• २७ पुस २०८१, शनिबार

उरूटिया शरण लिन स्पेन गएको भेनेजुएला सरकारको दाबी

blog

काराकास, भदौ २३ गते । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको जुलाई २८ मा भएको पुनः निर्वाचनमा धाँधली भएको भनी विरोध गर्दै आएका विपक्षी उम्मेदवार एडमण्डो गोन्जालेज उरुटियाले स्पेनमा शरण लिन देश छोडेको भेनेजुएला सरकारले शनिबार जनाएको छ ।

गोन्जालेज उरुटिया एक महिनादेखि भेनेजुयलामा लुकेर बसिरहनुभएको थियो भने उहाँलाई सुनुवाइका लागि अभियोजनकर्तासमक्ष उपस्थित हुन लगातार तीन पटकसम्म पत्राचार गरिए पनि उहाँ अदालतसामु उपस्थित हुनुभएको थिएन ।

भेनेजुएलाका उपराष्ट्रपतिले सामाजिक सञ्जालमा लख्नुभएको छ, “केही दिनअघि काराकासस्थित स्पेनी दूतावासमा स्वेच्छिक रुपमा शरण लिएपछि उरुटियाले स्पेनी सरकारसँग राजनीतिक शरणका लागि आग्रह गर्नुभएको थियो ।

स्पेनी विदेशमन्त्री जोस म्यानुएल अल्बारेसले उरुटियाको आग्रहमा उहाँको सहयोगका लागि स्पेनी सेनाको विमानमा प्रस्थान गरेको पुष्टि गर्नुभएको छ । भेनेजुएलाका सबै नागरिकको राजनीतिक अधिकारका लागि स्पेन प्रतिबद्ध रहेको अल्बारेसले बताउनुभएको छ ।

उरुटियाका वकिल जोस भिसेन्ते हारोले पनि उहाँ स्पेन प्रस्थान गरेको एएफपीसँग पुष्टि गर्नुभएको छ ।  गत जुलाई २८ मा भएको निर्वाचनमा मडुरो विजयी भएको निर्वाचन आयोगको घोषणापछि भेनेजुएला राजनीतिक सङ्कटमा परेको छ ।

आयोगको घोषणा विपरीत उरुटियाले सहज मतान्तरले जितेको प्रमाण आफूसँग रहेको दाबी गर्दै विपक्षीले आक्रोश पोखेका थिए ।

संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र धेरै ल्याटिन अमेरिकी देश र सङ्घसंस्थाहरूले मडुरोलाई विजेताको रूपमा मान्यता दिन अस्वीकार गरेका छन् ।

चुनावपछि उरुटिया राष्ट्रपतिको सही विजेता भएको भन्दै विपक्षी दलले दाबी गरेको र उहाँलाई राष्ट्रपति बनाइनुपर्ने अडान राख्दै आन्दोलन गर्न थालेपछि  भेनेजुएलाका अभियोजनकर्ताहरूले उरूटियाविरूद्ध पक्राउ पुर्जी जारी गरेका थिए ।

भेनेजुएलाका विपक्षी नेताको बचाउ गर्ने वकिल जोएल गार्सियाले उरुटियालाई सरकारले आरोप लगाएका सबै आरोप लगाइएको खण्डमा ३० वर्षको जेल सजाय हुन सक्ने बताएका छन् ।

अधिकारीका अनुसार मडुरो ५२ प्रतिशत मतका साथ तेस्रो छ वर्षको कार्यकालका लागि पुनः निर्वाचित हुनुभएको छ । विपक्षीले आफ्नै मतदान रेकर्ड सार्वजनिक गरेको छ, जसमा गोन्जालेज उरुटियाले ६७ प्रतिशत मत प्राप्त गरेको उल्लेख छ ।

भेनेजुएलाको निर्वाचन प्राधिकरणले आफ्नो प्रणालीमा साइबर आक्रमण भएको आरोप लगाउँदै निर्वाचन परिणामको पूर्ण विवरण दिन नसक्ने बताएको छ ।

पर्यवेक्षकहरूले भने त्यस्तो कुनै पनि ह्याकिङको कुनै प्रमाण नभएको बताएका छन् ।

भेनेजुएलामा निर्वाचनपछि भएको हिंसामा २७ जनाको मृत्यु भएको छ भने १९२ जना घाइते भएका छन् । प्रशासनले करिब दुई हजार ४०० जनालाई पक्राउ गरेको जनाएको छ ।

चुनावअघि, उरुटिया कम चर्चामा रहेको सेवानिवृत्त कूटनीतिज्ञ हुनुहुन्थ्यो ।

मडुरोप्रति वफादार ठानिएका सरकारी संस्थाहरूले प्रमुख विपक्षी नेता माचाडोलाई चुनाव लड्न प्रतिबन्ध लगाएपछि उहाँ अन्तिम समयमा राष्ट्रपतिपदको उम्मेदवार बन्नुभएको थियो ।

भेनेजुएलामा सन् २०१८ मा पनि धाँधलीको व्यापक आरोपका बीच मडुरोलाई विजयी घोषित गरिएको थियो ।

प्राकृतिक इन्धनको खानीका लागि धनी राष्ट्र भेनेजुयलामा मडुरोले सन् २०१३ देखि राष्ट्रप्रमुखका हेसियतमा नेतृत्व गर्दै आउनुभएको छ ।

खराब घरेलु आर्थिक व्यवस्थापनका साथै अन्तर्राष्ट्रिय प्रतिबन्धबाट पीडित उहाँको कार्यकालमा कुल गार्हस्थ्य उत्पादनमा ८० प्रतिशतले गिरावट आएको छ र देशका तीन करोड नागरिकमध्ये ७० लाखभन्दा बढी आप्रवासी भएका छन् । रासस/एएफपी