• १६ भदौ २०८१, आइतबार

मुख्यमन्त्री चढेको हेलिकोप्टर आकस्मिक अवतरण

blog

आकस्मिक अवतरण गरिएको हेलिकोप्टर। तस्बिर : राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, भदौ १६ गते। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुम पश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ।  आइतबार दिउँसो ३:२५ बजे आठबिसकोट नगरपालिका ९ राडिस्थित रङ्गशालामा हेलिकोप्टर अवतरण भएको हो। 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलका अनुसार डोल्पाबाट सुर्खेतका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो। सिम्रिक एयरको (कलसाईन नाईन एन-एकेडी) हेलिकोप्टर आकस्मिक अवतरण भएको हो। 

उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताइएको छ। हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलकी श्रीमती, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक सवार हुनुहुन्थ्यो।

लगातार वर्षा भएर मौसम खराब बन्दा हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीको भनाइ छ। अहिले मुख्यमन्त्री सहितको उक्त टोली आठबिसकोट नगरपालिकाको राडि बजारमा रहेको एक होटेलमा सुरक्षित रुपमा छ। मौसममा सुधार आएमा आजै उहाँहरु सुर्खेततर्फ प्रस्थान गर्ने कार्यक्रम छ। 

डोल्पामा सञ्चालित एक मेलाको अवलोकन र पवित्र धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि उहाँ डोल्पा जानुभएको छ।