गोरखापत्र समाचारदाता
काठमाडौँ, वैशाख ९ गते । अमेरिका र इरानबिच भएको दुई साताको अस्थायी युद्धविरामको समय बुधबार सकिँदै छ । दोस्रो चरणको शान्तिवार्ताका लागि अमेरिकाका उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउन लाग्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । इरानले भने वार्तामा कसलाई पठाउने भन्नेबारे निर्णय गरिनसकेको बताइएको छ ।
दुई देशबिच पाकिस्तानको इस्लामाबादमा भएको पहिलो चरणको वार्ता असफल भएको थियो । लगत्तै अमेरिकाले इरानका बन्दरगाहमाथि नाकाबन्दी लगाएको छ भने इरानले हर्मुज जलमार्ग पुनः बन्द गरेको छ । अमेरिका र इरानबिच जारी युद्धविराम अन्त्यतिर पुग्दै गर्दा दुवै पक्षले युद्धका लागि तयार रहेको चेतावनी दिएका छन् । ह्वाइट हाउसका अनुसार उपराष्ट्रपति भान्स इस्लामाबाद फर्केर दोस्रो चरणको वार्ता अघि बढाउने तयारीमा रहनुभएको छ । तर इरानले अमेरिकी कदमप्रति गम्भीर असन्तुष्टि जनाउँदै वार्तामा सहभागी हुने वा नहुने विषयमा मौनता कायम राखेको छ । तेहरानले अमेरिकामाथि आफ्ना बन्दरगाहमा नाकाबन्दी लगाएर र एक जहाज नियन्त्रणमा लिएर युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएको छ ।
इरान संसद्को सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकाले वार्तालाई दबाबको माध्यम बनाउन खोजेको आरोप लगाउँदै खतराको वातावरणमा वार्ता स्वीकार्य नहुने बताउनुभयो । उहाँका अनुसार पछिल्ला दुई सातामा इरानले युद्ध क्षेत्रमा नयाँ रणनीति देखाउने तयारी गरिरहेको छ । इरानको रिभोलुसनरी गाड्र्सले हर्मुज जलमार्गबाट अनुमतिबिना पार गर्ने जहाजलाई निशाना बनाइने चेतावनी दिएको छ ।
युद्धविरामको समयसीमा सकिन लाग्दा वार्तामा सहभागी हुने विषयमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान तयार हुनुपर्ने बताउनुभयो । उहाँले युद्धविराम समाप्त भए ठुलो स्तरमा आक्रमण सुरु हुन सक्ने चेतावनी दिनुभयो । यद्यपि युद्धविराम केही समय थपिने सम्भावना न्यून रहेको उहाँको भनाइ छ ।
अमेरिका–इरान वार्ताको अर्को महत्वपूर्ण मुद्दा इरानको प्रशोधित युरेनियम भण्डार पनि हो । ट्रम्पले इरान उक्त भण्डार हस्तान्तरण गर्न सहमत भएको दाबी गर्नुभएको थियो । तर इरानले उक्त दाबी अस्वीकार गर्दै युरेनियम कतै हस्तान्तरण नगरिने स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयले यस्तो विषय वार्तामा कहिल्यै विकल्पका रूपमा नउठाइएको दाबी गरेको छ ।
इरानको आणविक कार्यक्रमलाई इजरायलले ‘अस्तित्वकै खतरा’ का रूपमा व्याख्या गर्दै आएको छ । यही सन्दर्भमा अमेरिका र इजरायलले गएको फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण गरेसँगै युद्ध सुरु भएको हो । ४० दिनसम्म युद्ध भएपछि दुई साताका लागि युद्धविराम गरिएको हो ।
इजरायली अधिकारीका अनुसार गत वर्ष जुनमा १२ दिनसम्म चलेको युद्धपछि इरानले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने प्रयास गरेको थियो । सो युद्ध इजरायलको पहलमा सुरु भएको थियो, जसमा अमेरिकाले समेत सहभागिता जनाउँदै इरानका तीन वटा प्रमुख आणविक केन्द्रमा बम आक्रमण गरेको थियो ।