• २७ पुस २०८१, शनिबार

२०७ मा स्क्रब टाइफस

blog

फाइल तस्बिर ।

गुणबहादुर रोका

सुलीकोट, भदौ १८ गते । गोरखामा साउन र भदौ महिनाको १८ गते आइपुग्दासम्म ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । २०७ जनामा स्क्रब टाइफस भएको छ ।

रिपोर्टअनुसार अत्यधिक मात्रामा डेंगु रोग सङ्क्रमण बढ्दै जाँदा झण्डै डेढ महिनाको अवधिमा गोरखामा ३७७ जनामा डेंगु सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । 

उहाँका अनुसार साउन १ गतेदेखि भदौ महिनाको १८ सम्म जिल्लाको गोरखा नगरपालिकामा २६२, पालुङटार नगरपालिकामा ४८, आरुघाट गाउँपालिकामा ४७, भीमसेन थापा गाउँपालिकामा १, सहिद लखन गाउँपालिकामा १२, अजिरकोट गाउँपालिकामा २, बारपाक सुलिकोटमा ३ र गण्डकी गाउँपालिकामा २ जनामा डेंगु सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । 

त्यस्तै, डेढ महिनामा गोरखामा २०७ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । जसमा गोरखा नगरपालिकामा ९१, आरुघाट गाउँपालिकामा ७३, पालुङटार नगरपालिकामा २९, सिरानचोक गाउँपालिकामा ८, भीमसेन थापा गाउँपालिकामा ३ र सहिद लखन गाउँपालिकामा ३ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका महामारी फोकलपर्सन नारायणबाबु अर्यालले बताउनुभयो । 

डेंगु विशेषगरी भदौ र असोजमा यो रोग देखिने भएता पनि अहिले साउन महिनाको सुरुदेखि गोरखामा अत्यधिक मात्रामा देखिन थालेको छ । यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यो लामखुट्टेले प्रायः बिहान र बेलुकाको समय टोक्ने गर्दछ ।  

यो लामखुट्टेले प्लाष्टिक, टिनका डब्बा, ड्रमहरू, पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुला पानीको ट्याङकी, आदिमा फुल पार्ने गर्छ । यी ठाउँमा जम्मा भएको पानीलाई सफा नगर्दा रोगको प्रकोप बढ्छ ।

डेंगु लाग्दा आँखाको गेडी तथा टाउको धेरै दुख्ने, शरीरमा बिबिरा आउने, मांसपेशी दुख्ने, टाउको धेरै दुख्ने, रक्तस्राव हुने, शरीर कटकटी दुख्ने तथा ज्वरो आउने लक्षण देखा पर्छ । 

डेंगु रोग लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न जिल्ला स्वास्थ्य कार्यालय गोरखाले ११ वटै स्थानीय तहलाई अपिल गरेको छ । जिल्लाका ९४ वडामा लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाका प्रमुख यामप्रसाद शर्माको भनाइ छ ।