• १६ भदौ २०८१, आइतबार

महको बजार खोज्न ध्यानाकर्षण

blog

चितवन समाचारदाता

चितवन, भदौ १५ गते  । महले बजार नपाएपछि चितवनका जनप्रतिनिधिले कृषिमन्त्रीलाई भेटेर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छन् ।

स्थानीय उत्पादनले बजार नपाउने तर भारतबाट आएको महले बजारमा प्रभाव पारेको भन्दै कालिका नगरपालिका प्रमुखसहित किसानले मन्त्रीलाई भेटेर समस्या समाधान गर्न दबाब दिएका हुन् । 

कृषि तथा पशुपन्छी विकासकमन्त्री रामनाथ अधिकारीलाई भेटेर कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले जिल्लामा उत्पादित महलाई नेपालमा बिव्रmी गर्ने वातावरण सिर्जना र निर्यातको व्यवस्था गर्न अनुरोध गर्नुभएको हो । 

“कालिकामा आवश्यक पर्नेभन्दा धेरै मह उत्पादन भइरहेको छ,  निर्यातको राम्रो ठाउँ खोजिदिन अनुरोध गरेका छौँ,” उहाँले भन्नुभयो “किसानले मेहनत र लगानी गरेर उत्पादन गरेको महले बजार पाउन नसक्दा सोचेभन्दा उत्पादन बढाउन सकेका छैनन् ।”

उत्पादित महले बजार नपाउँदा किसान निराश हुँदै गएको भन्दै नेपालमा उत्पादित महको बजार बढाउनका लागि भारतबाट आउने मह रोक्नुपर्ने बताउनुभयो ।  

चितवनको कालिका नगरपालिकासहित जिल्लामा मह उत्पादन राम्रो भइरहेकाले अब उत्पादनभन्दा पनि बजारीकरणको चिन्ता बढ्दै गएको उहाँले बताउनुभयो । 

भेटपछि मन्त्री अधिकारीले किसानको समस्यालाई उचित रूपमा सम्बोधन गर्ने बताउनुभएको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो ।