• २७ पुस २०८१, शनिबार

कृषिमा लगानी बढाइने

blog

तस्बिर : गोरखापत्र

काठमाडौँ, भदौ १९ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सरकारले आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’ घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको बताउनुभएको छ । एसियाली विकास बैङ्क (एडिबी) का देशीय निर्देशक आर्नो कोस्वासँग मन्त्रालयमा भएको छलफलका क्रममा उहाँले यसका लागि उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने मन्त्रालयको लक्ष्यमा एडिबीबाट सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।

छलफलका क्रममा मन्त्री अधिकारीले एडिबीको सहयोगमा सञ्चालन भएका आयोजनाले नेपालको कृषि क्षेत्र तथा ग्रामीण अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पु¥याएको बताउनुभयो । उहाँले एडिबीको सहयोगमा सञ्चालित आयोजनाबाट राम्रो उपलब्धि हुँदाहुँदै पनि केही समस्या रहेकाले आगामी दिनमा सञ्चालन हुने आयोजनामा क्रमशः समस्या सुधार हुने धारणा राख्नुभयो । 

कृषिसँग सम्बन्धित उपजको मूल्य शृङ्खला विकास तथा प्रशोधनमा गरिने सहयोगले मूल्य शृङ्खला विकास भई कृषि उपजको मूल्य अभिवृद्विका साथै मूल्य शृङ्खलामा किसानको पहुँच र हिस्सा पनि वृद्वि गर्न मद्दत पुग्ने मन्त्री अधिकारीको भनाइ थियो । यसबाट किसानको प्रत्यक्ष हित हुने र ग्रामीण रोजगारी पनि सिर्जना हुने गरी एबिडीको सहयोगमा नयाँ आयोजना सञ्चालन हुने मन्त्री अधिकारीले बताउनुभयो । 

सो क्रममा एडिबीका देशीय निर्देशक कोस्वाले आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिँदै थप परियोजनाका सम्भावना खोज्न तयार रहेको बताउनुभयो ।