• १६ भदौ २०८१, आइतबार

धान नाचमा रमाउँदै लिम्बू समुदाय

blog

फुङ्लिङको तोक्मेडाँडास्थित फाल्गुनन्द चौकमा सामुहिक धान नाच प्रस्तुत गरिँदै। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, भदौ ११ गते। मङ्गलबार ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा लिम्बू समुदायले भव्य धान नाच (याःलाङ) आयोजना गरेका छन्। लाखेजात्राको अवसर पारेर धान कार्यक्रमको आयोजना गरी लिम्बू समुदायका मानिस धान नाचेर रमाएका हुन्।

ताप्लेजुङसहित पूर्वी क्षेत्रमा बसोबास गर्दै आएका लिम्बू (याक्थुङ) समुदायको आफ्नो मौलिक संस्कृतिमा धान नाच पर्दछ। लिम्बू समुदायले आफ्नो मौलिक संस्कृतिको प्रवद्र्धनसँगै जगेर्ना गर्ने उद्देश्यले धान नाच आयोजना गरेको जनाएका छन्। लिम्बूको जातीय संस्था किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले आयोजना गरेको धान नाच कार्यक्रममा किशोर र युवा अवस्थाका तरुनी–तन्नेरीदेखि प्रौढ हुँदै ज्येष्ठ उमेरसम्ममा मानिस धान नाचमा सहभागी भएका थिए।

लिम्बू जाति तथा पूर्बेली समुदायमा नै लोकप्रिय रहेको धान नाचमा लिम्बू मात्र नभई अन्य समुदायका नागरिकसमेत सहभागी भएका देखिन्थे। एकले अर्काको हात समाएर गोलाकार घेरा र लामवद्ध भएर सामूहिक रुपमा धान नाच्ने गरिन्छ। जुहारी वा दोहोरी शैलीमा लिम्बू भाषामा पाःलाम (गीत) गाउँदै धान नाचिन्छ।

विषेशगरी लिम्बू समुदायमा हुने विवाह संस्कार, सुख–दुःखका कार्यमा चेली–माइती र नाता सम्बन्ध नलाग्ने कुटुम्बबीच युवायुवतीदेखि जुनसुकै उमेरकाले धान नाच्ने गर्दछन्। यस्तै मेला, हाट र विभिन्न उत्सव तथा अवसरहरुमा धान नाच्ने प्रचलन रहिआएको छ। सोही अनुसार नेवार समुदायको लाखे पर्वको अवसरमा धान नाच आयोजना गरिएको किरात याक्थुङ चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङ्बोले बताउनुभयो।

मेन्याङ्बोले जातीय विविधता भएको देशमा एकले अर्को समुदायको संस्कृतिको सम्मान गर्न जान्नुपर्छ भन्ने सन्देश दिनलाई पनि विगतदेखि नै धान नाच प्रदर्शन गर्दै आएको बताउनुभयो। पछिल्लो समय नयाँ पुस्ताले मौलिक संस्कृति र परम्परालाई कम चासो दिँदा संस्कृति सङ्कटमा परिरेहेको पनि उहाँको भनाइ छ। यद्यपि, विभिन्न अवसर तथा उत्सवमा मौलिक संस्कृति प्रदर्शन गर्नाले संरक्षणमा पनि टेवा पुग्ने विश्वास कियाचुले राखेको छ।