• १६ भदौ २०८१, आइतबार

राष्ट्रपति पौडेल पाल्पा आउनुहुने

blog

रथयात्रामा सहभागी र ऐतिहासिक भगवती मन्दिर । तस्बिर: रेखीराम राना

रेखीराम राना

तानसेन, भदौ १० गते । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक भगवती जात्रा अवलोकनका लागि तानसेन आउनुहुने भएको छ । राष्ट्रपति पौडेल कृष्णा जन्माष्टमीको भोलिपल्ट तानसेनमा निस्कने ऐतिहासिक भगवती जात्राको अवलोकनका लागि भदौ ११ गते मङ्गलबार तानसेनमा आउनुहुने कार्यक्रम तय भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । 

वि.स. १८७१-०७२ मा नेपाल–अङ्ग्रेज युद्धमा अङ्ग्रेज फौजलाई पराजित गरेपछि तत्कालीन कर्णेल उजिरसिंह थापाले भगवती जात्राको आरम्भ गर्नुभएको थियो । भगवतीको भाँकल गरेर युद्धमा विजयी भएपछि कर्णेल थापाले भगवतीको महिमा फैलाउन वि.स. १८७७ देखि भगवतीको रथ तानसेन बजारमा परिक्रमा गराउने प्रचलन बसाल्नुभएको थियो । सोही बेलादेखि निरन्तर रूपमा सञ्चालन भएको भगवती (रथयात्रा) जात्राको अवलोकनका लागि राष्ट्रपति पौडेल पाल्पा आउनुहुने कार्यक्रम तय भएको प्रजिअ काफ्लेले जानकारी दिनुभयो । 

उहाँले भगवतीदेवीको दर्शन, पूजा गर्नुका साथै रथ परिक्रमाको अवलोकन गर्नुहुने र अन्य भेटघाटमा सहभागी हुने कार्यक्रम तय भएको प्रशासनले जनाएको छ । भगवती जात्राको दिन लुम्बिनी प्रदेश सरकारले समेत जिल्लाभर सार्वजनिक बिदाको घोषणा गरेको छ । स्थानीय बासिन्दाले भने त्यति बेलाको युद्धमा नेपालका चार किल्लामध्ये पाल्पा र रुपन्देहीको सिमाना जित गढी किल्लामा मात्र कर्णेल उजिरसिंह थापाको नेपाली सेनाले अङ्ग्रेज सेनालाई हराएकाले यस दिनलाई राष्ट्रिय स्वभिमानको पर्वको रूपमा मनाउनुपर्ने बताउँदै आएका छन् ।