• १६ भदौ २०८१, आइतबार

मध्यपहाडी लोकमार्ग अवरुद्ध

blog

मध्यपहाडी लोकमार्गमा झरेको पहिरो पन्छाउदै जेसिबी । तस्बिर : राजकुमार भट्टराई

राजकुमार भट्टराई
खोटाङ, भदौ ११ गते ।
पहिरो खस्दा खोटाङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेको नागी भन्ने ठाउँमा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्ड अवरुद्ध भएको हो ।

करिब ७५ मिटरमाथिदेखि झरेको पहिरोले सडकको ५० मिटर खण्ड पुरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

अहिले हलेसीतर्फबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको एउटा र हलेसी तुवाचुङ नगरपालिकाको एउटा जेसिबीले पहिरो पन्छाइरहेको छ ।

यस्तै, दिक्तेलतर्फबाट सडक विभागको एउटा जेसिबीले पहिरो पन्छाइरहेको प्रवक्ता गिरीले बताउनुभयो ।

सोमबार राती खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

तुवाचुङ जायजुम क्षेत्रमा पर्ने नागीमा पहिरो खसेपछि भोजपुर र दिक्तेलबाट काठमाडौँ र दिक्तेलबाट इटहरी, धरान, विराटनगर, काँकडभिट्टालगायतका ठाउँका लागि छुटेका सवारी साधन तथा जिल्ला बाहिरबाट भित्रिएका सवारी साधन बाटैमा रोकिएका छन् ।

सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । अलपत्र यात्रुलाई दृष्टिगत गर्दै पहिरोमाथि जेसिबीले गाडी हिँड्ने बाटो बनाएर सवारी साधनलाई वारपार गराउने र बाँकी पहिरो पन्छाउने तयारी गरिएको गिरीले बताउनुभयो ।