• १६ भदौ २०८१, आइतबार

बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि सम्झौता

blog

काठमाडाैँ, भदाै १२ गते । सरकारले बेलायतसँग लैङ्गिक तथा मानव विकास अभिवृद्धिका लागि अनुदान सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा नेपाल र बेलायत सरकारबिच वर्षा र लैङ्गिक तथा मानव विकास अभिवृद्धि सम्बन्धी दुई वटा विषयमा अनुदान सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

सहमति पत्रमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र बेलायतको तर्फबाट बेलायती दूतावासका विकास निर्देशक तथा उपराजदूत पीपा बिर्डले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार वर्षा कार्यक्रमका लागि ३८.५ मिलियन अमेरिकी डलर नेपाली ६ अर्ब ५० करोडको रकम रहेको छ । दोस्रो लैङ्गिक तथा मानव विकास अभिवृद्धि गर्नेका लागि ३८.८ मिलियन अमेरिकी डलर (नेपाली रुपियाँ ६ अर्ब ५८ करोड) सहयोग गर्ने सम्झौता भएको छ । 

यी कार्यक्रमहरूले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित स्थानीय सरकार र समुदायको क्षमता अभिवृद्धि गर्नुका साथै कर्णाली, लुम्बिनी र मधेस प्रदेशमा मानव पुँजी निर्माण र आधारभूत सेवा प्रवाहमा सुधार ल्याउने उद्देश्य राखिएको छ ।