• २६ पुस २०८१, शुक्रबार

कोलकाता पुर्‍याएर मिर्गौला तस्करी

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, भदौ २७ गते । भारतको कोलकाता पुर्‍याएर काठमाडौँका एक युवकको मिर्गौला तस्करी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरका अमन शाह र चन्द्रागिरिका नारान परियार रहेको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोही घटनामा संलग्न ललितपुर महालक्ष्मी–८ का ३७ वर्षीय शङ्कर खत्री र मकवानपुरको भीमफेदीका शान्तिमाया घलानलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । गत चैतमा कोलकातास्थित आमरी अस्पतालमा लगेर मिर्गौला बेच्ने समूहमा संलग्न भएको पुष्टि भएपछि उनीहरूलाई पक्राउ गरी अनुसान्धान अघि बढाएको ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार एउटा मिर्गौला निकाल्दा केही नहुने र १० लाख कमाउन पाउने प्रलोभन देखाएर शान्तिमाया घलानले आफ्नै खाजा पसलमा काम गर्ने ३२ वर्षीय युवकलाई मिर्गौला तस्करसँग भेटघाट गराएकी थिइन् । नारान परियारले मिर्गौला तस्करीको गिरोह सदस्य रहेको र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई प्रलोभनमा पारेर नक्कली कागजपत्रसमेत तयार गरी मिर्गौला तस्करी गर्ने गरेको खुलेको छ । 

यस्तो थियो घटना

काठमाडौँको सीतापाइलाका पीडित युवक गोङ्गबुस्थित शान्तिमाया घलानको खाजा पसलमा काम गर्थे । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितका घरमा श्रीमती र छोरी बिरामी परेपछि उपचार खर्च जुटाउन अनेक प्रयत्न गरिरहेका थिए ।

यसै क्रममा घलानले एउटा मिर्गौला बेचेर पैसाको जोहो गर्न सुझाव दिई तस्करी गिरोहका नारान परियारलाई भेट गराइन् । नारान परियार पनि १२ वर्षअघि एउटा मिर्गौला बेचेको र आफूलाई कुनै समस्या नभएको भन्दै पीडितलाई प्रलोभनमा पारेको खुलेको छ ।  

पक्राउ परेका जनकपुरका अमन शाहकी आमाको दुवै मिर्गौला खराब भएपछि उपचारका क्रममा थिए । उनीहरू पनि यस्तै आर्थिक समस्यामा परेका व्यक्तिको खोजीमा थिए । मिर्गौला तस्करी गिरोहको चिनजानमा रहेका नारान परियार र शाहबिच भेटघाट भएपछि पीडितलाई १० लाख रुपियाँ दिने प्रलोभन देखाएर सम्पूर्ण स्वास्थ्य जाँच गरी काठमाडौँबाट भारतको रक्सौल हुँदै पीडितलाई कोलकाता पुर्‍याइयो । 

पीडितलाई केही महिना निजी अपार्टमेन्टमा राखेर देवर नाता देखाएर मिर्गौला प्रत्यारोपणका लागि शारीरिक तथा कागजी प्रक्रिया प्रमाणित गरेर (नक्कली कागजपत्र) गत चैतमा पीडितको मिर्गौला शाहलाई प्रत्यारोपण गरियो ।

मिर्गौला निकालेपछि शाहले पीडितलाई एक लाख रुपियाँ मात्र दिएर बाँकी बैङ्क खातामा पठाउने भन्दै काँकडभिट्टा हुँदै काठमाडौँ फिर्ता पठाए । प्रहरी उपरीक्षक मिश्रका अनुसार १० लाख रुपियाँको प्रलोभन पारे पनि पीडितलाई पटक पटक गरी चार लाख रुपियाँ मात्र दिएको खुलेको छ ।

छोरी र श्रीमतीको उपचार गर्न भनी आफ्नै मिर्गौला बेचेका पीडित काठमाडौँ फर्किंदा बिरामी छोरीको मृत्यु भइसकेको र श्रीमती पनि सम्पर्कविहीन भइसकेका थिए । परिवार वियोगमा रहेका पीडित तस्करबाट ठगिएपछि मदिराको लतमा फस्न थाले । यही क्रममा आफन्त र नजिककाले ब्युरोलाई जानकारी गराएपछि मात्र घटनाको जानकारी पाएको ब्युरोले जनाएको छ । यससँगै मिर्गौला तस्करीमा सङ्गठित गिरोहकै सक्रियता रहेका केही सूचना पाएको र विस्तृत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।