• २२ असार २०८२, आइतबार

प्रधानमन्त्री ओली पुल उद्घाटन गर्न हुम्ला आउनुहुँदै

blog

प्रधानमन्त्री केपी शर्मा ओली

राजन रावत 
हुम्लाा, असार २२ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली बेलिब्रिजको उद्घाटन गर्न आइतबार हुम्ला आउँदै हुनुहुन्छ । काठमाडौँबाट हेलिकोप्टरमा प्रधानमन्त्री आज बिहान १० बजे हुम्लाको खार्पुमा आइपुग्नु हुने कार्यतालिका रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो  ।

प्रधानमन्त्री ओलीले खार्पुमा निर्माण भएको नयाँ बेलिब्रिज पुल उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । आइतबारको उद्घाटन कार्यक्रमको सबै तयारी पूरा भइसकेको पनि उहाँले बताउनुभयो ।

उद्घाटनपछि सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने भएको छ । हुम्लाको सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने योजना बनेपछि खार्पुको दोजाम कर्णाली नदीमा नेपाली सेनाले बेलिब्रिज निर्माण गरेको हो ।

राष्ट्रिय सडक सञ्जालमा जोड्न नसकेको नेपालको एक मात्रै हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटलाई सडकसँग जोड्ने भएको छ ।

प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वधार मन्त्री देवेन्द्र दाहाल पनि जिल्लामा आउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली हुम्ला आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था पनि थप कडाइ गरिएकोे छ । कर्णाली कोरिडोर भएर राष्ट्रिय सडकसँग जोड्नका लागि नेपाली सेनाले असार १० गते बेलिब्रिज निर्माण कार्य सम्पन्न गरेको थियो ।

छोटो समयमै नेपाली सेनाले काम सम्पन्न गर्दा हुम्लावासीले खुसी व्यक्त गरेका छन् । हुम्लालाई सडकसँग जोड्नका लागि नेपाली सेनाको चौध बाइनी निर्माण टोली चैत १० गते हुम्ला पुगेका थिए ।