• २८ पुस २०८१, आइतबार

डिडिसीलाई साठी करोड ऋण सहमति

blog

काठमाडौँ, भदौ १८ गते । अर्थ मन्त्रालयले सर्तसहित दुग्ध विकास संस्थान (डिडिसी) मा ६० करोड रुपियाँ ऋण लगानी गर्ने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दुधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्ने छ । 

चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानी अन्तर्गत एक करोड रुपियाँ बजेट व्यवस्था गरिएको थियो । कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपियाँ रकमान्तर गरी कुल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्न अर्थ मन्त्रालयले सहमति दिएको हो । यससम्बन्धी प्रस्ताव मन्त्रीपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणका रूपमा लगानी गर्ने छ । 

दुग्ध विकास संस्थानबाट दुधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दुधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबिच पटक पटक छलफल भएको थियो ।