• २० असोज २०८१, आइतबार

कर्णाली राजमार्ग स्तरोन्नतिमा बेवास्ता

blog

नवीन सुवेदी 

सुर्खेत, भदौ १९ गते । सुर्खेतबाट जुम्ला जोड्ने सडक हो, कर्णाली राजमार्ग । प्रदेश राजधानी वीरेन्द्रनगरबाट दैलेख, कालीकोट हुँदै कर्णाली नदीको किनारैकिनार भएर यो राजमार्ग जुम्ला पुग्ने गर्दछ । यो राजमार्गलाई कर्णाली विकासको मेरुदण्डसमेत मानिएको छ । राजमार्ग सञ्चालनमा आएयता सानादेखि भयानक दुर्घटना भएका छन् । दुर्घटनाको क्रम अहिले पनि रोकिएको छैन तर पनि सरकारले यो सडकको स्तरोन्नतिमा ध्यानै पु¥याउन सकेको छैन । खाल्डा टालटुलका लागि फाट्टफुट्ट बजेट आउने गरे पनि समग्र राजमार्ग विकासका लागि पर्याप्त बजेट नआउँदा सवारी दुर्घटना दिनप्रतिदिन बढिरहेका छन् ।

कर्णाली राजमार्गमा भएका सानादेखि ठुला दुर्घटनाका घटना थुप्रै छन् । घटना २०६३ चैतको हो । कालीकोटको हुल्मदेखि सुर्खेतका लागि प्रस्थान गरेको बस आफ्नै गतिमा हुइँकिरहेको थियो । बसमा साहु, चालक र सहचालकबाहेक ४७ यात्रु थिए । दैलेखको आठबिस नगरपालिकाको किटुबाट अघि बढ्न नपाउँदै यात्रुवाहक बसको टायरले सडकको ‘लिक’ छोड्यो । बस कर्णाली नदीमा खस्यो । आआफ्नै सपना बोकेर यात्रारत यात्रुको सपना त्यहीँ टुङ्गियो । 

उक्त दुर्घटनामा ४२ जनाले ज्यान गुमाए । जो कर्णाली राजमार्ग सञ्चालनमा आएयताको सबैभन्दा ठुलो र भयानक दुर्घटना थियो । त्यो कहाली लाग्दो दुर्घटनापछि राजमार्गमा यात्रा गर्ने जोकोहीलाई झस्काउँछ । कर्णाली राजमार्गमा दुर्घटनाको क्रम यतिमै सीमित रहेन । यात्रुवाहक सवारीसाधन दुर्घटना हुने क्रम बढिरहेको छ । २०६८ मा कालीकोटको सेराबाडामा भएको दुर्घटनामा २८ जना यात्रुले ज्यान गुमाए । २०७१ मा जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । 

त्यसबिचमा भएका दुर्घटनामा जुम्लाको गाडगडेनीमा १३, दैलेखको खिड्कीमा १४ र सुर्खेतको कल्याणकाधमा १५ को मृत्यु भएको थियो । नेपालगन्जबाट सुर्खेत हुँदै मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७, पिनाटप्ने खोलामा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएको थियो ।