• १६ भदौ २०८१, आइतबार

अठतिस नेपालीद्वारा नागरिकता परित्याग

blog

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ ५ गते । स्याङ्जामा आर्थिक वर्ष २०८०/८१ मा ३८ जना नेपाली नागरिकले नागरिकता परित्याग गरेका छन् । नागरिकता परित्याग गर्नेमा पुरुष र महिला दुवै छन् । नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १० जनाले अमेरिकी नागरिकता र १० जनाले अस्टे«लियन नागरिकता प्राप्त गरेका छन् । 

हङकङ छ, बेलायत चार, जर्मन तीन, न्युजिल्यान्ड र पोर्चुगल दुई/दुई तथा फिनल्यान्डको नागरिकता एक जनाले लिएका छन् । विसं २०६७ जेठ ३ देखि असार मसान्तसम्म ५१ जना पुरुष र २६ जना महिला गरी ७७ जनाले नेपाली नागरिकता परित्याग गरेका हुन् । 

डिभी, पिआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्यागेको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो । उहाँले विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने बताउनुभयो ।  

तेइस जनालाई अङ्गीकृत नेपाली नागरिकता 

आर्थिक वर्ष २०८०/८१ मा स्याङ्जामा २३ जनाले वैवाहिक अङ्गीकृत नेपाली नागरिकता लिएका छन् । अङ्गीकृत नेपाली नागरिकता लिनेमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट १५ र इलाका प्रशासन वालिङबाट आठ जना रहेका छन् । यसरी अङ्गीकृत नागरिकता लिनेमा भारतका २१ र फिलिपिन्सका दुई जना रहेको सहायक प्रजिअ दीपक पौडेलले बताउनुभयो । नेपाली युवासँग विवाह गर्ने विदेशी युवतीले वैवाहिक अङ्गीकृत नागरिकता लिएका हुन् । 

यसै गरी आव २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट ४२ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् । नेपालबाट विभिन्न कारणले विदेश गएका र लामो समय बसेर विदेशको नागरिकता पाएका र नेपालको परित्याग गरेकालाई यो नागरिकता प्रदान गरिएको हो । गैरआवासीय नेपाली नागरिकता लिनेले नेपालको राजनीतिक अधिकार र सरकारी जागिरको अवसरबाहेक सबै सेवा व्यापार, व्यवसाय, घरजग्गा खरिदलगायतका कारोबार गर्न पाउने सहायक प्रजिअ पौडेलले बताउनुभयो । 

नागरिकताभन्दा राहदानी लिने धेरै 

आर्थिक वर्ष २०८०/८१ मा नागरिकताभन्दा राहदानी लिनेको सङ्ख्या धेरै छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन वालिङबाट १४ हजार १३१ जनाले वंंशज, २५ जनाले वैवाहिक अङ्गीकृत र ४२ जनाले गैरआवासीय गरी १४ हजार २०६ जनाले नागरिकता लिएका छन् । यस्तै जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट सात हजार ३६८ जना र इलाका प्रशासन वालिङबाट सात हजार ८२५ जना गरी १५ हजार १९५ जनाले राहदानी लिएका छन् ।