• २८ पुस २०८१, आइतबार

‘हसिनालाई भारतबाट फिर्ता गर्न आग्रह गर्न सकिन्छ’

blog

पूर्व प्रधानमन्त्री शेख हसिना

ढाका, भदौ १५  गते । पूर्व प्रधानमन्त्री शेख हसिनाको सुपुर्दगीका लागि आग्रह गर्न सक्ने बङ्गलादेशका अधिकारहिरूले बताएका छन् ।

बङ्गलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार मोहम्मद तौहिद होसेनले शेख हसिनाविरुद्ध मुद्दा बढिरहेका बेला आफ्नो देशले पूर्वप्रधानमन्त्री हसिनालाई फिर्ता गर्न भारतसँग आग्रह गर्न सक्ने बताउनु भएको हो। यसले भारत सरकारलाई अफ्ठ्यारोमा पार्न सक्ने उहाँले बताउनु भएको छ । 

ढाकामा रोयटर्स टिभीलाई दिएको विशेष अन्तर्वार्तामा होसेनले बताउनुभएको हो, “उहाँको विरूद्धमा धेरै मुद्दा छन् । उहाँ भारतको राजधानी दिल्लीमा बस्दा प्रश्न उठ्न सक्छ । 

यदि गृह मन्त्रालय र कानून मन्त्रालयबाट अनुरोध आयो भने हामीले उहाँलाई बङ्गलादेश फर्काउन आग्रह गर्नुपर्ने हुनसक्छ र त्यसले भारत सरकारका लागि लज्जाजनक स्थिति सिर्जना गर्छ ।”

“भारत सरकारलाई यो थाहा छ र मलाई लाग्छ उनीहरूले यसलाई गम्भीर रूपमा लिनेछन्,” होसेनले भन्नुभयो । 

बङ्गलादेशमा आन्दोलनमा उच्च सहभागिता देखिएपछि र यो सिधै प्रधानमन्त्रीको कार्यालयतर्फ लक्षित भएपछि हसिना गत अगष्ट ५ मा हेलिकप्टरमार्फत् भारत पुग्नुभएको थियो। त्यसपछि बङ्गलादेशका सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजिनामा दिएको घोषणा गर्नुभएको थियो। 

हसिना प्रधानमन्त्री रहेका समय विद्यार्थी समूहले सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षणमा व्यापक अनियमितता हुने गरेको भन्दै यसको खारेजीका लागि शुरू भएको आन्दोलन अन्ततः हसिनाको सत्ता बहिर्गमनको कारक बन्न पुगेको थियो । उहाँविरुद्ध विद्यार्थीहरूको नेतृत्वमा भएको विद्रोह हिंसात्मक बनेको थियो।

ढाका ट्रिब्युनका अनुसार हसिनासहित २४ जनाविरुद्ध नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा मानव अधिकार उल्लङ्घन गरेको आरोपमा उजुरी दर्ता गरिएको छ ।

बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार मानवअधिकार उल्लङ्घनबाहेक हसिनाविरुद्ध थुप्रै मुद्दा दर्ता भएका छन् ।

मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकार पूर्व प्रधानमन्त्री हसिनाले भारतमा बसेर दिने अभिव्यक्तिप्रति ’निकै दुःखी’ रहेको र यसबारे भारतीय राजदूतलाई एक भेटमा अवगत गराएको वर्तमान सरकारका विदेश मामिला सल्लाहकार होसेनले बताउनुभएको छ । 

होसेनले रोयटर्स टिभीलाई दिएको अन्तर्वार्तामा भन्नुभएको छ, “पूर्व प्रधानमन्त्रीबाट भारतबाट जसरी वक्तव्य आइरहेका छन्, त्यसबाट वर्तमान् सरकारका प्रमुख प्रोफेसर युनुस निकै दुःखी हुनुहुन्छ। मैले यो कुरा भारतीय उच्चायुक्तलाई अवगत गराएको छु।”

उहाँले रोयटर्स टिभीसँगको अन्तर्वार्तामा अगाडि भन्नुभयो, “मैले प्रेसलाई पनि भनेको छु कि हामी पारदर्शी सम्बन्धमा विश्वास गर्छौँ । त्यसैले हामीले यो सन्देश दिएका हौँ । वास्तवमा त्यहाँ केही गोप्य आधारहरू हुन सक्छन्। हामी आशा गरौं कि उनीहरूले सम्बन्धमा दरार आउने गतिविधिबारे सोचविचार गर्नेछन्।” 

होसेनले सेप्टेम्बरसम्ममा बङ्गलादेशमा निर्वाचनको सम्भावनाबारे समयसीमाबारे जानकारी आउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “सल्लाहकार परिषदमा रहेका मेरा सबै सहकर्मीहरू वातावरणलाई सामान्य अवस्था फर्काउने काममा निकै व्यस्त छन्। मलाई लाग्छ सेप्टेम्बरदेखि सबै कुरा सामान्य हुनेछ, सामान्य अवस्था र सामान्य काम गर्ने तरिका सुरु हुनेछ।”

रोहिङ्ग्यालाई शरण दिने विषयमा होसेनले बङ्गलादेशले आफ्नो हिस्साभन्दा बढी काम गरेको र थप रोहिङ्ग्या प्रवेश गर्न दिन सक्ने अवस्थामा नरहेको बताउनुभयो। उहाँले भारतलगायत अन्य देशले पनि यसको जिम्मेवारी लिनुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, “हामी थप रोहिङ्ग्या प्रवेश गर्न दिन सक्ने अवस्थामा छैनौं । यो एउटा मानवीय मुद्दा हो, जसले बङ्गलादेशलाई मात्र होइन, पूरै विश्वलाई समेटेको छ । हामीले आफ्नो हिस्साभन्दा बढी काम गरेका छौं र यसको जिम्मा विश्वले लिनुपर्छ।” 

अन्तर्वार्तामा होसेनले भन्नुभयो, “अन्य देशहले उचित देशमार्फत अहिले रखाइन राज्यको मुख्य अभिनेता अराकान सेनामाथि दबाब दिनुपर्छ।” 

ढाका ट्रिब्युनको रिपोर्टअनुसार बङ्गलादेशको अन्तरिम सरकारले हसिना, उहाँका सल्लाहकार, क्याबिनेटका पूर्व सदस्यहरू र १२ औं राष्ट्रिय संसदका सबै सदस्यको राहदानी रद्द गरेको छ।

बङ्गलादेशको अन्तरिम सरकारले आफ्ना पति वा पत्नी र छोराछोरीको कूटनीतिक राहदानी पनि तत्काल प्रभावी हुने गरी रद्द गरेको ढाका ट्रिब्युनले जनाएको छ।

हसिनाले आफ्नो पदबाट राजिनामा दिएपछि बङ्गलादेशमा तरल राजनीतिक परिस्थिति उत्पन्न भएको छ । गत अगस्ट ५ मा बङ्गलादेशबाट सैनिक विमानबाट भारत आएकी हसिना हाल भारतमा बस्दै आउनुभएको छ । 

अगस्ट ८ मा नोबेल पुरस्कार विजेता अर्थशास्त्री युनुसले बङ्गलादेशको अन्तरिम सरकारको प्रमुखको रूपमा शपथ लिनुभएको थियो भने सरकारमा अन्य १७ सदस्यले ढाकामा आयोजित एक समारोहबीच शपथ लिएका थिए । रासस, एएनआई