• १६ भदौ २०८१, आइतबार

ह्वेलले ओकलेका पेकर्ड

blog

जोजाया मेयो समुद्रको सतह हेरिरहेका थिए । आफ्नो साथीले माछा मार्न पानीभित्र प्रयोग गर्ने उपकरणबाट निस्केको ग्यासका कारण उत्पन्न पानीको बुलबुल उनले देखे । त्यस दिन बिहान केप कोडको तटनजिक करिब ४५ किलो लोबस्टर माछा समातिसकेका माइकल पेकर्डले दोस्रो पटक डुब्की लगाएका थिए । 

तर एक्कासि बुलबुल देखिन छाड्यो । त्यसपछि समुद्रबाट विस्फोटक आवाज निकाल्दै पानी आकाशमा फैलियो । मेयोलाई आफूले देखिरहेको घटनामा विश्वास भइरहेको थिएन । के भइरहेको छ उनले भेउ पाउन सकेनन् । एउटा विशाल माछा उनको अगाडि प्रकट भयो र अगाडि बढ्यो । एक छिनलाई त उनले यो ‘ग्रेट ह्वाइट सार्क’ भएको ठाने । त्यसपछि मेयोले त्यसको विशाल पुच्छरले पानीलाई चिर्दै गरेको देखे तथा त्यसले आफ्नो टाउको जोरले हल्लाइरहेको देखेपछि माछालाई चिन्न बेर लगाएनन् । 

उनी भन्छन्, “त्यो त हम्पब्याक ह्वेल थियो ।” वासिङ्टन पोस्टसँगको कुरामा ४३ वर्षका मेयोले घटना संस्मरण गर्दै भने, “राहतको कुरा के थियो भने त्यो सार्क थिएन । सार्क भएको भए त पेकर्डको काम तमाम भइसक्थ्यो ।” 

केही समयपछि समुद्रको सतहमा फेरि सेतो पानीको भयङ्कर बुलबुल देखियो र पेकर्डबाहिर देखा परे । उनी डुङ्गामा आउने कोसिस गर्न थाले । मेयोले तेज गतिमा डुङ्गा पेकर्डको नजिक लगे । 

पेकर्डले जुन कुरा मेयोलाई भने त्यसमा विश्वास गर्न गाह्रो थियो । मेयोलाई उनले भने, “म त्यस ह्वेलभित्र थिएँ । म उसको मुखमा थिएँ । उसले मलाई खाने कोसिस गरेको थियो ।” ५६ वर्षका पेकर्डसँग भएको डरलाग्दो घटना म्यासाच्युसेट्सको प्रोभिन्सटाउनका कसैसँग पनि भएको थिएन र उनीहरूले यस्तो घटनाका बारेमा सुनेका पनि थिएनन् । 

मेयो भन्छन्, “हम्पब्याक ह्वेलले जानाजान मानिसलाई हानि पुर्‍याउँदैन ।” मेयोले किशोरावस्थादेखि नै ह्वेल निगरानी गर्ने डुङ्गामा काम गर्दै आएका छन् र उनका बुवासमेत ह्वेल वैज्ञानिक हुन् ।   

मेयोका अनुसार उनका बुवा र साथीहरूको के विश्वास छ भने ह्वेलले गल्तीले पेकर्डलाई निलेको हुनु पर्छ । 

पेकर्डलाई ह्वेलले पछाडिबाट हमला गरेर निलेको थियो । 

यस्तै खालको घटना सन् २०१९ मा दक्षिण अफ्रिकाको पोर्ट एलिजावेथको तटनजिक भएको थियो । त्यतिबेला ह्वेलको सामूहिक प्रवास बारेमा अनुसन्धान गरिरहेका एक संरक्षणवादीलाई ब्राइड ह्वेलले निलेको थियो । त्यस घटनाका प्रत्यक्षदर्शी विशेषज्ञहरू पनि भन्छन्, त्यो एक दुर्घटना थियो किनभने ह्वेल विशाल भए पनि सौम्य जीव हो ।” 

समुद्रमा डुब्की लगाउनु एक जोखिम कार्य हो र १८ वर्षको उमेरदेखि नै यस्तो कार्य गर्दा पेकर्ड पटक पटक मृत्युको मुखबाट फर्किएका छन् ।   

समुद्रमा मात्र होइन सन् २००१ मा पेकर्ड एक विमान दुर्घटनामा समेत बाँचेका थिए । कोस्टारिकामा भएको सो दुर्घटनामा उनलाई गम्भीर चोट लाग्यो तर ज्यान जोगियो ।  

यस पटक झनै अनौठो र भयङ्ंकर सङ्टकबाट उनी बचे । बिहान ५:३० बजे पेकर्ड र मेयो आफ्नो माछा मार्ने डुङ्गा चढेर समुद्रमा लोबस्टर मार्न गए । उनीहरूले १५ वर्षदेखिसँगै काम गर्दै लोबस्टरका अतिरिक्त ब्ल्युफिन टुना र म्याक्रलसमेत समात्ने गरेका थिए । बिहान पेकर्डको पहिलो डुब्की सन्तोषजनक भएन । जसका कारण उनले फेरि पनि डुब्की लगाउनुपर्ने भयो । 

लगभग ८ बजे पेकर्डले करिब ४५ फिट डुब्की लगाएर लगभग समुद्रको पिँधमै पुगे । मेयोले पेकर्डसँग भएको कुराकानीका आधारमा भने, “त्यसपछि उनलाई पछाडिबाट कुनै विशाल वस्तुले हानेको महसुस भएछ र तुरुन्तै सबैतिर अन्धकार भयो ।”

यस बारेमा पेकर्डले थप प्रस्ट्याए, “मैले आफ्नो वरिपरि मात्र कडा वस्तु महसुस गरेँ र मैले यति मात्र सोचेँ’ “के मलाई भर्खरै ह्वाइट सार्कले खाएको हो ? र त्यसपछि मैले विचार गरेँ होइन मलाई त कुनै दाँतले घोचेको महसुस भएको छैन । अनि मैले भनेँ हे भगवान् म त ह्वेलको मुखभित्र छु । यसको मुख त बन्द छ ।’”

ह्वेल पौडिहेको पेकर्डले महसुस गर्न सक्थे र उनले आफ्नो सास लिने ‘रेगुलेटर’ फेरि आफ्नो मुखमा लगाए ।   ह्वेलको मुखमा ३०–४० सेकेन्ड पेकर्ड आफ्नो खुट्टामा असह्य दबाब लिएर यताउता पछारिरहे । उनी ह्वेलको टाउको जोरले हल्लिरहेको महसुस गरिरहेका थिए । त्यसपछि एकाएक उज्यालो भयो । 

“म त फुत्त उसको मुखबाट फ्याँकिएँ, पानीमा पछारिएँ । त्यहाँ चारैतिर सेतो पानी थियो र म त पानीको सतहमा तैरिरहेको थिएँ । मैले उसको पुच्छर देखेँ र त्यो फेरि पानीभित्र पस्यो । मैले सोचेँ’ “हे भगवान्, म बाहिर निस्किएँ । म बाँचे,” पेकर्डले भनेका छन् । 

मेयोको सहयोगमा पेकर्ड पानीबाट माथि आए र डुङ्गा चढे, उनले आफ्नो डुब्की लगाउने पोसाक फुकाले । मेयोको भनाइमा त्यतिबेला पनि पेकर्ड शान्त थिए र आत्तिएका थिएनन् । मेयोले उनलाई त्यतिबेला यतिसम्म भने, “तिम्रो खुट्टा भाँचिए जस्तो लागेको थियो ।” ह्वेलले निकै तेज गतिमा पेकर्डलाई सतहमा लिएर आएका कारणले उनको मुटुको धमनीमा रगत जमेको हुन सक्ने शङ्का समेत उनीहरूले गरेछन् । समुद्रमा डुब्की लगाउँदा यस्तो तेज गति अस्वीकार्य छ । 

मेयोले डुङ्गाबाटै एम्बुलेन्स, उद्धार टोलीलाई खबर गरे तथा पेकर्डकी श्रीमतीलाई पनि जानकारी दिए । साथै तेज गतिमा डुङ्गा तटतिर लिएर आए । 

अस्पतालमा पेकर्डको घटना सुनेर सबै छक्क परे । सबैजनाको अनुहारमा प्रश्न भाव मात्र देखिन्थ्यो । पेकर्डले सबैजनालाई आफू ह्वेलको मुखमा फसेको बताए । अस्पतालका सबै चिकित्सक, नर्स र कर्मचारी उनलाई हेर्न आए । पेकर्डलाई घटना बारेमा सोध्नेको घुइँचो नै लाग्यो । यतिसम्मकी पेकर्डलाई भाग्यमानी ठानेर एक नर्सले उनको नजिक आएर एक नोटबुक दिँदै त्यसमा ‘लक्की लटरी नम्बर‘ लेखिदिन आग्रह गरिन् । 

चिकित्सा जाँचबाट थाहा भयो पेकर्डको कुनै पनि हड्डी भाँचिएको छैन तथा मुटुमा रगत जमेको कुनै चिह्नसमेत मिलेन । उनको खुट्टामा चोट र एउटा घुँडाको हड्डी खुस्किएको थियो । त्यसै दिन उपचार गरेर उनलाई चिकित्सकले घर फर्काइदिए । 

–युवामञ्च