• ११ असोज २०८१, शुक्रबार

तिजमा सुनसान सुनचाँदी पसल

blog

काठमाडौँ, भदौ १९ गते । तिजका बेला सधैँ जसो भिडभाड हुने सुनचाँदी पसल यतिबेला सुनसान अवस्थामा छन् । तिज आउन तीन दिन मात्र बाँकी रहँदा बजारमा सुनचाँदीको कारोबारमा उत्साह छैन । मुख्य चाड तिज, दसैँतिहार सुनको कारोबार बढी हुने सिजन हो । सुनको मूल्य बढ्दा त्यसको प्रभावले यस पटक तिजमा सुनचाँदीको कारोबार अत्यन्त घटेको हो । 

अन्य समयको तुलनामा तिजमा सुनको कारोबार धेरै हुने गरेकोमा यो वर्ष नगन्य जस्तै भएको व्यवसायीको भनाइ छ । तिजका बेला सुनको कारोबार बढ्ने आशामा बसेका सुनचाँदी व्यवसायी कारोबार नबढ्दा निराश अवस्थामा छन् । लगातार सुनको मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा सुनचाँदीको माग कम भई कारोबारमा उलेख्य कमी आएको व्यवसायी बताउँछन् । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत वर्ष तीजमा दैनिक १५ किलोग्रामदेखि २० किलोग्रामसम्म सुनको कारोबार भएकोमा यस वर्ष कारोबार आधाले घटेर पाँचदेखि सात किलोग्राममा झरेको छ । 

गत वर्ष तिजको समयमा प्रतितोला एक लाख रुपियाँमा कारोबार भएको सुनको मूल्य मङ्गलबार एक लाख ५२ हजार रुपियाँमा कारोबार भएको छ । एक वर्षको अवधिमा बजारमा सुनको मूल्य तोलामा ५२ हजार रुपियाँले बढेको छ । यसले गर्दा पनि कारोबार बढ्न नसकेको व्यवसायीको भनाइ छ ।सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले लगातार सुनको मूल्य बढेको र उपभोक्ताको क्रयशक्ति न्यून हुँदा तिजको समयमा कारोबार बढ्न नसकेर बजार सुनसान अवस्थामा रहेको बताउनुभयो । “बजारमा सुनको माग कम हुँदा कारोबार घटेर २५ प्रतिशतमा झरेको छ, उहाँले भन्नुभयो, “व्यवसायीहरू पर्ख र हेरको अवस्थामा छन्, यही अवस्था लामो समयसम्म रह्यो भने व्यवसायबाट पलायन हुने अवस्था आउन सक्छ ।” बजारमा सुनको कारोबार बढ्न नसक्दा कतिपय सुनचाँदी व्यवसायी व्यवसाय छोडर विदेश गएको र अन्य व्यवसायतिर सिफ्ट हुन थालेको उहाँको भनाइ छ । 

विशाल बजारमा सुनका गहना खरिद गर्ने उपभोक्ताको सामान्य भिडभाड लागे पनि अन्य ठाउँका पसलमा सुनसान अवस्थामा रहेको उहाँको भनाइ छ । 

गत वर्षदेखि नै उकालो लाग्दै आएको सुनको मूल्य यस वर्ष निरन्तर बढेर भदौ पहिलो साता तोलामा एक लाख ५३ हजार रुपियाँ पुगेको थियो । जुन अहिलेसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा लगातार सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको व्यवसायीको बुझाइ छ । 

महासङ्घका पूर्वअध्यक्ष माणिकरत्न शाक्यले सरकारले चालु आवको बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशतमा पु¥याएपछि तोलामा सात हजार थप महँगो पर्न गएको जानकारी दिनुभयो ।  

सुनको मूल्य बढ्दा व्यवसायी र उपभोक्ता दुवैलाई प्रत्यक्ष असर परेको उहाँको भनाइ छ । अनिवार्य रूपमा आवश्यक पर्ने ग्राहकले पनि थोरै गहना किनेर काम चलाउने गर्दा बजारमा कारोबार बढ्न नसकेको उहाँको भनाइ छ । व्यवसायीका अनुसार सुनको मूल्य लगातार बढ्दा घरखर्च चलाउने नयाँ गहना खरिद गर्नेभन्दा पनि पुराना गहना बिक्री गर्ने ग्राहक बढी आउने गरेका छन् । 

न्युरोडका व्यापारी दिनेश गुप्ताले पछिल्लो समय ग्राहक सुनको मूल्य बढ्दै गएपछि नक्कली गहनातर्फ बढी आकर्षित हुँदै गएको बताउनुभयो । सुनका गहना लगाउँदा सुरक्षाको उच्च जोखिम हुने हुँदा र फेसनका रूपमा पनि ग्राहकहरू नक्कलीतिर बढी आकर्षित बन्दै गएको उहाँको भनाइ छ ।