• ८ मंसिर २०८१, शनिबार

मानव र डल्फिनबिच सहअस्तित्वको सम्बन्ध

blog

जलहारीसँगै पथरैया र गैरीखोलाको दोभानमा खेलिरहेको डल्फिन । तस्बिर : अविनाश चौधरी

धनगढी समाचारदाता

धनगढी, भदौ १८ गते ।  थारू समुदायका केही जलहारी माछा मार्दै छन् । पथरैया र गैरी खोलाको दोभानमा उनीहरूले पालैपालो जाल हान्दा विश्वमै दुर्लभ डल्फिन भने उफ्रिँदै रमाइरहेका छन् । माछा कहिले जलहारीको जालमा त कहिले डल्फिनको मुखमा परिरहेका थिए । लोभलाग्दो यस्तो दृश्य कैलालीको डल्फिन क्षेत्रमा देखिएको हो । 

“जाल हान्दा नजिकै आएर डल्फिन उफ्रिन्छन्, रमाउँछन्, माछा समाउँछन्,” स्थानीय एक जलहारीले भने । प्राणीजगत्मा मानवपछिको चेतनशील प्राणी डल्फिन हो । यी दुई प्राणीबिच पारस्परिक सम्बन्ध यहाँ देखिएको छ । 

दुर्लभ ‘गङ्गेटिक डल्फिन’ पाइने कतिपय देशमा मछुवाराहरूबाट यिनीहरूको सिकार भएको सुनिन्छ । कैलालीमा भने मछुवा र डल्फिनले आहारा प्राप्तिका लागि एकअर्कालाई सहयोग गरिरहेका छन् । डल्फिन संरक्षणकर्मी भोजराज ढुङ्गानाका अनुसार गहिराइमा भएका माछाहरूलाई लखेटेर डल्फिनले किनारसम्ममा पु¥याउने गर्छन् । त्यसपछि किनार पुगेका माछालाई जाल हानेर मछुवाले मार्ने गर्छन् । “उनीहरूले जाल हान्दा किनारको माछा फेरि गहिराइतिर भाग्छन्,” उहाँले थप व्याख्या गर्नुभयो, “मछुवाले धपाएका माछा समाउँदै, खाँदै डल्फिनहरू उफ्रेर रमाइरहेका हुन् ।” उहाँले यस्तो दुर्लभ दृश्य अन्यत्र देख्न नपाइने उल्लेख गर्नुभयो । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहेका ढुङ्गानाले भन्नुभयो, “मछुवा र डल्फिनले आहाराका लागि एकअर्कालाई सहयोग पुर्‍याइरहेको यो विरलै देखिने दृश्य हो । दुवैले आहारा प्राप्त गरिरहेका छन् । दुवैबिच कुनै द्वन्द्व छैन ।”

कैलालीको कर्णाली नदीमा वर्षभरि डल्फिन बस्ने गरे पनि मोहना र मोहनाका सहायक नदीहरू पथरैया, काँढा, कान्द्रामा वर्षायाममा डल्फिन आउने गरेका छन् । स्वच्छ पानीमा आहारविहार गर्न रुचाउने यो दुर्लभ जलप्राणी बच्चा हुर्काउन र आहाराको खोजीमा ससाना नदीमा आउने गरेको बताइन्छ । मोहना, पथरैयालगायतका नदीमा आहारा प्रजातिका माछा प्रशस्त मात्रामा पाइने गरेका कारण बर्खायामभरि बच्चासहितका वयस्क डल्फिन यी नदीहरूमा रमाउने गरेको जनाइएको छ । अर्धअन्धो यो जलप्राणीले तरङ्गमार्फत आहारा र खतरा पहिचान गर्ने गर्छन् ।  

कैलालीका नदीमा आउने डल्फिन र मानवबिच सहअस्तित्वको सम्बन्ध कायम रहेको संरक्षणकर्मी हिरूलाल डङ्गौराको ठम्याइ छ । उहाँले पथरैया र गैरीखोलाको दृश्य यस्तो सम्बन्धको गतिलो उदाहरण रहेको स्पष्ट पार्नुभयो । “आहाराका लागि मान्छेले डल्फिनलाई र डल्फिनले मान्छेलाई सघाउनु सहअस्तित्वको सम्बन्ध हो,” उहाँले थप्नुभयो, “यहाँ बाँच्नका लागि एकअर्कालाई सहयोग गरेको देखिन्छ ।” यहाँ डल्फिन रमाएको अवलोकन गरेर रमाउनका लागि स्कुले विद्यार्थीदेखि लिएर विदेशी पर्यटकसम्म कैलाली आउने गरेका छन् । मान्छे जस्तै बच्चा जन्माउने डल्फिनले बच्चालाई दुध चुसाउने गर्छन् । डल्फिनको आयु २० देखि २५ वर्षसम्म हुने गरेको छ । यिनीहरू एक सयदेखि १६० केजीसम्मको हुने गर्छन् । चुच्चाको आकारबाट भालेपोथी थाहा हुने गर्छ ।