• १६ भदौ २०८१, आइतबार

बिचल्लीमा बाढीपहिरोपीडित

blog

बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै ।

दार्चुला समाचारदाता

दार्चुला, भदौ १६ गते । दार्चुलाको मार्मा गाउँपालिकाका बाढीपहिरोपीडित परिवार समस्यामा परेका छन् । मार्मामा साउनमा आएको बाढीपहिरोबाट ३६ परिवार प्रभावित भएका छन् । मार्मा गाउँपालिका–४, मर्मतीका २३ परिवार; वडा नं. ५ गन्याडीका छ परिवार र मुरैका दुई परिवार, वडा नं. ६ का तीन परिवार र वडा नं. ३ का दुई परिवार गरी ३६ परिवार यो वर्ष बाढीपहिरोको चपेटामा परेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो । 

बाढीपहिरोपीडितले राहत र पुनस्र्थापनाको माग गरिरहेका छन् । अहिले ती परिवार स्थानीय विद्यालय र आफन्तकोमा बसेर रात बिताइरहेका छन् । बाढीपहिरोले पशुधनको क्षति भएको र अहिलेकै अवस्थामा हिउँदमा समेत घरमा बस्न सकिने स्थिति नरहेको स्थानीय चन्द्रा विष्टले बताउनुभयो । 

घरको तल्लो क्षेत्रबाट चमेलिया नदीले कटान गरिरहेको र माथिबाट पहिरोले च्यापेपछि बिचल्ली भएको उहाँको भनाइ छ । खानबस्नै समस्या भएको तथा पहिरोले त्रिपालमुनिको बास भएको विष्ट दम्पतीको दुःखेसो छ । अर्का स्थानीय हेमन्ती विष्टले श्रीमान् विदेशमा रहेको र घरमा बालबच्चासहित बसिरहेका बेला मध्यराति बाढीपहिरोले च्यापेपछि सास्ती भोग्नु परेको र आफन्तकोमा बसेर रात बिताइरहेको बताउनुभयो । 

बाढीपहिरोले मर्मतीगाउँमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ । निर्माणाधीन तपोवन–मुरै–निम्ठा सडकका कारण बाढीपहिरो निम्तिएको स्थानीय भीमराज विष्टले बताउनुभयो । 

गाउँमाथिबाट राति १२ बजे आएको पहिरोले घरभित्रको सामान र पशुचौपाया निकाल्न नसकेको र पशुवस्तु प्रहरीको सहयोगमा दोस्रो दिन निकाले पनि अझै कतिपय सामान पहिरो पुरेको उहाँको भनाइ छ । पालिका, प्रदेश र केन्द्र सरकारबाट ठुलो सहयोगको अपेक्षा गरे पनि अहिलेसम्म उचित सम्बोधन हुन नसकेको स्थानीय दानबहादुर विष्टले बताउनुभयो । 

बाढीपहिरो प्रभावित क्षेत्रमा शुक्रबार एमाले नेता गणेशसिंह ठगुन्ना नेतृत्वको टोली र केही दिनपहिले दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य दिलेन्द्रप्रसाद बडू, मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी नेतृत्वको टोलीले स्थलगत निरीक्षण गरी स्थानीयसँग भेटघाट गरेको छ । स्थलगत अवलोकन गर्नुका साथै स्थानीयको दुःख पीडा सुनिसकेपछि नेता ठगुन्नाले पीडितलाई राहतको व्यवस्थाका लागि आफूहरू सबै लागिपरेको बताउनुभयो । 

तत्काल सुरक्षित बसेर ज्यान जोगाउन, खानबस्न समस्या भए व्यवस्थापन गरिने, पहिरोको व्यवस्थापन र राहत पुनस्र्थापनाका लागि पहल भइरहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीलाई भेटेर बाढीपहिरोपीडितको राहत, पुनस्र्थापनाका लागि माग गरिएको र सरकारले छिटो उचित सम्बोधन गर्नुपर्ने उहाँको भनाइ छ ।