काठमाडौँ, भदौ ६ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन बिहीबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरातमा हुने तीन दिने आठौँ धर्म–धम्म सम्मेलनमा सहभागी हुन त्यस तर्फ प्रस्थान गर्नुभएको हो मन्त्री पाण्डेको सचिवालयले जनाएको छ ।
भारत फाउन्डेसनको पहल एवम् गुजरात विश्वविद्यालय, अमदाबादसँगको सहकार्यमा हुन लागेको धर्म–धम्म सम्मेलनमा हिन्दु र बौद्ध सभ्यताहरूबिच निकट रहेका विचारहरूमाथि विमर्श हुने जनाइएको छ । सो सम्मेलनमा भुटान, श्रीलङ्का र नेपाल लगायतका देशका मन्त्रीहरूको सहभागिता रहने छ ।
यसपटकको धर्म–धम्म सम्मेलनको नारा ‘धर्म र धम्ममा ब्रह्माण्ड विज्ञान’ रहेको छ । सम्मेलनले शताब्दीयौंदेखिको सांस्कृतिक र सभ्यताको अन्तरसम्बन्धले प्रदान गरेको धर्म–धम्मबिचको साझा विचारहरूलाई एकीकृत गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
सम्मेलनको उद्देश्य उदीयमान नयाँ विश्व व्यवस्थाको लागि दार्शनिक संरचना निर्माण गर्नका लागि धर्म–धम्म परम्पराका धार्मिक, राजनीतिक र विचारधारा नेताहरूलाई एकसाथ ल्याउने रहेको छ । उक्त सम्मेलनमा विदेशका शोधकर्ताहरूले आफ्ना शोधपत्रहरू प्रस्तुत गर्ने भएका छन् ।
आठौँ अन्तर्राष्ट्रिय धर्म–धम्म सम्मेलन २०२४ मा १८ देशका तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् ।