• १३ साउन २०८१, आइतबार

मतदाताबीच स्वतन्त्र उम्मेदवार

blog

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख २५ गते । सिन्धुपाल्चोकका १२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरू आकर्षक चुनावी मुद्दासहित घरदैलोमा व्यस्त छन् । उनीहरूको चुनावी मुद्दालाई मतदाताले मनसमेत पराएका छन् । तीन नगरपालिका र नौ गाउँपालिका रहेको सिन्धुपाल्चोकमा स्वतन्त्र उम्मेदवार मत माग्दै मतदातसमक्ष पुगिरहेका छन् । 

नेपाल–चीन सीमा क्षेत्र भोटेकोसी गाउँपालिकामा स्थानीय दीपेन्द्रकुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । उहाँको चुनावी नाराप्रति आकर्षित स्थानीय बासिन्दा ग्रामीण क्षेत्रको विकास हुनेमा विश्वस्त हुन थालेका छन् । सो गाउँपालिका–२ का वडाध्यक्षको जिम्मेवारी निर्वाह गर्दा जनतामाझ लोकप्रिय बनेका श्रेष्ठले पालिका अध्यक्षमा उम्मेदवारी दिएपछि भोटेकोसीवासी उत्साही भएका छन् ।

तातोपानी नाकालाई पूर्ण रूपमा खुलाउन पहल गर्ने, दीर्घरोगीलाई वार्षिक एक लाख रुपियाँ औषधोपचारमा सहयोग गर्ने, एम्बुलेन्स खरिद गरेर निःशुल्क सेवा दिने, पालिकाभित्र रहेका जलविद्युत् आयोजनामा जनतालाई सेयर उपलब्ध गराउने, भोटेकोसी गाउँपालिका बाढीपहिरो ग्रस्त क्षेत्र भएकाले बाढीपहिरो नियन्त्रण र रोकथामका साथै सुरक्षित आवास निर्माणमा लाग्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । यस्तै मालपोत, जन्म, विवाह दर्तालगायत घटना दर्ता सेवालाई निःशुल्क बनाउने, सुविधा सम्पन्न प्रशासनिक भवन निमार्ण गर्ने, पालिकाबाट दिने सेवा व्यवस्थित र सहज बनाउने, आधुनिक सूचना प्रविधिको समुचित प्रयोग गर्दै पालिकाबाट दिने सबै विकास निर्माण, आयव्यय विवरण पारदर्शी गर्नेलगायतका एजेन्डाले श्रेष्ठ जनतामाझ लोकप्रिय बन्नुभएको छ । 

यस्तै पाँचपोखरी गाउँपालिकाको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार माया गुरुङले भ्रष्टाचारमुक्त गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँ सगरमाथा आरोही महिलासमेत हुनुहुन्छ । उहाँ पाँचपोखरी गाउँपालिकालाई ‘अन्तर्राष्ट्रिय पर्यटकीय हब’ बनाउन उम्मेदवारी दिएको बताउनुहुन्छ । पाँचपोखरीमा रहेका हिमाललगयतका प्राकृतिक स्थल, मठमन्दिर, गुम्बाको संरक्षण र प्रवद्र्धन गर्दै स्थानीयवासीलाई स्वरोगार बनाउने र आयआर्जनका कार्यक्रमबाट पालिकावासीको जीवनस्तर उकास्ने योजना गुरुङले अघि सार्नुभएको छ । यसैगरी स्वतन्त्र रूपमा सुनकोसी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार हरेराम कार्की मतदातासँगको भेटघाटलाई तीव्रता दिनुभएको छ । गत पाँच वर्षमा जनप्रतिनिधिले सुनकोसी गाउँपालिकामा पालिकाको स्थायी केन्द्र तोक्न सकेन र प्रशासनिक भवन बनाउन पनि सकेन भन्दै उहाँले त्यसलाई पूरा गर्न आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।