• ११ पुस २०८१, बिहिबार

द्वन्द्वकालको प्रेमकथा असोज ३ बाट

blog

पोखरामा आइतबार आयोजित पत्रकार सम्मेलनमा चलचित्र ‘खुश्मा’ टिम। तस्बिरः फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी 

लेखनाथ, भदौ २३ गते। दश वर्षे सशस्त्र विद्रोहको उद्गम थलोका रूपमा परिचित रुकुम, रोल्पा अहिले पर्यटकीय स्थानसमेत बनेका छन्।  विद्रोह मौलाएका गाउँ घुम्ने एकातिर छन् भने त्यहीका कथा पुस्तक र पर्दामा पनि आइरहेका छन्।  सशस्त्र विद्रोह छेकको प्रेमकथामा केन्द्रित नेपाली चलचित्र खुश्मा यही असोज ३ गतेबाट प्रदर्शनमा आउँदै छ। 

चलचित्र प्रदर्शनअघि प्रचारप्रसारका क्रममा पोखरा आइपुगेको खुश्माको टोलीले आइतबार पत्रकारसँग अन्तर्क्रिया गरेको छ।  चलचित्र पत्रकार सङ्घ कास्कीको संयोजनमा भएको कार्यक्रममा ‘खुश्मा’का निर्देशक अशोक थापामगरले रुकुमको मैकोट, पोखरासहित मनाङमा चलचित्र छायाङ्कन भएको उल्लेख गर्नुभयो।  

चलचित्रकी नायिका उपासनासिंह ठकुरी मैकोटकी एक युवती (खुश्मा)को भूमिकामा हुनुहुन्छ।  नायिका ठकुरीले निकै रमाइलो ठाउँमा छायाङ्कन भएको र स्थानीय निकै सहयोगी रहेको स्मरण गर्नुभयो।  चलचित्रका निर्देशक थापामगरले माओवादी विद्रोहको आधारभूमीको मगर समुदायको कथा चलचित्रमा रहेको उल्लेख गर्नुभयो।  

“द्वन्द्वकालमा गाउँका युवाको प्रेम कथा हो।  उनीहरूको सङ्घर्ष, अनिश्चितता, त्यो समयको पीडितको स्वर चलचित्रमा छ,” उहाँले भन्नुभयो।  यसअघि वृत्तचित्रहरू निर्माण गर्नुभएका थापामगरको यो पहिलो फिचर फिल्म हो।  कलाकार माओत्से गुरुङले चलचित्रमा शिक्षकको भूमिका निर्वाह गर्नुभएको हो।  कलाकार थापा भन्नुहुन्छ, “यो घर, परिवार र सम्बन्धको मीठो कथा हो।  सशस्त्र विद्रोहको बेला पीडित भएकाहरूको चित्कार पनि यसमा छ। ”

चलचित्रमा उपसना सिंह ठकुरी, धीरज मगरसहित माओत्से गुरुङ, खड्कबहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउछा, अस्तित्व भट्टचन, सङ्गीता थापामगरलगायतको अभिनय छ।  

चलचित्रका निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, बेतान मगर, मानबहादुर मगर र सुस्मिता बुढाथोकी हुनुहुन्छ।  चलचित्रमा एसडी योगी र छान्जु पार्कले सङ्गीत दिनुभएको छ भने गीत सिर्जना सुरेन्द्र राना, राम अविरल विष्ट र निर्देशक थापामगरले गर्नुभएको छ।  

चलचित्रमा तीन करोड हाराहारी लगानी भएको निर्माण पक्षको दाबी छ।  फिल्ममा समावेश ‘रुकुम मैकोट’ बोलको गीत युट्युबको म्युजिकतर्फ ट्रेन्डिङ नम्बर एकमा छ।