• २३ पुस २०८१, मङ्गलबार

फर्निचर कारखानामा वनको छापा

blog

बर्दीबास –११ खयरमारामा अवैध रुपमा सञ्चालित फर्निचर कारखानबाट नियन्त्रणमा लिएको झ्यालका पल्ला । तस्विर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ९ गते । महोत्तरीको सुदूर उत्तरी क्षेत्रको विभिन्न स्थानमा अवैधरुपमा सञ्चालित फर्निचर उधोगमा छापामारी सबडिभिजन वन कार्यालयका पदाधिकारीले काठ तथा फर्निचर नियन्त्रणमा लिएका छन् । 

वन कर्मचारीले बर्दीबास –५ स्थित गढन्ता र वडा नं ११ खयरमारामा लुकिछिपी सञ्चालन गरेको २ वटा फर्निचर उद्याेगमा शनिवार छुट्टाछुट्टै टोलीले छापा मारेको थियो । 

गढन्ता सबडिभिजन वन कार्यालयले बर्दीबास –५ गढन्ताको चुरे क्षेत्रमा पर्ने गोठजस्तो देखिने घरमा छापा मार्दा त्यहाँ फर्निचर कारखाना देखेपछि वनकर्मीहरु चकित परेको बताएका छन् । गढन्ता सबडिभिन वन कार्यालयका फरेष्टर नारायण घिमिरेको कमाण्डमा खटी गएको सशस्त्र वन रक्षकसहितको टोलीले तलासी लिँदा फर्निचर बनाउन तयार पारिएका साँखुका १५ थान चिरान, एक थान काठ चिर्ने मेसिन र फर्निचर बनाउन प्रयोग हुने ५ थान ज्यावल नियन्त्रणमा लिएको पदाधिकारीहरुको भनाइ छ ।  

यसअघि माइस्थान सबडिभिजन वन कार्यालयका प्रमुख कृष्णकुमार पटेलको नेतृत्वमा सशस्त्र वन सुरक्षा शाखाका कमाण्डर अवतार लामासहितको संयुक्त गस्तीले बर्दीबास ११ खयरमारामा विना इजाजत सञ्चालित अर्को फर्निचर कारखानामा छापा मारेको थियो । 

करिब एक घण्टा लामो छापामारीका क्रममा सो फर्निचर उद्याेगबाट २६ थान झ्यालको पल्ला बरामद भएका थिए । बरामद सबै पल्ला साँखु जातको रहेको छ । बर्दीबासको सुदूर उत्तरवर्ती चुरे क्षेत्रमा केही अवाञ्छित समूहले काठ तथा फर्निचरको अवैधरुपमा कारोवार गर्दैआएको सूचनाको आधारमा दलबलसहित घटनास्थल पुगेको वनकर्मी टोलीले दुबै ठाउँमा छापा मारेको सबडिभिजन वन कार्यालयले जनाएको छ । 

काठ बरामद भए पनि ती फर्निचर कसले सञ्चालनमा ल्याएको हो अहिलेसम्म खुल्न सकेको छैन । छापामारीका क्रममा बरामद काठहरु बाँके मराहा तथा गढन्ता सबडिभिजन वन कार्यालयकोे जिम्मामा राखिएको छ । दुवै फर्निचर कारखानामाथि अनुसन्धान तथा सूचना सङ्कलन भइरहेको सबडिभिजन वन कार्यालयका पदाधिकारीले बताएका छन् ।