• २५ पुस २०८१, बिहिबार

दोरम्बा पहिरो : शव परीक्षण गरी परिवारलाई बुझाइयो

blog

शनिबार राती परेको अविरल बर्षाका कारण रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाँउपालिका–३ स्थित लेखर्कमा पहिरोमा परी वेपत्ता हुनेहरुको खोजी कार्य गर्दै स्थानीय, नेपाल प्रहरी र नेपाली सेनाहरु । तस्बिरः नेपाली सेना

मन्थली (रामेछाप), भदौ ९ गते । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा परी मृत्यु भएका छ जनाको शव घटनास्थमै परीक्षण गरी परिवारलाई बुझाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छभने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो ।

हराइरहेका अन्य चार जनाको खोजी भइरहेको सूचना अधिकारी न्यौपानेले जानकारी दिनुभयो । पहिरो एक किलोमिटर लामो भएकाले खोजतलासमा समस्या भइरहेको उहाँले बताउनुभयो ।

पहिरोमा परी शैलुङ–३ की ३० वर्षीया चण्डिका श्रेष्ठ, उहाँका १८ महिने छोरा आयुष, सोही वडाका क्रमशः ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीया सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको ज्यान गएको थियो ।

सो वडाको लेखर्कमा ग राति परेको अविरल वर्षाका कारण खसेको पहिरोले तीनवटा घर बगाएको र एउटा घर पुरिएको प्रहरीले जनाएको छ । पहिरोले वडा नं २ र ३ को सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ । रासस