• १६ भदौ २०८१, आइतबार

सप्तरीका तीन स्थानीय तहले ल्याउन सकेनन् बजेट

blog

देवरामप्रसाद यादव

सप्तरी, भदौ १६ गते । सप्तरीको १८ स्थानीय तहमध्ये तीन पालिकाले तोकिएको समयमा बजेट नीति तथा कार्यक्रम ल्याउन सकेका छैनन् । राजविराज, हनुमाननगर कंकालिनी, र डाकनेश्वरी नगरपालिकाले निर्धारित समयमा बजेट ल्याउन सकेको छैन । 

आन्तरिक किचलो, आपसी मनमुटाव, जनप्रतिनिधिहरुको बेवास्ता र व्यस्तताको कारण ती पालिकाहरुलाई बजेट ल्याउन कठिनाइ भएको दावी गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० गतेभित्र बजेट नीति तथा कार्यक्रम ल्याउनुपर्ने व्यवस्था छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा (१) तथा अन्तर सरकार वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ को उपदफा (३) ले गाउँ कार्यपालिका र नगर 

कार्यपालिकाले आगामी आर्थिक वर्षको लागि असार १० गतेभित्र राजश्वर र व्ययको अनुमान सम्वन्धित गाउँ र नगरसभामा पेश गरी स्वीकृत भएपश्चात् मात्र खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

सप्तरीको छिन्नमस्ता, विष्णुपुर, महादेवा, तिलाठी कोइलाडी, तिरहुत, बलान विहुल, अग्निसायरकृष्णसवरण, राजगढ, रुपनी गाउँपालिका र सप्तकोशी, कञ्चनरुप, खडक, सुरुङ्गा बोदेवर्साइन, शम्भुनाथ नगरपालिकाले तोकिएकै समयभित्र नगर तथा गाउँ सभा सम्पन्न गरिसकेको छ ।