• ८ मंसिर २०८१, शनिबार

मोदीको भ्रमण ‘ऐतिहासिक र प्रतीकात्मक’ : युक्रेनी राष्ट्रपति जेलेन्स्की

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भेटवार्ता गर्दै । तस्बिर : सिएनएन

किभ (युक्रेन), भदौ ७ गते । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग वार्ता गर्न किभ आइपुग्नु भएको छ । रुस र युक्रेनबीच युद्ध जारी रहँदा भारतको प्रधानमन्त्रीको यो भ्रमण भएको हो । 

राष्ट्रपति जेलेन्स्कीले मोदीको भ्रमणलाई ‘ऐतिहासिक र प्रतीकात्मक’ भनी प्रशंसा गर्दै साढे दुई वर्षको युद्धमा ‘हाम्रो सार्वभौमिकता र क्षेत्रीय अखण्डता’ लाई समर्थन गरेकोमा भारतलाई धन्यवाद दिनुभएको छ ।  

यसअघि प्रधानमन्त्री मोदी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न जाँदा युक्रेनले आलोचना गरेको थियो । 

रुससँगको वार्ता सकिएपछि भारतका विदेशमन्त्री एस जयशंकरले युद्ध अन्त्य गर्न भारत प्रतिबद्ध रहेको बताउनु भएको थियो । ‘‘हामी धेरै, धेरै उत्सुक छौं कि यो द्वन्द्व अन्त्य होस्’’, जयशंकरले पत्रकार सम्मेलनमा भन्नु भएको थियो । 

विश्वभरका देशहरूले मस्कोमाथि प्रतिबन्ध लगाएपछि भारतले रूसका लागि आर्थिक लाइफलाइनको रूपमा काम गरेको छ र रुसको कच्चा तेलको खरिदलाई बढाउँदै आर्थिक रूपमा अलग्गै राखेको छ।

व्यापार र उद्योग स्रोतहरूको तथ्यांकलाई उद्धृत गर्दै रोयटर्सका अनुसार भारतले गत महिना रूसी तेलको विश्वको सबैभन्दा ठूलो आयातकर्ताको रूपमा चीनलाई उछिनेको छ।

जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो 

यसैबीच, भारतीय प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भारत भ्रमणको निम्तो दिनुभएको छ ।

युक्रेनको राजधानी कीभमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्री एस जयशङ्करले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीको युक्रेन भ्रमण सन् १९९२ पछि पहिलो हो । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले युक्रेनी राष्ट्रपतिलाई भारत भ्रमणको निम्तो दिनुभएको छ । आफ्नो सुविधा अनुसार राष्ट्रपति जेलेन्स्कीले भारत भ्रमण गर्नुहुनेछ ।”

जयशङ्करले युक्रेनलाई भारतले दिएको मानवीय सहयोगबारे पनि चर्चा गर्नुभएको थियो । “विगतमा पनि भारतले युक्रेनलाई मानवीय सहयोग गरेको थियो । आजसम्म युक्रेनलाई भारतले स्वास्थ्यसँग सम्बन्धित विभिन्न १७ प्रकारका सहयोग गरिसकेको छ”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच शुक्रबार मारिन्स्कीमा द्विपक्षीय वार्ता भएको थियो । भेटमा भारतीय प्रधानमन्त्री मोदीसँग विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायत विशिष्ट व्यक्ति सहभागी हुनुहुन्थ्यो । 

प्रधानमन्त्री मोदीले कीभमा युक्रेनको राष्ट्रिय सङ्ग्रहालयमा पनि भ्रमण गर्नुभएको जनाइएको छ ।  सिएनएन/एएनआई