्केत, अन्य भाषा विभिन्न संस्कृतिमा फरक फरक हुन्छ, जसले स्वास्थ्य हेरचाहमा गरिने व्यवहार र अन्य क्रियाकलापमा प्रभाव पार्न सक्छन् । त्यस कारण पनि सांस्कृतिक रूपले संवेदनशील स्थानीय स्वास्थ्य उपचार सेवाको आवश्यकता अझै बढ्दै गएको देखिन्छ ।
सामाजिक असमानताहरूको प्रभाव
सामाजिक असमानताले स्वास्थ्यको परिणाममा पार्ने दूरगामी प्रभाव उल्लेख्य छन् । यी असमानता फरक फरक सामाजिक समूहहरूका सामाजिक–आर्थिक अवस्था, जाति, लिङ्ग र स्वास्थ्य सेवामा हुने पहुँचको अवस्थाबाट निर्धारित हुन्छन् । यी महìवपूर्ण आयामहरूले मानवीय जीवनको आयु र गुणात्मक जीवन बाँच्ने कुरामा फरक ल्याउँछन् । अनुसन्धानबाट यो पुष्टि भएको छ कि सामाजिक असमानताले स्वास्थ्य परिणाममा नकारात्मक प्रभाव पार्छन्, जसको फलस्वरूप. उच्च मातृ मृत्युदर, कम औसत आयु र मानसिक स्वास्थ्यसम्बन्धी समस्याको साथै सङ्क्रामक र नसर्ने रोगहरूको वृद्धि आदि पर्छन् । साथै गरिबीमा बाँचेका समुदायको पोषणयुक्त खानाको पहुँचमा कमी, असुरक्षित आवासर गुणात्मक स्वास्थ्य सेवाको अभावले गर्दा स्वास्थ्यको परिणाम निराशाजनक देखिन्छन् ।
जाति, लिङ्ग र स्वास्थ्यमा असमानता
जाति र लैङ्गिक विभेदले गर्दा स्वास्थ्यमा उल्लेख्य असमानता पाइन्छ । उदाहरणका लागि जातीय र लैङ्गिक विभेदले सिर्जना गर्ने प्रणालीगत व्यवधान जस्तै : सामाजिक विभेद, स्वास्थ्य उपचारमा हुने पूर्वाग्रह र सामाजिक–आर्थिक अवस्थाको कारणहरूले स्वास्थ्यको परिणाममा नकारात्मक प्रभाव पार्छन् । त्यसै गरी सामाजिक रूपले सीमान्तकृत समुदायमा महिला, यौनिक अल्पसङ्ख्यक र अपाङ्ग व्यक्तिहरूले पनि स्वास्थ्य सेवाको पहुँचमा विभिन्न चुनौती भोग्दै आएका छन् ।
यसरी स्वास्थ्यको पहुँच र सेवा उपयोगमा भौगोलिक अवस्था, स्थानीय परम्परागत प्रचलन स्वास्थ्य सेवा दिने–लिने व्यवहार, सामाजिक–सांस्कृतिक अवस्था र संरचनागत प्रणाली महत्वपूर्ण मानिन्छन् । स्वास्थ्यको मानवशास्त्रले सामाजिक असमानतालाई सूक्ष्म अनुसन्धान गर्दै स्वास्थ्य नीतिको सामाजिक निर्धारकलाई पर्याप्त सम्बोधन गर्न जोड दिन्छ । यसले उपचारमा मात्र होइन, रोग वा खराब स्वास्थ्यलाई निम्त्याउने सामाजिक–सांस्कृतिक अवस्थालाई सम्बोधन गर्न आह्वान गर्छ । किनभने यसले समतामूलक स्वास्थ्य परिणाम प्राप्त गर्न सघाउँछ । अझै भन्नु पर्दा सीमान्तकृत समुदायको स्वास्थ्य अवस्था र जीवनशैली सुधार्न सहयोग गर्छ, स्वास्थ्यमा लाग्ने उपचारको खर्च घटाउँछ र स्वास्थ्यमा सर्वव्यापी पहुँच सुनिश्चित गर्दै स्वस्थ समाजको निर्माण गर्न उल्लेख्य भूमिका खेल्छ ।
निष्कर्षमा, स्वास्थ्यको मानवशास्त्रले हामीले बुझेको स्वास्थ्य र रोगको भाष्यलाई पुनः सोच्न, परिभाषित गर्नर हामीले स्वास्थ्य सेवालिन खोज्ने र उपभोग गर्ने व्यवहार र प्रक्रियालाई फरक तरिकाले सोच्न चुनौती दिन्छ । यी दृष्टिकोणबाट स्वास्थ्य प्रणाली प्रभावी मात्र नभई समतामूलक, जवाफदेही र उत्तरदायी हुन सक्षम र उत्थानशील पनि बनाउँछ । अन्ततः यी दृष्टिकोण र अवधारणाले विश्वव्यापी सीमान्तकृत समुदायको विभिन्न स्वास्थ्य आवश्यकताको प्रभावकारी सम्बोधन गर्न उल्लेख्य सहयोग पुर्याउँछ ।