• ९ जेठ २०८१, बुधबार

भ्रष्टाचार आरोपमा सप्तरीका प्रमुख जिल्ला इन्जिनियरसहित तीन जनाविरुद्ध मुद्दा

blog

काठमाडौं, वैशाख २७ गते। नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोपमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियरसहित तीन जनाविरुद्ध मङ्गलबार आरोपत्र दायर भएको छ।

 अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्रबहादुर श्रेष्ठविरुद्ध काठमाडौं विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

 अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार तीनै जनाले वास्तविक कामभन्दा बढी काम गरेको भनि गलत विवरण र बिल बनाई ६६ लाख ६४ हजार ६९३ रुपियाँ दिने र लिने कार्य गरेको आरोप छ। 

त्यस्तै, माँ जानकी निर्माण सेवा, अन्नपूर्ण कन्स्ट्रक्सन र एभरेष्ट निर्माण सेवासँगको मिलेमतोमा गैरकानुनी लाभ र नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याउने कार्य गरेको आरोपपत्रमा उल्लेख छ। 

ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमतर्फको नियमित सडक मर्मतसम्भार र रुख विरुवा रोप्ने कार्यअन्तर्गत जिल्ला प्रविधिक कार्यालय, सप्तरीबाट रुपनगर, सवारपुर, पथरी, घोघनपुरसमेतका सडक खण्डमा ग्रावेल सप्लाई गर्ने र बोटबिरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई भुक्तानी गरेको भन्ने आरोपमा अनुसन्धान गरेर आयोगले मुद्दा दायर गर्नुभएको हो।