• ८ पुस २०८१, सोमबार

काठमाडौँ नगरको तेस्रो स्थानीय निर्वाचन

blog

काठमाडौँ, वैशाख २६ गते । बदर मतको सङ्ख्या कम गर्न मतदाता सचेत हुनुपर्छ । मतदान कसरी गर्ने ? स्वस्तिक चिह्नको छाप कहाँ लगाउने ? आदि बारेमा जानकार नभएकै कारण मत बदर हुने गर्दछ । 

२०७४ सालमा भएको स्थानीय निर्वाचनमा उपत्यकाभित्र ४९ हजार ३६० मत बदर भएको थियो । त्यो निर्वाचनमा कुल खसेको मतको १२ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ । उपत्यकाभित्रकै कुरा गर्दा २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा सबैभन्दा बढी २९ हजार ९४१ मत (१५.२ प्रतिशत) बदर भएको थियो भने दक्षिणकाली नगरपालिकामा सबैभन्दा कम ९४२ मत बदर भएको थियो । २०१४ सालमा सम्पन्न काठमाडौँ नगरपालिकाको निर्वाचनमा ९९ वटा मत बदर भएका थिए ।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न पहिलो स्थानीय निर्वाचनदेखि हालसम्मको मतदान प्रतिशतमा सुधार त भएको छ तर मतदानप्रतिको उदासीनताका कारण उपयुक्त व्यक्तिले विजय प्राप्त गर्लान् भन्ने सोचाइ राखिएको पाइँदैन । २०१० सालमा सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौँमा ५३ प्रतिशत मत खसेको थियो । २०१४ सालमा खस्किएर ५०.१८ प्रतिशतमा झरेको थियो । २०७४ सालमा काठमाडौँ महानगरपालिकामा ७०.६ प्रतिशत मतदान भएको थियो भने दक्षिणकाली नगरपालिकामा ८४.९ प्रतिशत मत खसेको थियो ।

२०१४ सालमा संसद्को निर्वाचनको प्रसङ्ग निकै 

उठ्यो । राजनीतिक दलहरूले यसका लागि निकै जोडबलले माग गरिरहेका थिए । दबाबपछि तत्कालीन राजा महेन्द्र शाहले २०१४ साल पुस १ गते जनताका नाममा सन्देश दिँदै २०१५ साल फागुन ७ गते चुनाव प्रारम्भ गर्ने घोषणा गर्नुभयो । पहिले चुनाव मात्र भनिए पनि पछि त्यसलाई संसद्का लागि आम चुनाव भनियो । त्यसै क्रममा काठमाडौँ नगरपालिकाको पनि निर्वाचन हुने भयो । २०१० सालमा निर्वाचित काठमाडौँका प्रमुख जनकमान श्रेष्ठलाई सरकारले हटाइसकेको थियो ।

२०१४ साल पुस २० गते काठमाडौँ नगरपालिका निर्वाचन अफिसले चुनावको तालिका सार्वजनिक गरेको थियो । तालिकासम्बन्धी विवरण यस्तो थियो :

काठमाडौँ नगरपालिकाको दोस्रो साधारण चुनाव आगामी माघ ७ गतेका दिन हुने बारेमा सूचना अघि बराबर प्रकाश गरेको सबैमा विदितै छ । सो हुँदा सो चुनावको कार्यक्रम विधानअनुसार निम्न लिखित प्रकाशित गरिएको छ । चुनावमा सबै जनताले पूर्ण सहयोग दिनुभै प्रजातन्त्रलाई फलाउने फुलाउने गर्नु हुनेछ भन्ने अनुरोध गरिएको छ ।

निर्वाचन मिति : माघ ७ गते सोमबार

उम्मेदवारको दरखास्त लिने म्याद : पुस २२–२४

उम्मेदवारको दरखास्त जाँच्ने : पुस २५–२७

उम्मेदवारको दरखास्त फिर्ता लिने : पुस २८–२९

उम्मेदवारलाई इजाजत दिने : माघ १

निर्वाचन मिति : माघ ७

मतदान गिन्ती गर्ने दिन ; माघ ८ गतेदेखि सुरु

विजयीहरूको नाम प्रकाश गर्ने : माघ १२ गते शनिबार ।

केही दिनपछि काठमाडौँ नगरपालिका चुनाव अफिसले बुथ रहने स्थानका बारेमा जनाउ दिएको थियो । उम्मेदवारहरूको अन्तिम नामावली पनि सार्वजनिक गरियो । जम्मा ६५ जना उम्मेदवारको दरखास्त परेकोमा तीन जनाको रित नपुगेकाले अस्वीकृत भयो । बाँकी ६२ जना उम्मेदवारमध्ये १३ जनाले नाम फिर्ता लिए । त्यसबीचमा २०१४ साल माघ २ गते ललितपुर नगरपालिकामा पनि निर्वाचन सम्पन्न भई वडा सदस्य  निर्वाचित भएका थिए । 

वडाबाट एक जना सदस्य छनोट हुने र तीमध्येबाट नगरप्रमुखमा छनोट हुने प्रावधान थियो । ललितपुरको वडा नम्बर १ मा मुक्तिनाथ देवकोटा, वडा नम्बर २ मा रामबहादुर खत्री क्षेत्री, वडा नम्बर ३ मा सूर्यचन्द्रानन्द शर्मा, वडा नम्बर ४ मा चन्द्रकान्त राजोपाध्याय, वडा नम्बर ५ मा राजाराम कर्माचार्य, वडा नम्बर ६ मा पुष्पराज राजकर्णिकार, वडा नम्बर ७ मा रामबहादुर महर्जन, वडा नम्बर ८ मा सानुकाजी ज्यापु, वडा नम्बर ९ मा नरबहादुर कर्माचार्य र वडा नम्बर १० मा मोतीरत्न ज्यापु निर्वाचित हुनुभयो । फागुनमा ललितपुर नगरपालिकाको सभापतिमा नरबहादुर कर्माचार्य विजयी हुनुभयो ।

“हाम्रा प्रतिनिधिका अनुसार गत २०१० सालको नगरपालिकाको चुनावभन्दा यस पटकको चुनावमा चाख लिएर भोट खसाल्न आउने आइमाइको सङ्ख्या पनि धेरै नै देखिन्थ्यो ।”  

यता काठमाडौँ नगरपालिकाका लागि २०१४ साल माघ ८ गते निर्वाचन सम्पन्न भयो । त्यो बेला काठमाडौँमा १९ वडा कायम गरिएका थिए । ती वडाका लागि ४९ जनाको उम्मेदवारी परेको थियो । त्यो निर्वाचनका बारेमा गोरखापत्रले लेखेको थियो, “हाम्रा प्रतिनिधिका अनुसार गत २०१० सालको नगरपालिकाको चुनावभन्दा यस पटकको चुनावमा चाख लिएर भोट खसाल्न आउने आइमाइहरूको सङ्ख्या पनि धेरै नै देखिन्थ्यो ।”

काठमाडौँ नगरपालिकाको वडा नम्बर १ मा भन्सारका देवबहादुर श्रेष्ठ, वडा नम्बर २ मा ज्यावहालका महेश्वरमान सिंह, वडा नम्बर ३ मा ओमबहालका प्रयागराज सिंह, वडा नम्बर ४ मा टेबहालका सूर्यबहादुर पाली, वडा नम्बर ५ मा भीमसेनस्थानका पन्नामानसिंह मल्ल, वडा नम्बर ६ मा वटुफसिकेवका कृष्णमान श्रेष्ठ, वडा नम्बर ७ मा केलटोलका तारावरसिंह कंसाकार, वडा नम्बर ८ मा त्यौडका गोपालदास मानन्धर, वडा नम्बर ९ मा ठहिटीका माणिकलाल श्रेष्ठ र वडा नम्बर १० मा तौमुगलका गणेशमान श्रेष्ठ विजयी हुनुभयो ।

त्यस्तै वडा नम्बर ११ मा यटखाका विष्णुबहादुर श्रेष्ठ, वडा नम्बर १२ मा पकनाजोलका शिवप्रसाद भट्टराई, वडा नम्बर १३ मा ठमेलका राजमान श्रेष्ठ, वडा नम्बर १४ मा वालुवाटारका जयकृष्ण पन्थी, वडा नम्बर १५ मा हाँडीगाउँका तर्कराज शर्मा, वडा नम्बर १६ मा नक्सालका घनानाथ उपाध्याय, वडा नम्बर १७ मा बागबजारका वटुकचन्द्र गौतम र वडा नम्बर १८ मा डिल्लीबजारका मुकुन्दानाथ रिमाल सदस्य निर्वाचित हुनुभयो । त्यो निर्वाचनमा चुनाव अफिसरका रूपमा डा. भरतराज वैद्यलाई खटाइएको थियो ।

२००७ सालमा नगरपञ्चायत ऐन बनेको थियो । त्यो ऐनलाई २००९ सालको नगरपालिका ऐनले खारेज गरिदिएको थियो । नगरपालिका ऐनमा सरकारद्वारा समस्त नगरपालिकाको सङ्गठन, काम, कर्तव्य र अधिकारका बारेमा स्पष्ट उल्लेख गरिएको थियो । विशेष गरी सरसफाइ नै नगरपालिकाको जिम्मेवारी रहन्थ्यो ।

फागुनमा सदस्यहरूबीच निर्वाचन हुँदा वडा नम्बर ३ का सदस्य प्रयागराजसिंह काठमाडौँ नगरपालिकाको सभापतिमा चयन हुनुभयो । त्योबेला काठमाडौँ नगरपालिकाका सभापतिले काठमाडौँ मेजिस्टे«ट अफिसमा गई धर्म भाकी पद वहालीको पुर्जी लिनुपथ्र्याे ।

२०१४ साल चैत १७ गते वीरगञ्ज नगरपालिकाको निर्वाचन भई चैत २७ गते परिणाम आइहाल्यो । वडा नम्बर १ देखि १३ सम्म क्रमशः सदस्य निर्वाचित हुनुभयो, केशरप्रसाद मानन्धर, उत्तरबहादुर, रघुनाथ ठाकुर, दुर्गाप्रसाद राजभण्डारी, वनारसीलाल, चिरन्जीवीलाल मारवाडी, रघुवीरप्रसाद, डोेलेन्द्रबहादुर अमात्य, दामोदरप्रसाद, जनकमान सिंह, रामबहादुर लाखे, जोखुराम र घुदेलप्रसाद । वीरगञ्जमा त्यो बेला ७७ प्रतिशत मतदान भएको थियो । २०७४ सालको स्थानीय निर्वाचनमा वीगगञ्ज महानगरपालिकामा ७७.४५ प्रतिशत मात्र मतदान भएको थियो ।