• ११ पुस २०८१, बिहिबार

‘स्मार्ट लाइसेन्स’ को पीडा

blog

राज्यको तर्फबाट आमनागरिकलाई सेवा प्रवाह गर्ने जिम्मेवार प्राप्त निकायले जिम्मेवारीबोध नगरिदिँदा अधिकांश सरकारी निकायको सेवा प्रवाह प्रभावकारी नभएको नागरिक तहमा गुनासो सुनिँदै आएको छ । सरकारले आमनागरिकलाई सेवा प्रवाह गर्ने कार्यमा ढिलासुस्ती नगर्न र सहजै हुने कामलाई नअड्काउन पटक पटक दिएको निर्देशनसमेत अवज्ञा गरिएका उदाहरण प्रशस्त छन् । गर्नुपर्ने काम नगरिँदा कुनै किसिमको स्पष्टीकरण अथवा नसिहत बेहोर्नु नपर्ने भएपछि कर्मचारीमा अटेरीपनले जरो गाडेको अनुभूत हुन्छ । प्रधानमन्त्री तथा मन्त्री र सचिवले निर्देशन दिने तर त्यस्तो निर्देशन ‘हस्–हजुर’ मै सीमित रहने प्रवृत्ति कतिपय निकायमा यथावत् छ । सेवाग्राहीको अधिक चाप हुने तर बेथितिले घेरिएको आरोप लाग्ने गरेको यातायात व्यवस्था विभागको कार्यशैलीमा तत्काल चुस्तता ल्याउन प्रधानमन्त्री, मन्त्री, सचिवलगायतले पटक पटक निर्देशन दिएको स्मरणीय छ । 

सवारीचालक अनुमतिपत्र वितरणको वर्तमान अवस्था, विभागको प्रणालीमा देखिएका समस्या, जनस्तरमा उठेका विषय र विभागले निर्वाह गर्नुपर्ने भूमिकालगायतमा केन्द्रित रहेर विभागका पदाधिकारीसँग छलफल नभएको होइन । आमनागरिकको आलोचना, असन्तुष्टि र आक्रोशलाई गम्भीरतापूर्वक लिन भनिए पनि एक दशक अघिदेखिको समस्याले अझै निकास पाउन सकेको छैन । सवारीचालकलाई तत्काल र सहज सेवा दिने भन्दै विसं २०७२ देखि ‘स्मार्ट लाइसेन्स’ का नामबाट नयाँ प्रविधिको सवारीचालक अनुमतिपत्र दिने प्रक्रिया थाले पनि प्रारम्भदेखिकै समस्याले झनै जटिल रूप लिएको हो ।

‘स्मार्ट लाइसेन्स’ का लागि प्रक्रिया पूरा गरी राजस्वसमेत तिरेर सवारी अनुमतिपत्र पाउने पालो कुरेर बसेका सेवाग्राही नै १६ लाखभन्दा बढी छन् । सावरीचालक अनुमतिपत्रका लागि लिइने लिखित, प्राविधिक जाँच र प्रयोगात्मक परीक्षा उत्तीर्ण गरेर अनुमतिपत्र पाउन तीन वर्षभन्दा बढी समयदेखि कुर्नु परेको सेवाग्राहीको गुनासो जायज हो । कतिसम्म भने सवारीचालक अनुमतिपत्र माग गर्नेले सरकारलाई तिरेको राजस्वको रसिद नै अनुमतिपत्रका रूपमा ट्राफिक प्रहरीलाई देखाएर सवारी चलाइरहेका छन् । रसिदलाई सुरक्षित राख्न लेमिनेसन गरेर बोक्नु परेको सेवाग्राहीको गुनासो एकातिर छ भने अर्कोतिर १६ लाख जनाको मोटरसाइकल चालक अनुमतिपत्रको मात्रै राजस्व प्रतिव्यक्ति दुई हजार रुपियाँका दरले तीन अर्ब २० करोड रुपियाँभन्दा बढी यातायात व्यवस्था विभागले उठाइसकेको छ । अन्य सवारीको पनि हिसाब गर्ने हो भने यो रकम चार अर्ब नाघ्ने छ । हालसम्म ४० लाखप्रति ‘स्मार्ट लाइसेन्स’ छपाइ गरिसकेको यातायात व्यवस्था विभागले जानकारी दिएको भए पनि ‘स्मार्ट लाइसेन्स’ भनिएकै पनि विगतमा नक्कली जारी भएकाले केही कर्मचारीउपर कारबाही प्रक्रिया अघि बढाइएको छ । 

सवारीचालक अनुमतिपत्र लिन ‘ट्रायल’ परीक्षाको फारम भर्नकै लागि समस्या हुने गरेको सेवाग्राहीको गुनासो छ । ‘ट्रायल’ मा उत्तीर्ण हुनै गाह्रो, भएपछि पनि अनुमतिपत्र पाउन बसौँ कुर्नुपर्ने र दुःख कष्टपछि हात परेको अनुमतिपत्र पनि सक्कली त हो ? भन्ने त्रासमा रहनुपर्ने सवारी वाहकको गुनासो यथार्थ हो । यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशकहरू नै यस किसिमको कार्यमा दोषी देखिएको यातायात व्यवस्था विभागद्वारा गठित छानबिन समितिको प्रतिवेदनले औँल्याएको छ । हालसम्म ५० लाखभन्दा बढी सवारीचालक अनुमतिपत्र जारी भइसकेको अवस्थामा यस बिचमा निधन भएका, विदेश गएका तथा नवीकरण गर्न नआएकाको नम्बरमा नयाँ व्यक्तिको विवरण राखेर ७३ हजारभन्दा बढी लाइसेन्स बाँडिएको छ । 

ठुलो परिमाणमा सेवाग्राही संलग्न हुने सरकारी सेवा प्रवाह गर्न पूर्वतयारी नै नगरी निर्णय गरिने परिपाटी समस्याको जड हो । समस्याको गाँठो नफुकिरहेको अवस्थामा अब सवारीचालक अनुमतिपत्रको समस्या समाधान गर्न भन्दै प्रदेशबाट समेत वितरण गर्न दिने गरी पहल सुरु भएको छ । प्रदेश सरकारले प्रदेशबाटै क्युआर कोडसहित लाइसेन्स छपाइ गर्ने भनिए पनि त्यसमा बजेट र पूर्वाधार सबै प्रदेशमा छैन । गत साउन ३२ गते केन्द्रीय तथ्याङ्क विभागमै रहने गरी देशभर एउटै मापदण्ड र स्पेसिफिकेसन अनुसार प्रदेशले चालक अनुमतिपत्र छपाउन तत्काल खरिद प्रव्रिmया अगाडि बढाउने निर्णय गरिएको छ । यद्यपि सङ्घीय सरकारले दुई वर्षअघि नै प्रदेशबाट छपाइ गर्ने निर्णयसहितको निर्देशन दिएको थियो । ‘स्मार्ट लाइसेन्स’ छाप्ने मेसिन, सफ्टवेयर निर्माण, कार्ड खरिदलगायतका काममा प्रदेश कार्यालय अन्योलमा छन् । सवारीचालक अनुमतिपत्र जस्तै अन्योलमा रहेको राष्ट्रिय परिचयपत्रसँगै यसलाई पनि जोड्नेतर्फ सरकारले अध्ययन थालेको छ । राष्ट्रिय परिचयपत्रका सबै प्रक्रिया पूरा गरेर पनि नपाएको सेवाग्राहीको गुनासो आइरहेका बेला ‘साँप्रोमाथि पिँडो थप’ गरिँदा झनै अन्योल हुने देखिन्छ ।